• होमपेज
  • बजार
  • १९ सरकारी संस्थान घाटामा, सरकारले पाउने लाभांश पनि घट्यो

१९ सरकारी संस्थान घाटामा, सरकारले पाउने लाभांश पनि घट्यो

  • आइतवार, जेष्ठ १५, २०७९
१९ सरकारी संस्थान घाटामा, सरकारले पाउने लाभांश पनि घट्यो

काठमाडौं — आर्थिक वर्ष २०७७/७८ मा सञ्चालनमा रहेका सार्वजनिक संस्थानहरूमध्ये १९ नोक्सानीमा गएका छन् । २२ वटा संस्थानले मात्रै नाफा कमाएको आर्थिक सर्वेक्षण २०७८/७९ ले देखाएको छ ।

सर्वेक्षणअनुसार नाफामा सञ्चालन भएका संस्थानहरूबाट आर्थिक वर्ष २०७७/७८ मा सरकारले ६ अर्ब ७२ करोड १४ लाख रुपैयाँ लाभांश पाएको छ । आर्थिक वर्ष २०७६/७७ को लाभांश १४ अर्ब ९ करोड ९५ लाख रुपैयाँको तुलनामा आर्थिक वर्ष २०७७/७८ मा लाभांश ५२.३३ प्रतिशतले घट्न गएको सर्वेक्षणमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७/७८ मा सार्वजनिक संस्थानको कुल सञ्चालन आय १.५१ प्रतिशतले बढेर ४ खर्ब ३५ अर्ब १७ करोड ३९ लाख पुगेको छ । आर्थिक वर्ष २०७७/७८ को कुल गार्हस्थ्य उत्पादन र कुल सञ्चालन आयको अनुपात १०.१७ प्रतिशत छ । आर्थिक वर्ष २०७७/७८ मा सार्वजनिक संस्थानबाट १४ अर्ब ८२ करोड ९ लाख रुपैयाँ आयकर संकलन भएको छ ।

आर्थिक वर्ष २०७७/७८ सम्म सार्वजनिक संस्थानमा २८ हजार २ जना कर्मचारी कार्यरत रहेका थिए । आर्थिक वर्ष २०७६/७७ मा यस्तो संख्या २८ हजार ३ सय ६४ थियो । आर्थिक वर्ष २०७७/७८ मा संस्थानहरुको एकीकृत खुद नाफा २६ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ छ । आर्थिक वर्ष २०७६/७७ मा यस्तो खुद नाफा ४८ अर्ब २९ करोड ८२ लाख रुपैयाँ थियो ।

२०७८ फागुनसम्म नेपाल सरकारको पूर्ण तथा अधिकांश स्वामित्व भएका सार्वजनिक संस्थानको संख्या ४४ छ । २०७८ असारसम्म सार्वजनिक संस्थानहरूमा नेपाल सरकारको सेयर लगानी ३ खर्ब १४ अर्ब ६५ करोड ७ लाख रुपैयाँ छ । सरकारले संस्थानमा २ खर्ब ५२ अर्ब ६३ करोड ७९ लाख रुपैयाँ ऋण लगानी पनि गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार