
गौरब विष्ट– बाम्का बजार ब्यवस्थापन समितिले बाम्का बजारमा भएकाे बिनासकारी आगलागीको पीडालाइ सम्झेर प्रत्यक महिनाकाे २३ गते शाेक दिवस मनाउने निर्णय गरिएकाे छ । समितिका अध्यक्ष रामचन्द्र गिरीद्वारा जारी सूचनामा उल्लेख गरिए अनुसार अबदेखि प्रत्येक महिनाको २३ गते बजारका सम्पूर्ण व्यापारिक गतिविधि एक दिनका लागि पूर्णरूपमा बन्द गरिने भएको छ। साे दिनलाई “शोक दिवस” को रूपमा मनाउने निर्णय समितिबाट पारित गरिएको समितिले जनाएको छ।
उनका अनुसार साे निर्णयको उद्देश्य पीडितप्रति सहानुभूति प्रकट गर्नुका साथै भविष्यमा यस्ता दुर्घटना दाेहाेरीनबाट जाेगाउन चेतना फैलाउनु पनि रहेकाे जनाएकाे छ । साथै, समितिले सो दिन बजारमा व्यापारिक प्रयोजनका लागि नआउन ग्राहक, आपूर्तिकर्ता र आम नागरिकमा विशेष आग्रहसमेत गरेको छ।
स्थानीय समाजमा यो निर्णयलाई सहानुभूतिको दृष्टिकोणले हेरिएको छ। व्यवसायीहरूबीच एकता, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना झल्काउने यस निर्णयले बाम्काको इतिहास र संवेदनालाई सम्मान दिने अपेक्षा समेत गरिएको छ।
