
बझाङ प्रहरीले भरूवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–४ स्थित टिका सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, एउटा जंगली मरेको कालिज र एक थान हँसियासहित ४३ वर्षीय गणेश खवास र ५० वर्षीय निमु खवासलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहातियार सहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


