• होमपेज
  • समाचार
  • एक युवकलाई अपहरण गरी बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ

एक युवकलाई अपहरण गरी बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ

  • शनिबार, साउन ९, २०७८
एक युवकलाई अपहरण गरी बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ

अपहरण तथा शरीर बन्धकको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट तीन जनालाई पक्राउ गरेको छ ।

इटहरी–४ का २२ वर्षीय निर्मल श्रेष्ठलाई अपहरण गरेर बन्धक बनाउँदै निर्घात कुटपिट गरेको आरोप इटहरी उपमहानगरपालिका–७ का २५ वर्षीय सङ्गीत थापा, १९ वर्षीय अनिष कार्की र इटहरी–८ का २३ वर्षीय सिद्धार्थ राई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जय सिंह थापाका अनुसार इटहरीबाट अपहरणपछि इटहरी–८ फूलबारी टोलमा पुर्याएर आँखामा पट्टी बाँध्दै श्रेष्ठमाथि कुटपिट गर्दै गरेको अवस्थामा तीनै जनालाई पक्राउ गरिएको हो ।

‘घटनास्थलमा प्रहरी टोली पुग्दा तीन जना मिलेर कुटपिट गरिरहेको पाइयो,’उनले भने, ‘त्यसपछि उनीहरुलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको छ।’ तीन जनाले गत बिहीबार दिउँसो १ बजेतिर इटहरी–९ बाट श्रेष्ठलाई नियन्त्रणमा लिएर अपहरण गरी सिटी सफारीमा राखेर फूलबारी टोलमा पुर्याएका थिए। रातभर सङ्गीत थापाको कोठामा बन्धक बनाएर राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपीको थापाको भनाइ छ ।

उनका अनुसार भोलिपल्ट अर्थात शुक्रबार बिहान थापाको कोठाबाट हिँडाउँदै केही पर लगेर कुटपिट गरेको पाइएको प्रहरीले बताएको भनाई छ ।

‘अपहरणपछि बन्धक बनाएर कुटपिट गरिरहेको अवस्थामा घटनामा संलग्न तीन जनालाई पक्राउ गरियो,’ थापाले भने,‘प्रहरीले पीडितको उद्धार पनि गरेको छ ।’ प्रहरीका अनुसार घटनाको कारण खुल्न बाँकी छ । पक्राउ परेका तीनै जनाविरुद्ध परेको अपहरण तथा शरीर बन्धक सम्बन्धी जाहेरीका आधारमा मुद्धा चलाउने तयारी प्रहरीले गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार