
बाजुरा—माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेडवृद्वि परीक्षा आजदेखि सुरु भएको छ । । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षा साउन २९ अर्थात आजबाट भदौ ६ गतेसम्म सञ्चालन हुने छ ।
त्यस्तै, एसईई ग्रेडवृद्धि परीक्षामा बाजुराबाट ९ सय बढी विद्यार्थी सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार जिल्लाबाट ९ सय ८१ जना विद्यार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी भएका हुन् ।
२०८२ असार १३ गते सार्वजनिक भएको एसईईको नतिजाअनुसार ननग्रेडमा परेका एक हजार १ सय १८ मध्ये नियमित तर्फका ९ सय ८१ विद्यार्थी मौका परीक्षामा सहभागी छन् ।
त्यस्तै, गत बर्ष झै यस पटक पनि एसईईको मौका परीक्षा जिल्लाका कोल्टी, मार्तडी र बुढीगंगामा सञ्चालन भइरहेको जनाएको छ । जसमा मालिका मावि १, भानोदय मापि, २ र जनप्रकाश मावि २ गरी ५ ओटा परीक्षा केन्द्रबाट सञ्चालन भइरहेको छ ।
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बाजुराबाट ५१.७२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्लाभरका सामुदायिक र संस्थागत विद्यालयबाट सहभागी मध्ये एक हजार १ सय ९९ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।
