• होमपेज
  • विचार/ब्लग
  • के साँच्चै राजा आउँछ त ?

के साँच्चै राजा आउँछ त ?

  • सोमवार, बैशाख १५, २०८२
के साँच्चै राजा आउँछ त ?

जनताको बलिदानीपूर्ण सङ्घर्षबाट गणतन्त्र आएको १७ वर्ष पुग्दैछ । गणतन्त्रले टिन एज पार गरिसकेको छैन । नेपालको संविधानले संङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको उल्लेख गरेपछि राजकीय शक्ति र सार्वभौमसत्ताको वास्तविक प्रयोगको अभ्यासमा हामी छौँ । तीनै तहका ७६१ सरकारमा जनताका प्रतिनिधिहरुले शासन, विकास र सेवाप्रवाहको नेतृत्व र सहकार्य गरिरहेका छन् । विविध सकारात्मक उपलब्धी हासिल भए तापनि मुलुकमा विकासको लाभ सबैलाई समान हुन नसक्नु तथा केही वर्ग अझै सीमान्तिकरणको सिकार हुनु पर्दा असन्तुष्टी पनि देखिएको छ । यहि पृष्ठभूमिमा राजसंस्थाको पुनरागमनको आन्दोलन भयो । र, यो व्यवस्था गलत भएको भन्ने भाष्य निर्माण गर्न खोजियो । यो सन्दर्भमा केही समसामयिक सवाल र यथार्थहरु केलाउने कोशिस गरौँ ।

राजा किन चाहिएको छ?

