शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिन आयोगको निर्देशन

उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिन आयोगको निर्देशन

  • शुक्रबार, कार्तिक २, २०८१
उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिन आयोगको निर्देशन

निर्वाचन आयोगले आगामी मंसिर १६ गते हुने स्थानीय तहको प्रमुख वा उपप्रमुखको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । आयोगले गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाका प्रमुख वा उपप्रमुख र जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्ये बहाल रहेको पदमा पुरुष कार्यरत भए रिक्त पदको उपनिर्वाचनमा महिलालाई उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन

दिएको हो । आयोगले जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, वडाध्यक्ष १० तथा नगरपालिकाका मेयर १, उपमेयर १ र वडाध्यक्ष २१ गरी ४१ सिटका लागि उपनिर्वाचन गर्न लागेको छ । आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम यस्तो निर्देशन दिएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए । ‘कानुनमा यस्तो अवस्थाको प्रस्ट व्यवस्था छैन । जस कारण कानुनको भावनाबमोजिम उपनिर्वाचन हुने स्थानीय तहमा बहाल रहेको पदमा पुरुष भए रिक्त पदको उपनिर्वाचनमा महिलालाई उम्मेदवार बनाउन आयोगले निर्देशन दिएको हो,’ उनले भने ।

स्थानीय तह निर्वाचन ऐनले राजनीतिक दलले स्थानीय तहका प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिँदा दुईमध्ये एक पदमा महिलालाई उम्मेदवार बनाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । तर दुईमध्ये एक मात्रै पदमा उम्मेदवारी दिँदा त्यस्तो व्यवस्था अनिवार्य छैन । आयोगले कानुनको अस्पष्टता रहेको अवस्थामा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम यस्तो निर्देशन जारी गरेको आयोगका सूचना अधिकारी घिमिरेले बताए ।

साथै आयोगले उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ । स्थानीय तहको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय रहने गरी व्यवस्था गरेको छ । आयोगका अनुसार रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ । वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने निर्वाचन आयोगले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार