
बाजुरा—बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । सोमवार दिउँसो गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको हो ।
गाउँपालिकाको वडा नम्बर ३ जुकोटका स्थानीय रंगमान शाही, मेघराज शाही लगायत करिब २५ जनाको समूहले तालाबन्दी गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
उनीहरुले गाउँपालिकाको साप्पाटामा निर्माण हुन लागेको खाद्य भवनको ठेक्का प्रक्रिया समयमा कार्यान्वयन नगरेको भन्दै गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै तालाबन्दी गर्दै उनीहरुले गाउँपालिकाले योजनाहरुको ठेक्का प्रक्रियामा गाउँपालिका अध्यक्षले निर्माण व्यवसायीहरुबाट खुलेआम कमिसन लिने गरेको र कमिसन लिएका ठेकेदारलाई पटकपटक ठेक्का मिलेमत्तो पारी दिएको आरोप लगाएका छन् । त्यस्तै गाउँपालिकाले डिपीआर प्रक्रिया बिना प्रतिस्पर्धा अध्यक्षले सिधैं आफूखुसी निर्णय गरी प्रतिवर्ष ४० लाख लिने गरेको लगायतका आरोप उनीहरुले लगाएका छन् ।


