• होमपेज
  • समाज
  • बागमतीमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु

बागमतीमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु

  • शनिबार, अशोज १२, २०८१
बागमतीमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु

हेटौँडा— बागमती प्रदेशमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार पछिल्लो २४ घण्टामा बाढी पहिरोका कारण ६ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार पहिरोका कारण प्रदेशमा ५ जना र बाढीबाट एक जनाको मृत्यु भएको छ । बिहीबारदेखि भएको वर्षाका कारण खसेको पहिरो र बाढीका कारण प्रदेशको काभ्रे, सिन्धुली र सिन्धुपाल्चोकमा मानवीय क्षति भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार सिन्धुलीमा खोला तर्ने क्रममा बगाउँ एक जनाको मृत्यु भएको छ भने काभ्रेमा पहिरोले ३ जना र सिन्धुपाल्चोकमा २ जनाको मृत्यु भएको हो । बाढी पहिरोबाट काभ्रेमा १० जना बेपत्ता भएका छन् भने धादिङमा ३ र मकवानपुरमा एक जना गरी १४ जना बेपत्ता भएको उनले बताए ।

बाढी पहिरोका कारण प्रदेशमा १८ वटा भौतिक संरचनामा पूर्ण क्षति पुगेको भने एउटा आंशिक क्षति भएको उनले बताए । बाढी पहिरोले मकवानपुरमा एक र काभ्रेमा १७ वटा भौतिक संरचना पूर्ण र रसुवाको एक घर आंशिक क्षति पुगेको उनको भनाई छ । प्रदेशमा बाढी पहिरोले एक बस र एक मोटरसाइकलमा क्षति भएको उनले बताए ।

प्रदेशमा बाढी पहिरोको जोखिममा रहेका ४ स्थानान्तरण गरिएको छ भने १०७ परिवारलाई स्थानान्तरण गरिएको छ । बाढी पहिरोको जोखिममा रहेका चितवनका ३ घरका १०० परिवार र दोलखाका एक घरका ७ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए ।

प्रदेशमा काभ्रेका ४ र दोलखाका एक गरी ५ घर बाढी पहिरोको उच्च जोखिममा रहेको प्रहरी नायव उपरिक्षक बस्नेतले बताए । प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार प्रदेशमा बाढी पहिरोमा परेका र उच्च जोखिममा रहेको खोजी तथा उद्धारका लागि १२० जना प्रहरी परिचालन गरिएको छ ।

बाढी पहिरोको घटनामा परेका र जोखिम नियन्त्रणका लागि मकवानपुरमा १०, चितवनमा २०, धादिङमा १०, काभ्रेमा ५०, दोलखामा १०, सिन्धुलीमा १५ जना प्रहरी परिचालन गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार