शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा किशोरी लक्षित रूपान्तरण तथा मानसिक स्वास्थ्य तालिम सम्पन्न

बाजुरामा किशोरी लक्षित रूपान्तरण तथा मानसिक स्वास्थ्य तालिम सम्पन्न

  • आइतवार, साउन २६, २०८२
बाजुरामा किशोरी लक्षित रूपान्तरण तथा मानसिक स्वास्थ्य तालिम सम्पन्न

बाजुरा २५ साउन– बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा किशोरीहरूलाई लक्षित गर्दै ११ दिने रूपान्तरण तथा मानसिक स्वास्थ्य तालिम सम्पन्न भएको छ। सेल्फ गल्र्स परियोजना अन्तर्गत आयोजित उक्त तालिममा १८ देखि २४ वर्ष उमेर समूहका किशोरी तथा युवतीहरूको सक्रिय सहभागिता रहेको थियो।

KOCIA, UNFPA, Good Neighbors Nepal को सहयोग तथा गिफ्ट नेपालको सहकार्यमा सञ्चालित तालिम वडिमालिका नगरपालिका र बुढीगंगा नगरपालिकामा लागू भइरहेको परियोजनाको गतिविधिमध्ये एक हो। तालिमको पहिलो तीन दिन मानसिक स्वास्थ्य सम्बन्धी र बाँकी आठ दिन रूपान्तरणसम्बन्धी विषयमा प्रशिक्षण दिइएको प्रशिक्षक पुष्प पोखरेल र बिन्जु बरालले जानकारी दिए।

प्रशिक्षक पोखरेलका अनुसार, किशोरावस्थामा हुने शारीरिक, मानसिक, बौद्धिक र सामाजिक परिवर्तनहरूलाई समयमै नबुझ्दा र अभिभावकको उचित साथ नपाउँदा किशोरकिशोरीहरू संवेदनशील र जोखिमपूर्ण अवस्थामा पर्न बाध्य हुने गरेका छन्। साथै, समाजमा प्रचलित गलत धारणा, परम्परा र सोचाइले उनीहरूको समग्र विकासमा बाधा पु¥याइरहेको पाइन्छ। यी चुनौतीलाई सम्बोधन गर्न नेपाल सरकारले किशोरकिशोरीको विकासका लागि तयार पारेको रूपान्तरण तालिम मोड्युलमा स्वास्थ्य, शिक्षा, सीप, आर्थिक सशक्तीकरण, नागरिक संलग्नता, यौन तथा प्रजनन अधिकार, लैङ्गिक समता र सामाजिक समावेशीकरण लगायतका महत्वपूर्ण विषयहरू समावेश गरिएका छन्।

गिफ्ट नेपालकी परियोजना अधिकृत पुष्पा गिरीका अनुसार, तालिमको उद्देश्य किशोरी तथा युवतीहरूलाई जीवनोपयोगी सीप, मानसिक स्वास्थ्यको ज्ञान, लैङ्गिक हिंसाबाट सुरक्षा र हानिकारक अभ्यासहरू विरुद्ध सशक्त बनाउनु हो। तालिममा सहभागी वडिमालिका नगरपालिकाकी रमा ऐडीले यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे खुलेर जानकारी पाएको र आत्मविश्वास बढेको अनुभव साझा गरिन्।

परियोजना अधिकृत रविना नगरकोटीले तालिम प्राप्त १८ जना रूपान्तरण सहजकर्ताहरूले आफ्ना समुदायमा ज्ञान फैलाउने, सकारात्मक परिवर्तन ल्याउने र सुरक्षित समाज निर्माणमा योगदान दिने विश्वास व्यक्त गरिन्। तालिममा दुवै पालिकाका लैङ्गिक फोकल पर्सनहरूको सक्रिय सहभागिता रहेको थियो।

समापन कार्यक्रममा गिफ्ट नेपालका परियोजना संयोजक अशोक विक्रम शाहले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्दै, स्थानीय पालिकाले किशोरीहरूको समग्र विकासका लागि गरिरहेको प्रयासबारे जानकारी प्रदान गर्ने अवसरका लागि कृतज्ञता व्यक्त गरे।

चर्चामा

सम्बन्धित समाचार