
बाजुरा—बाजुराको बडीमालिका नगरपालिकामा विपद् संवेदनशील सामाजिक सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । बिहीवार निड्स नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको आयोजना, युरोपियन युनियन र संयुक्त राष्ट्र संघको सहकार्य तथा बडीमालिका नगरपालिकाको समन्वयमा अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
विपदबाट बढी क्षति भोग्ने तथा विपद्मा आधारित कार्यक्रमको पहुँच बाहिर रहेकालाई सामाजिक सुरक्षामा जोडेर के कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा अभिमुखीकरण गरिएको हो । त्यस्तै, नगरपालिकामा विपद् संवेदनशील सामाजिक सुरक्षाको अवस्थाबारे जानकारी र थप प्रभावकारी बनाउन जनप्रतिनिधि र शाखा प्रमुखसँग छलफल गरिएको निड्स नेपाल जिल्ला फिल्ड अफिसर रामदेवि कटुवालले बताइन् । विपद् संवेदनशील सामाजिक सुरक्षामा विपद्बाट प्रभावित हुने सम्भावना बढी भएका व्यक्ति वा समुदायलाई लक्षित गरेर पूर्व तयारी तथा कार्यक्रम तयार गर्न यसले सहयोग पुग्ने उनले बताएकी छन् । त्यस्तै जोखिममा परेका नागरिकको संरक्षण, विपद् पूर्व तयारी, राहत र पुनःस्थापनामा सहज, समावेशी र न्यायपूर्ण विकास सुनिश्चित, आर्थिक सुरक्षाको व्यवस्था तथा मानव जीवन र सम्मानको रक्षा गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।
त्यस्तै, अभिमुखीकरण कार्यक्रममा बोल्दै बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख नन्दा कुमारी थापाले विपद् संवेदनशील सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमले विपद् पूर्व तयारी र व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने बताएकी छन् । यसले समुदाय स्तरमा नै विपद्को तयारीसँगै बढी प्रभावित व्यक्तिको पहिचान तथा पुनःस्थानापनामा सहज हुने भन्दै यस्ता कार्यक्रम पालिकाले पनि गर्नु पर्ने आवश्यकता रहेको नगर उपप्रमुख थापाले बताइन् ।
कार्यक्रममा बडीमालिका नगरपालिका विपद् फोकल पर्सन राम बहादुर खत्रीले प्रस्तुतीकरण गर्दै विपद् संवेदनशील सामाजिक सुरक्षाबारे जानकारी गराएका थिए ।
बडीमालिका नगरपालिकाकी नगर उपप्रमुख नन्दा कुमारी थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझी, वडा अध्यक्ष, शाखा प्रमुख, निड्स नेपाल जिल्ला फिल्ड अफिसर रामदेवि कटुवाल, कर्मचारी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रमको सञ्चालन नगरपालिकाका कर्मचारी कृष्ण खड्काले गरेका हुन् ।
