
बाजुरा– बाजुरा लगायत सुदुरपश्चिमका नागरिकको दसैं–तिहार पछिको दोस्रो ठूलो पर्वका रुपमा रहेको अनन्ते मेला हिजाे अर्थात आइतबारबाट सुरु भएको छ । सदरमुकाम मार्तडीको मालिका मन्दिर नजिकैको अनन्त्या गणामा लाग्ने उक्त मेलामा यहाँका स्थानीयहरुले रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने पोशाकसहित अनन्ते खेल्ने गरेका छन् ।
अनन्ते पर्वलाई सत्यको विजय भएको दिनको सम्झनामा मनाउने गरिन्छ । स्थानीय लोक सँस्कृति र जिल्लाको पहिचान स्वरुप मनाइने अनन्ते मेला जिल्लाका मार्तडी, मना,जुगाडा, आटीचौर, बुढीगंगा, लगायतका क्षेत्रमा ३ देखि ४ दिनसम्म धुमधामका साथ मनाइने गरिन्छ ।
अनन्ते मेलाको अवसरमा बडीमालिका नगरपालिकाले यहीँ भदौ २४ गते अर्थात मंगलवार सार्वजनिक बिदा दिएको छ । आइतवार एक सूचना जारी गर्दै स्थानीय सांस्कृतिक पर्व अनन्ते मेलाको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिइएको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझीले बताएका छन। साथै बडीमालिका नगरपालिका वडा नं ५ मनामा करिब दश बर्ष अगाडी देखी रोकिएको अनन्ते पर्व पुन यो बर्ष सुरुवात गरिएको जनाएकाे छ। परम्परागत संस्कृती जोगाउन एैतिहासिक अनन्ते पर्व आज देखी बर्षेनी संचालन गर्ने गरि सूरु गरिएको स्थानियले बताएका छन।
