लक्ष्मीराज पाध्याय/ बाजुरा — बाजुरामा ३ बर्षमा ८ जना सुत्केरीको अकालमै मृत्यु भएको छ । समयमै उपचार नपाउदा बाजुराका महिलाले अकालमै ज्यान गुमाउनु परेको छ । २०७६ सालमा ५ जना, २०७७ सालमा १ जना र २०७८ मा २ जना सुत्केरीको मृत्यु भएको छ । स्वास्थ्य कार्यलय बाजुरासँग भने यसको पुरा तथ्याङ्क नरहेको पाईएको छ ।
२०७६ सालमा मृत्यु हुनेमा जगन्नाथ गाउपालिका ५ गोत्री बस्ने ३५ वर्षियका पुल्ती रावल, बडिमालिका नगरपालिका ७ जिल्लीकी बसन्ती नेपाली, बुढिनन्दा नगरपालिका १० पाण्डुसेनकी ३५ बर्षिय निर्मला बोहाराको भएको छ । त्यस्तै त्रिवेणी नगरपालिका १ छताराकी ३७ वर्षकी रेजीया नेपाली, बुढिगंगा नगरपालिका ७ झालि बस्ने २० बर्षकि कमला उखेडको मृत्यु भयो ।
२०७७ सालमा बुढिनन्दा नगरपालिका ४ कुरुमा २३ वर्षिया अम्बकला रोकायाकाको मृत्यु भएको थियो । सुत्केरी हुन नसकेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लैजादै गर्दा बाटोमा २३ वर्षिया अम्बकला रोकायाका मृत्यु भएको हो ।
२०७८ साल साउन महिनामा त्रिवेणी नगरपालिकाको किम्नीकी २० बर्षिय जौलादेवी बिक बच्चा पाएको १० दिन पछि अत्याधिक रक्तस्राबको कारणले मृत्यु भयो । दोस्रो सन्तान जन्माएकि जौलादेबी गाउँको स्वास्थ्य चौकीमा सुविधायुक्त स्वास्थ्य उपचार नहुदा र भौगोलिक बिटताले उनको ज्यान गएको हो । त्यस्तै गत कार्तिक महिनामा अत्याधिक रक्तस्राबले हिमाली गाउँपालिका ४ तिथिचौरमा बस्ने २१ बर्षिय गंगा चदाराको बच्चा जन्माएको केही समयमै रक्तस्राबका कारणले मृत्यु भएको थियो ।
घरमै बच्चा जन्माएकि गंगा बाट बच्चा पनि मृतक जन्मिएको हिमाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लले वताएकि छन् । गंगा बिहाना जंगल बाट घाँस काटेर आएकि थिईन् । घरमै पुग्ने बित्तिकै पेट दुख्न शुरु भयो केही समय पछि मरेको बच्चा जन्मेको श्रीमान विने चदाराले वताएका छन् ।
मृत्यु भएकि ८ जनी मध्ये सुत्केरी ६ जनाको स्वास्थ्य संस्थामै, एकजनाको घरमा र एक जनाको धनगढी लैजादै गर्दा बाटामो मृत्यु भएको थियो । २ जना महिलाको जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको थियो । बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेक बहादुर खड्काले भने तिन बर्षमा ८ जना सुत्केरीको मृत्यु हुनु भनेको हाम्रो चेतना स्तर कमजोर भएको वताए । गर्भवती भएपछि नियमित गर्भजाँचको कमि र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउदाको परिणाम रहेको खड्काले वताए । अर्को सुत्केरी भएको बेला आरम गर्नुपर्ने, पोषिलो खानेकुरा नखाने, कडा परिश्रमले सुत्केरी महिला ज्यान गुमाउने गरेको उनले वताए ।
हुनत सरकारले हवाइ उद्धार कार्यक्रम सञ्चालन गरेको छ, तर पनि सुत्केरी महिला मर्नेक्रम रोकिएको छैन । बाजुराका आमाहरुको प्रजनन स्वास्थ्य निकै बेजोग रहेको छ । कडा परिश्रम, धेरै बच्चा जन्माउनु, कम उमेरमा बच्चा जन्माउन, स्वास्थ्य सेवा पहुँच बाट बिमुख जस्ता समस्याले आमाहरुको ज्यान निकै जोखिम बन्दै गएको छ ।
सबैभन्दा गरिब बस्ने जिल्लाको परिचय पाएको बाजुरा जिल्ला हो । जिल्लामा बजेट पनि आउँछ । तर, सदुपयोग हुँदैन । मानव विकास प्रतिवेदन २०१५ तथा राष्ट्रिय जनगणना २०६८ अनुसार ६४.१ प्रतिशत बाजुराको जनसंख्या गरिबीको रेखामुनी देखाएको छ । गरिब घर परिवार पहिचान बोर्डले २०७२ मा निकालेको प्रतिबेदनमा ७१.१ प्रतिशत गरिबि रहेको सार्वजनिक गरेको थियो । दुबैले निकाले प्रतिबेदनमा सबै भन्दा गरिब जिल्लाको रुपमा बाजुरा परिचित रहेको छ । अझ त महिलाहरुको अबस्था निकै बेजोग रहेको छ ।
नेपालीको औषत आयू ६९.२ छ । तर, बाजुराका बासिन्दाको आयू ५९ दशमलव ५ छ । १४ प्रतिशत जनसंख्या ४० वर्षभन्दा बढी नबाँच्ने बाजुराका आमाहरुको अवस्था झनै दर्दनाक अबस्था रहेको छ । जिल्लाको गरिबिकै कारणले अधिकांश बजुरेलीको आयु कम र अस्वस्थ हुने गरेको बुढिगंगा नगरपालिका स्वास्थ्य संयोजक दिपक शाहले वताएका छन् ।