(हल्ला र यथार्थता)
• “हाम्रो राजालाई मोदिले त नमस्कार गर्छ ।”-  यो रैती प्रवृत्ति हो । शक्तिपुजा हो । राजाले नमस्कार खाँदैमा जनताका समस्या समाधान हुँदैनन् ।
• “गणतन्त्रमा छोटे राजा धेरै भए”- यो सत्य होइन । जनता मालिक हुने व्यवस्थामा मालिकको ध्यान भड्काउने र चोरी गर्ने अल्छी जुक्ति मात्र हो । खास त शासनमा जनताको सहभागिता बढेको हो । राम्रालाई छान्ने विकल्प र अवसर दुवै छ । आफूलाई प्रमाणित गरेर आफैले असल नेतृत्व दिने मौका पनि छ ।
• “युवाहरु विदेशिए” – विश्वव्यापीकरणको युग हो । छनोटको स्वतन्त्रता छ । केही विदेशिए, केही विदेशी पनि भित्रिए । अवसरको खोजी गर्न कसैले रोक्न सक्दैन । सबै कुरा, सबैतिर पाउँन सम्भव छैन, जस्तो सगरमाथा हामीसँग मात्रै छ र समुन्द्र हामीसँग छदै छैन । तर केही सुधारयोग्य विषय पनि छन् । कानूनी र व्यावहारिक समानता महसुस गर्न पाउनु पर्छ । नेता-जनता, धनी- गरिब, जात, धर्म, वर्ग, लिङ्ग नभनेर सबैलाई राज्यको समान संरक्षण प्राप्त हुनुपर्छ ।
• “संघीयताले खर्च बढ्यो” – खर्चमात्रै होइन, आय पनि बढेको हो । आयको वितरण र पुनवितरण हुँदा खर्च बढेजस्तो लागेको मात्रै हो । यसको फाइदा जनताले नै प्राप्त गरेका छन् । सडक बन्यो, स्वास्थ्य बन्यो, स्कुल बन्यो । घरदैलोमै सेवा प्राप्त हुने भयो ।
• “सार्वजनिक ऋण बढ्यो”- मुस्किलले १० खर्व राजश्व उठ्छ । जनताको घरदैलोमा सेवा पुगेको छ । ठूला परियोजनाहरु कार्यान्वयन भइरहेका छन् । अपाङ्ग, अशक्त, महिला, वृद्ध, अल्पसङ्ख्यक, लोपोन्मुख र विपन्नलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था छ । सानो मुलुकले कोरोना, भुकम्पजस्ता विपद् र अन्य विभिन्न संकटको सामना पनि गर्नुपरेको छ । ऋण त बढ्छ नै । तर, हाम्रो कूल ग्राहस्थ उत्पादनको आकार पनि बढिरहेकोले ऋण बढ्नु खासै चिन्ताजनक छैन । GDP को ६० प्रतिशतसम्मको ऋण पनि सामान्य नै मानिन्छ । हाम्रोमा ४२ प्रतिशतको हाराहारीमा छ ।
• “विकास भएन”- विकासको लाभ सबैले नपाएका मात्र हुन् । हिजो १०० मा २० जनाले पाउँथे । अहिले १०० मा २० जना बञ्चित छन् । तर राजनीतिले सबैले पाउने गरी नीति र कार्यक्रमको तर्जुमा, कार्यान्वयनमा तदारुकता देखाउनु पर्छ ।
• “भ्रष्ट्राचार बढ्यो”- तथ्याङ्कमा भ्रष्ट्राचार मात्रै बढेको होइन, यो सँगै पारदर्शिता र सूचनामा जनताको पहुँच पनि बढेको हो । लोकतान्त्रिक संस्थाहरुको सबलीकरण भइरहेको हो । सरकार प्रशासनदेखि उपभोक्तासम्म जनताकै उपस्थिति भएकोले जनताले चाहे रोकिन्छ । आफूले भ्रष्ट्राचार गर्दै नगर्ने । र, भ्रष्ट्राचारीलाई सामाजिक बहिष्कार गर्न र कानूनको दायरामा ल्याउन सबै तयार रहनु पर्छ ।
उपर्युक्त तमाम तथ्यलाई हेर्दा जुन कारणले व्यवस्था परिवर्तन हुनुपर्छ भन्दैछन् । त्यो नै यथार्थ होइन, भ्रमपूर्ण छ ।
असन्तुष्टी बढेको त छ नि?
केही पक्ष कहिल्यै पनि सन्तुष्ट थिएनन् । केही पक्ष अहिले असन्तुष्ट छन् ।
समाजको विकासको क्रममा समाजको प्राथमिकतामा पनि परिवर्तन आयो । मूल्य मान्यतामा परिवर्तन आयो । बाह्य प्रभाव र देखासिकी पनि बढ्यो । जसले गर्दा धेरैले खेतिपाति, पशुपालनजस्ता पेशा छाडे र एकै पटक सारा जनशक्ति श्रम बजारमा आउँदा सानो अर्थतन्त्रमा ठूलो रोजगारी सिर्जना गर्न नसकिएको हो । केही स्रोतको वितरणमा असमानता र विभेदको विषय पनि छ । र, अस्थिर राजनीति पनि अर्को कारण हो । तर, सुधारेर जान सकिन्छ । पछाडि फर्किने छुट छैन । १७, १८ वर्ष अपेक्षित बितेन भन्दैमा २४० वर्षको रिक्तता र तिक्तताप्रतिको मोह किन?
राजा क-कसलाई चाहिएको छ त?
• अल्छिलाईः
ट्वाइलेटदेखि भान्सासम्म हातमा मोबाइल बोकेका छन्, कर्म गरेका छैनन्, देशमा केही छैन भन्दै देशलाई धिक्कार्दै हिडेका छन् । समग्रमा भन्दा मुहारको धुलो जमेको, आँखामा जाली लागेको थाहा नपाई ऐना पुछ्दैछन् । हो, ती अल्छीहरु नकारात्मकताको पराकाष्ठामा पुगे । दिउँसै रात देख्न थाले । बिजुलीको उज्यालो हेर्न सकेनन् । तिनीहरुले मैनबत्ती खोजे ।
• ईर्स्यालुलाईः
अरुले चन्द्र नै चुमे पनि त्यतातर्फ ध्यान छैन, चासो र प्रतिस्पर्धा छैन । तर गरिब छिमेकीको घरमा मासु पाकेको, एउटा इमान्दार र मेहनतीले सहयोगीको जागिर पाएको, आफूसँगै लेकवेशी गर्ने उकाली ‌ओराली गर्ने पल्लाघरे वडासदस्य बनेको, दलितले प्रश्न गरेको, महिला र अल्पसंङ्ख्यकले प्रतिनिधित्व गरेको पटक्कै चित्त बुझेको छैन । हो, तिनलाई राजा चाहिएको छ ।
• दुर्गा प्रवृत्तिलाईः
अति गर्यो, अचाक्ली गर्यो । पापको घडो फुट्न लाग्यो । माओवादी, एमाले भएर पूर्वराजाको विरोध पनि गर्यो । ठगको जमात बनाएर भाषण दिँदै हिड्यो, साहु महाजन र ऋण दिने बैङ्क तथा वित्तीय संस्थामा आगो लगाउन, ऋण उठाउन आउनेलाई भाटा हान्न सार्वजनिक अपिल गर्दै हिड्यो । मुलुकलाई बरु भारतमै मिलाए सहज र जीवनयापन सस्तो हुने अभिव्यक्ति सम्म दियो । यति गर्दा पनि ऋण मिनाहाको शक्ति आर्जन नभएपछि बल्ल राजा चाहियो ।

• यो व्यवस्थामा शक्तिको अभ्यास गर्न नपाएकाहरुलाईः
नवराज सुवेदीजस्ता पूर्वपञ्च, कमल थापाजस्ता बहिष्कृत नेता, अग्रगामी व्यवस्थामा राप्रपाजस्तो एजेष्डाविहिन दल र ईतिहासको कुनै रक्तपिपासु प्रवृत्तिलाई त्यो व्यवस्था चाहिएको छ । जो यो व्यवस्थामा कमजोर छन् या यो लोकतान्त्रिक व्यवस्थामा शक्ति आर्जन हुनेमा सशंकित छन् ।
स्वत्व, स्वामित्व र स्वतन्त्रताको युगमा शक्तिको दासत्व किन खोजियो ?
• लगाएको लुगाले जाडो भयो भनेर च्यात्न खोजेको मात्रै हो । नाङ्गिँदाको जाडोको पूर्वानुमान कसैले गरेको छैन । अथवा आफ्ना दुःखभन्दा बाउबाजेका दुःख सजिला थिए कि भन्ने लागेको मात्र हो । उहिले जीवनकै दुख थियो, अहिले मनको दुख हो भनेर बुझ्दैनौँ । हामी आइक्यु लेवलमा १९९ औँ नम्बरमा यसै कहाँ पर्छौँ त? (व्यवस्थालाई मजबुत बनाउनु पर्छ ।)
लोकतन्त्र र गणतन्त्र किन फलिफाप भएन ?
• चाँदि दिँदा सुन, सुन दिँदा सुगन्ध खोजिएको हो । उपलब्धीको अवमूल्यन गर्यौँ । आफैले ल्याएको उन्नत व्यवस्थाप्रति अविश्वास गर्यौँ । केही होइन र छैन भन्ने मन्त्र जप्यौँ । खिचातानी र स्वार्थको लडाईँमा विभाजित भएर होस्टेमा हैँसे मिलायौँ । आफूले पाउँदा चुप बस्यौँ । प्रणाली र पद्धति बन्नै दिएनौँ । त्यसैले अपेक्षाकृत हुन सकेन ।
• तर हुँदै नभएको भने होइन । भएको हो र भइरहेको पनि छ । विश्वव्यापी प्रतिस्पर्धामा सापेक्षिक हिसाबले अगाडि जान नसकेका मात्र हौँ । हाम्रो मौलिक परिस्थिति, भौगोलिक अवस्था, विदेशी शक्तिको प्रभाव, शासनमा जनताको साथ र सहकार्यले पनि हुने/नहुने कुराको निर्धारण गर्दछन् ।
दोष कसको?
• केवल व्यक्तिगत स्वार्थको सन्दर्भमा व्यवस्थाको मूल्याङ्कन गर्ने जनता, शक्ति, धन र प्रतिष्ठाको लालचमा सत्यलाई नभई भीडलाई पछ्याउने नेता दुवैको दोष हो।
• जनताले मताधिकार र नेताले मतको दुरुपयोग गरे ।
राजतन्त्र तमाम समस्या समाधानको विकल्प हो त?
• हुनै सक्दैन । यो त अर्को समस्या हो । राजाको प्रत्यक्ष शासन हुन्छ भने राजाबाटै संविधान र कानूनको उल्लङ्घन हुन्छ । टाउको बिग्रियो भने तलसम्म निरङ्कुशता र भ्रष्ट्राचार नफैलिने कुरै भएन । सेवाप्रवाहलाई अहिलेकै जत्तिको सहज र विस्तारित बनाउँदै जाने हो भने पनि जनशक्ति र संस्थागत संरचना चाहिन्छ । जस कारण सार्वजनिक खर्च पनि घट्दैन । शासनमा निश्चित वर्ग र व्यक्तिको बोलबाला रहन्छ । अधिकाँश जनता सीमान्तिकरणको सिकार बन्न पुग्छन् । केही गरी राजा व्यवसायी भन्दा विकासप्रेमी बने भने पनि अहिलेका प्रधानमन्त्रीले ढुङ्गा बोक्दैनन् । अहिले सरकारलाई गाली गर्नेहरुले नै बोक्नुपर्छ । राजाले कोर्रा लाएपछि मात्रै ढुङ्गा बोक्छु भनेर मुर्ख हठ गर्नुभन्दा अहिले नै बोकौँ । देश बनाऔँ ।
• यदि संवैधानिक राजाको माग हो भने अहिलेका राष्ट्रपति र संवैधानिक राजामा के नै फरक हुन्छ । एउटा व्यक्तिलाई संवैधानिक राजा बनाउन जनतामा निहित सार्वभौसत्ताको त्याग किन गर्ने, बलिदानी किन दिने? राप्रपाले राजालाई नै राष्ट्रपति बनाउने मुद्दा बोकेर चुनावमा जाओस् । अनि भीडको भोट पुग्यो भने राष्ट्रप्रमुख हुन कसले रोक्छ र? चित्त नबुझे अर्को चुनावमा अर्कोलाई राष्ट्रप्रमुख छान्न पाउने अधिकार पनि जनतासँग सुरक्षित हुन्छ ।
• यसर्थ, राजतन्त्र वाक्क दिक्क प्याक्क भएर फालेको व्यवस्था हो । ईतिहासमा जति काला कर्तुतले कलुषित छ, त्यो फेरी दोरिरिनु हुँदैन । जनताले यसै हजारौँको बलिदान दिएका नहोलान् । तत्कालीन राजाका शासन शैली र जनताको असन्तुष्टी, सङ्घर्ष एवं आन्दोलनका श्रृङ्खलालाई नियाल्नुपर्छ । त्यो सेन्टिमेन्टलाई पनि बुझ्नुपर्छ ।
राजा आएपछि के हुन्छ?
पशुपतिनाथले कल्याण गर्छन्-
(न राजासँग जादुको छडी छ, न त कुनै एजेण्डा नै । यस्तो अवस्थामा सरकार/राजसंस्था बढी प्रतिरक्षात्मक र नियन्त्रणमुखी बन्छ । सरकारका संयन्त्रहरु, नेता र कर्मचारीहरु शक्तिसम्पन्न हुन्छन् । सर्वसाधारण जनताहरु हेरेको हेर्यै ।)

राजा आउँदा राजा ल्याउने भीडलाई फाइदा होला ?
सम्पन्न र बौद्धिक जि-हजुरियाहरुलाई फाइदा हुन्छ । भीडलाई भारी थमाइन्छ । तर, भ्या पनि गर्न पाइन्न । भेडीगोठमा मसाने शान्ति छाउँछ ।
फाइदा कसलाई छ त ?
फाइदा कसैलाई छैन । तर, बुझ्न समय लाग्छ । बुझेपछि हिम्मत जुटाउन समय लाग्छ । अनि हिम्मत जुट्दै जाँदा २, ४ पुस्ताको बलिदानीमा बल्ल बग्छ, सिंहासन ।

साँच्चै राजा आउँछ त?
हुकुम र आदेशको समय सकिएको, बेइमानी गरेर अरुको मुख थुन्न नसकेको, निमुखाले खाएको देखि नसहेको, गाउँमा हली पाउन छोडेकोप्रति असन्तुष्टिको प्रस्तुती मात्र हो । राजा आउँदैनन् ।
विकास त हुन्छ नि?
सबैको योगदान जरुरी छ ।
विस्तारै विस्तारै भइहाल्छ नि भाई! किन हतार गरेको? यो देशले स्वतन्त्रता र समृद्धिको उचाई चुम्ने त निश्चित छ ।

चर्चामा

सम्बन्धित समाचार