
हरेक वर्षको अगस्ट १२ तारिखमा मनाइने अन्तर्राष्ट्रिय युवा दिवस (International Youth Day) ले विश्वभरका युवाहरूको अधिकार, योगदान र सम्भावनालाई उजागर गर्ने अवसर प्रदान गर्छ। “Local Youth Actions for the SDGs and Beyond.” अर्थात् “दिगो विकास र सुनौलो भविष्यको सार, स्थानीय युवाको सहभागिता समृधीको आधार’’ भन्ने मूल नारासहित यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसले सबै पृष्ठभूमिका युवाहरू—विशेषगरी महिला, अपाङ्गता भएका व्यक्ति, दलित, आदिवासी, जनजाती, मुस्लिम, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, पिछडिएका तथा ग्रामीण क्षेत्रका युवाहरू—को आवाज सुनिश्चित गर्दै उनीहरूको विकासमा पहुँच कायम गर्न जोड दिएको छ।
नेपालजस्तो बहुजातीय, बहुभाषिक र भौगोलिक विविधता भएको देशमा युवाको जनसंख्या उल्लेखनीय छ। युवा शक्ति मात्र नभई परिवर्तनको मूल आधार हो। समाजमा व्याप्त गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा असमानता, जलवायु परिवर्तन तथा सामाजिक बहिष्करणजस्ता चुनौतीहरू समाधान गर्न युवाको सिर्जनशील सोच, नेतृत्व क्षमता र प्रविधिमा पहुँच महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
यस सन्दर्भमा, स्थानीय तहदेखि संघीय सरकारसम्म, युवामैत्री समावेसी नीतिहरू निर्माण, युवाको उद्यमशीलता प्रवर्द्धन, प्राविधिक तथा व्यावसायिक सीप विकास, पहुँचयुक्त स्वास्थ्य सेवा, मानसिक स्वास्थ्यमा सजगता, तथा निर्णय प्रक्रियामा युवाको समावेशी सक्रिय सहभागिता सुनिश्चित गर्नु आवश्यक छ।
युवा दिवसको अवसरमा, केवल उत्सव नभई युवा र विशेषतः फरक क्षमता भएका युवाको सामावेशी नेतृत्वलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्न जरुरी छ। यसका लागि जनप्रतिनिधि, शिक्षक, अभिभावक, नागरिक समाज र सबै सरोकारवालाबीच सहकार्य अपरिहार्य छ ।
समावेशी युवा सहभागिता नै समावेशी विकासको पूर्वशर्त हो। त्यसैले, अबको युग युवाको हो भन्ने नारालाई व्यवहारमा उतार्ने बेला आएको छ। युवा दिवसको सबैलाई शुभकामना !!!
