
बाजुरा– बाजुराको मुख्य व्यापारिक केन्द्र बाम्का बजारमा भएको आगलागी पीडितहरुका लागि राहत संकलन तथा वितरण एकद्धार बनाउन समिति गठन गरिएको छ । जुनसुकै व्यक्ति वा संस्थाबाट प्राप्त हुने राहतमा एकद्धार प्रणालीमार्फत वितरण गर्न समिति गठन भएको हो ।
बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँको संयोजकत्वमा वडा अध्यक्ष सहित ११ सदस्यीय समिति गठन गरिएको जनाएको छ । राहत वितरणको नाममा हुन सक्ने बेइमानी रोक्न तथा राहत वितरणलाई एकद्धार बनाउन समिति गठन भएको जनाइएको छ ।
उक्त समितिले आगलागी पीडितहरुको लागि कुनै पनि नाममा आउने राहतलाई एकद्धार प्रणालीबाट संकलन गरेर वितरण गर्न भएको छ ।
बाम्का बजारमा शुक्रवार दिउँसो करिब साढे ३ बजे नवदुर्गा होटलमा सिलिण्डर ग्याँस पड्किएर आगलागी भएको थियो । उक्त आगो करिब ३ घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
उक्त आगलागीबाट करिव ३५ वटा पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन् भने करोडाैँकाे क्षति भएको छ । आजबाट क्षतिको एकिन विवरण संकलन गर्ने कार्य भइरहेको छ ।
