
बाजुरा– बाजुराको बुढीगंगा नगरपालिकामा समृद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी सुरु भएको छ । नगरपालिकाको समृद्धिका लागि विभिन्न आधारहरु तयार गर्दै २० वर्षसम्मको कार्य योजना बनाउने गरी बहस सुरु भएको नगर प्रमुख रामबहादुर बानियाँले बताएका छन् ।
नगरपालिकाको आर्थिक वर्ष २०८१÷२०८२ को निती तथा कार्यक्रम अनुसार हाम्रो योग्यता, क्षमता र विज्ञान,हाम्रै नगरको विकासका लागि लागि नारा तय भएर उक्त कचहरी संचालन गरिएको हो। नगरपालिकाको आर्थिक,सामाजिक,राजनितिक, शिक्षा,स्वास्थ्य लगायतको सुधार गर्नका लागि पालिकामा रहेका वर्तमान जनप्रतिनिधी तथा पुर्व जनप्रतिनिधीहरु बीच बहस गरिने नगर प्रमुख बानियाँले जानकारी दिएका छन् ।
नगरपालिकाले शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन र पुर्वाधार, सुरक्षित विकासको आधारको लक्ष्य सहित विकास कचहरी संचालन गरिएको छ । समृद्धिका आधार तयार गर्नका लागि विषय क्षेत्रगत रुपमा पहिचान भएका सम्भावनालाई संस्थागत अभिलेखीकरण गर्ने,नगरपालिकाको विकास अवधारणा सार्वजनिक गर्ने, स्वच्छ मर्यादित राजनैतिक संस्कार विकासका लागि सामाजिक विकासका लागि मुख्य नेतृत्वलाई राजनैतिक रुपमा प्रतिवद्धता गराउने लगायतका उद्देश्य रहेका छन् ।
नगरपालिकाको शिक्षा,स्वास्थ्य,कृषि,सडक लगायतको अवस्थाको पनि विकास कचहरीमा जानकारी गराइएको छ ।
नगरपालिकाले आजबाट सुरु गरेको् समृद्धिको आधारका लागि बुढीगंगा विकास कचहरी बैशाख २९ गतेसम्म संचालन हुने भएको छ । विकास कचहरीबाट आएका सुझाव संकलन गरी अन्तिम दिन २० वर्षका लागि सात बुँदे घोषणा पत्र जारी गर्ने गरी कार्यक्रम संचालन गरिएको हो ।
नगर प्रमुख रामबहादुर बानियाँको अध्यक्षतमा संचालन भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पुर्व प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथी रहेका छन् । कार्यक्रममा पुर्व उद्योगमन्त्री कर्णबहादुर शाह, पुर्व प्रतिनिधी सभाका सदस्य लालबहादुर थापा,संविधान सभा सदस्य पेम्बा गुरुङ भोटे, सुदूरपश्चिम प्रदेश क का पुर्व प्रदेश सभा सदस्य बलदेव रेग्मी,जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकाया विशिष्ट अतिथी रहेका छन् ।
यस्तै विकास कचहरीमा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्का,त्रिवणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापा,बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा, प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्या अतिथी रहेका छन् ।
यस्तै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष लालबहादुर ओली,नेपाली काँग्रेस पुर्व पार्टी सभापति मनबहादुर रावल पनि विशिष्ट अतिथी रहेका छन् । नगर उप प्रमुख माया खड्क(कुँवर)ले स्वागत मन्तव्य गरेको कार्यक्रमको संचालन रोजगार सहायक टंक सिंहले गरेका थिए ।
नगरपालिकाको स्वास्थ्य शिक्षा सहितका विभिन्न कार्य पत्र पनि पस्तुत गरिएको छ । कार्य पत्रका आधारमा आएका सुझावहरुलाई बहस पछि निर्णायक बनाउने गरी समृद्धिको खाका तयार हुनेमा नगरपालिकाले विश्वास व्यक्त लिएको छ ।
