नेकपा (एमाले) ले अछाम–१ बाट एकल सिफारिसमा परेका नेता भीम रावललाई टिकट नदिएपछि क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहले पदबाट राजीनामा दिएका छन्। अछामको निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय निर्वाचन कमिटी संयोजकसमेत रहेका शाहले उम्मेदवारी चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्।
अछाम जिल्ला कमिटीलाई उनले राजीनामा पत्र बुझाएका छन्। पार्टीका जिल्ला इन्चार्ज झपट बोहराको प्रमुख आतिथ्यमा अछाम क्षेत्र नम्बर १, क्षेत्रीय समन्वय कमिटीको भदौ १९ गते बसेको बैठकले सो क्षेत्रका लागि सर्वसम्मत रुपमा भीम रावलको नाम एकल सिफारिस गरेको उल्लेख गर्दै शाहले केन्द्रबाट उक्त सिफारिस विपरीत उम्मेदवार चयन गरेको कारण दर्साउँदै निर्वाचन कमिटी संयोजक नरहने गरी राजीनामा दिएको जनाए।
केन्द्रले अर्कैलाई टिकट दिएपछि नैतिकताका आधारमा पदमा बसिरहन नमिल्ने शाहले उल्लेख गरेका छन्। रावलको नाम काटेर एमालेले क्षेत्र नं १ मा सुदूरपश्चिमका पूर्व आर्थिक मामिलामन्त्री झपट बोहरालाई टिकट दिएको छ। त्यसले एमाले अछाममा असन्तुष्टि चुलिएको छ।