बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रिय सभाको उपचुनाव : मतपेटिकाभित्र पीसीआर रिपोर्ट खसालियो

राष्ट्रिय सभाको उपचुनाव : मतपेटिकाभित्र पीसीआर रिपोर्ट खसालियो

  • मङ्लबार, जेष्ठ १८, २०७८
राष्ट्रिय सभाको उपचुनाव : मतपेटिकाभित्र पीसीआर रिपोर्ट खसालियो

सोमबार लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाको एक सदस्यको लागि उपचुनाव हुँदै थियो । प्रदेशका मतदाता र स्थानीय तहबाट भोट हाल्न आउने मतदाताको छुट्टाछुट्टै बाकस थियो ।

निर्धारित समय सकिँदा मतपेटिकामा २ सय ९७ जनाले मतदान गरेकोमा मतपरिणाम आउँदा केवल २९६ जनाको मात्रै आएपछि एकैछिन मतगणनामा सहभागीहरु नै अचम्ममा परे । तर पछि बुझ्दै जाँदा एक जना मतदाताले मतपत्रको ठाउँमा आफ्नो पीसीआर परीक्षण रिपोर्ट खसालेर गएको भेटिएपछि त्यो विवाद त्यहीँ सल्टिएर मतपरिणाम घोषणा गरिएको थियो ।

निर्वाचन अधिकारीका अनुसार पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको कागज मतपेटिकामा भेटिएको छ । सो कागज स्थानीय तहका प्रतिनिधिले भोट खसाल्ने बाकसमा भेटिएको हो ।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले कुल २९७ जनाले मतदान गरेकोमा एउटा मतपत्रबाहेकको ‘अन्य’ कागज भेटिएको जानकारी दिए । ‘हामीले कुल सदर मतलाई मात्रै मान्यता दिने भएकाले मतपरिणाम २९६ जनाको मात्रै आयो, एउटा मतपत्र कहाँ गयो भनेर खोजी गर्दै जाँदा एउटा अन्य पत्र भेटिएको हो,’ कुँवरले बताए  ।

सोमबार भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । निर्वाचनमा पाण्डेयले चार हजार एक सय ४० मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका चन्द्रबहादुर खड्काले तीन हजार ६ सय १२ मत ल्याएका थिए ।

चर्चामा

सम्बन्धित समाचार