
टेक बहादुर बुढा/बाजुरा– बाजुराको सर्वाधिक विकट बिच्छ्यामा आएको बाढीले ठूलो मात्रामा भौतिक क्षति भएको छ । अविरल बर्षाले बुधवार हिमाली गाउँपालिका १ अन्तर्गत बिच्छ्या खोलामा आएको बाढीले भौतिक क्षति पुर्याएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बाढीले बिच्छ्यामा ७ घर र कुवाडीमा ११ घर गरी १८ वटा घर पूर्ण रुपमा क्षति भएका छन् । सो बाढीका कारण दुई दर्जन बढी घरसहित सरकारी संरचनाहरु उच्च जोखिममा रहेका छन् । बाढीले केही घर बगाएको छ भने केही पुरिएका छन् । तर मानविय क्षति भने भएको छैन् ।
अविरल बर्षापछि आएको बाढीका कारण वडा नम्बर १ बस्ने नरेन्द्र बहादुर बुढा, छन्चलाल थापा, धनसिंह थापा, सब्बले थापा, लालबहादुर थापा, सुजलाल थापा र गोतल थापाको घर पूर्ण रुपमा क्षति भएका छन् । उनीहरुका ढुङ्गा माटोले बनेका घर, पसल सहित खेतबारीमा पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवबहादुर चौधरीले बताए । उनका अनुसार उक्त खोलामा आएको बाढीका कारण सोही ठाउँका १७ वटा घर उच्च जोखिममा रहेका छन् ।
त्यस्तै बाढीबाट हिमाली गाउँपालिका १ को वडा कार्यालय भवन, बिच्छ्या मावि, बिच्छ्या स्वास्थ्य चौकी, झोलङ्गे पुल सहित विद्युत लाइन समेत उच्च जोखिममा रहेका छन् ।
त्यसै गरि सोही बिच्छ्या खोलामा आएको बाढीले वडा नम्बर ५ कुवाडीमा पनि करिब एक दर्जन घरहरु बगाएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी चौधरीका अनुसार वडा नम्बर ५ बस्ने नवराज बुढथापा, देवीलाल चदारा, बिरमल चदारा, अजय चदारा, अङ्गविर चदाराको घर बाढीले बगाएको छ । त्यस्तै बल बहादुर चदारा, मुगा लुहार, देविलाल बुढथापा, विरभान लुहार र डबल लुहारको घर पनि कुवाडी खोलामा आएको बाढीले बगाएर क्षति भएको उनले बताए ।
एकैदिनको बाढीले घरसहित खेतबारी बगाएपछि पीडितहरु घरबार विहिन भएका छन् भने तत्काल सरकारले उद्धार तथा राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । बिच्छ्यामा फोन सम्पर्क समेत नहुँदा पनि थप समस्या भएको स्थानीयहरुले बताएका छन् ।
यस बिषयमा बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले अकस्मात् आएको बाढीले बिच्छ्या र कुवाडीमा ठूलो भौतिक क्षति गरेको भन्दै दुःख व्यक्त गरे । उनले घटना दिउँसो भएको र समयमै सचेत गराएका कारण मानविय क्षति नभए पनि भौतिक क्षति भएको भन्दै अहिले पीडितहरुको उद्धार तथा राहत हिमाली गाउँपालिकाबाट भइरहेको बताए । सहज फोन सम्पर्क पनि नभएको र विकट भएकाले अहिले क्षतिको विवरण संकलन भइरहेको बताए । त्यस्तै क्षतिको एकिन विवरण आइसकेपछि जिल्ला प्रशासन, प्रदेश र संघ सरकारबाट राहतका लागि पहल गरिने प्रमुख जिल्ला अधिकारी पाध्याले बताए ।
