बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • आँखाको ज्योति फर्किएपछि हिमाली गाउँपालिकाका बुढापाकाकाे मुहारमा खुसी

आँखाको ज्योति फर्किएपछि हिमाली गाउँपालिकाका बुढापाकाकाे मुहारमा खुसी

  • सोमवार, चैत्र १७, २०८१
सेयर गर्नुहोस् :
आँखाको ज्योति फर्किएपछि हिमाली गाउँपालिकाका बुढापाकाकाे मुहारमा खुसी

बाजुरा– लामो समयपछि आफ्नो आँखाको ज्योति फर्किएपछि बाजुराको दुर्गम गाउँबस्तीका बुढापाका खुसी भएका छन्। मोतीविन्दुका कारण लामो समयदेखि आँखा नदेख्ने समस्या भोग्दै गरेका त्यहाँका बुढापाकाको अहिले गाउँमै आँखाको अपरेसन भएर ज्योति फर्किएपछि उनीहरू खुसी देखिएका हुन्। आर्थिक अवस्था कमजोर भएका कारण आफैँ उपचार गर्न नसक्दा उनीहरू लामो समयदेखि घरमै अन्धो अवस्थामा बस्न बाध्य भएका थिए।

यही अवस्थालाई ध्यानमा राख्दै हिमाली गाउँपालिकाको आयोजना नेपाल रेडक्रस सोसाइटी, सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोग र रुइत फाउन्डेसन काठमाडौँको आर्थिक सहयोगमा त्यहाँका दुर्गम गाउँबस्तीका स्थानीयलाई गाउँमै निःशुल्क आँखा चेकजाँच शिविर सञ्चालन गरिएको हिमाली गाउँपालिकाले जनाएको छ।

७० वर्षीय स्थानीय जयसुर भण्डारीले मोतीविन्दुका कारण आफूले आँखाको ज्योति गुमाएको बताउँदै गाउँमै आएको यो निःशुल्क आँखा शिविरमा आँखा देख्न थालेपछि आफू निकै खुसी भएको बताए। गत चैत १० देखि १३ गतेसम्म यहाँका प्रत्येक वडामा शिविर सञ्चालन गरेको थियो।

त्यसै शिविरमा अपरेसनका लागि छनोट भएका १०३ जनाको चैत १५ र १६ गते पालिकाको स्वास्थ्य चौकीमा अपरेसन गरिएको थियो। उनीहरूको गुमेको त्यो आँखाको ज्योति फर्किएपछि अहिले उनीहरू निकै खुसी भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए।

चर्चामा

सम्बन्धित समाचार