
धनगढी–कञ्चनपुरको भीमदत्त नगरपालिकाका काँग्रेस सभापति अच्युतराज कलौनीको पोस्टमार्टम रिपोर्टमा मुटुमा अक्लुजन भएको देखिएपछि भिसेरा र मुटु परीक्षणका लागि पठाइएको छ।
पोस्टमार्टम रिपोर्ट आएपछि भिसेरा र मुटु परीक्षणका लागि पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले बताए। भिसेरा परीक्षणका लागि नेपालगन्जस्थित प्रहरीको विधिविज्ञन प्रयोगशाला र मुटु परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको उनले बताए। मुटु र भिसेरा परीक्षणको रिपोर्ट आएपछि मृत्युको कारण थाहा हुने प्रहरीले बताएको छ।
पोस्टमार्टम रिपोर्टमा बाहिरी र भित्री चोट नदेखिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए। मुटुमा अक्लुजन देखिएको रिपोर्ट आएको प्रहरीले बताएको छ। मेडिकल भाषामा अक्लुजन भनेको हृदयघात हो।
