
बाजुरा—बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको बाजागाजासहित भव्य बिदाइ गरिएको छ । करिब एक बर्ष जिल्लामा बसेका सिडिओ पाध्याको जिल्लाबासीले बाजागाजासहित बिदाइ गरेको हुन् ।
२०८१ असोज १३ गते प्रमुख जिल्ला अधिकारी पाध्याको गृह मन्त्रालयमा सरुवा भएको छ । सरुवा भएका पाध्याको जिल्लाका विभिन्न निकायका कर्मचारीसहित स्थानीयहरुले मंगलवार सदरमुकाम मार्तडी बजारमा फूलमालासहित बाजागाजा गरेर बिदाई गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी पाध्याले याँहा रहँदासम्म बाजुराबासीको अपार माया र सहयोग पाएको भन्दै आफूले कहिल्यै नभुल्ने बताए ।
करिब एक बर्ष बाजुरा बसेर सिडिओ पाध्याले जिल्लाको शान्ति सुरक्षा, विकास निर्माणका काममा पहल कदमी गर्दै सफल र महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै बाजुराबासीले धन्यवाद दिएका छन् । उनले वृद्धावस्थासम्म पनि विभिन्न कारणले नेपाली नागरिकता नपाएका करिब ६० जना बढीलाई नागरिकता प्रदान गरेका छन् । त्यस्तै जिल्लाका विभिन्न सरकारी कार्यालयका नियमित सेवा प्रवाहको अनुगमन, अलपत्र विकास आयोजनाहरुको ताकेता गर्दै तत्काल काम समेत सुरु गराएका थिए ।
त्यस्तै, बाजुरामा सिडिओका रुपमा जिल्ला प्रशासन कार्यालय पर्वतमा कार्यरत सहायक सिडिओ गणेश प्रसाद पौडेल सरुवा भएर आउने भएका छन ।
