बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • समाज
  • गर्भवती र सुत्केरीको घरमा निलो झण्डा

गर्भवती र सुत्केरीको घरमा निलो झण्डा

  • मङ्लबार, चैत्र ६, २०८०
गर्भवती र सुत्केरीको घरमा निलो झण्डा

सिन्धुपाल्चोक– बलेफी गाउँपालिका-२ भित्रका गर्भवती र २ वर्षसम्मका सुत्केरीको घरमा निलो झण्डा राख्ने कामको सुरु भएको छ।

पोषण तथा खाद्य सुरक्षा नेपाल र बलेफी गाउँपालिकाको सहकार्यमा वडाका ४५ घरधुरीमा निलो झण्डा राखिएको हो। उक्त झण्डामा गर्भवती, ६ महिनासम्मका स्तनपान गर्ने बच्चा, ६ महिनादेखि २ वर्षसम्मका बालबालिकाहरू देखिने लोगो छ। पोषणमैत्री स्थानीय शासन प्रवर्द्धनका लागि सुनौला हजार दिनका आमाका घरपहिचान तथा सचेतना कार्यक्रम अन्तर्गत झण्डा राख्ने कामको सुरुवात गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

गर्भवती र २ वर्षसम्मका सुत्केरी सुनौला हजार दिनका आमा हुन्। गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार समुदायमा सरकारी तथा गैरसरकारी संस्थाहरूले पोषण तथा स्वास्थ्य सम्बन्धि कार्यक्रम सञ्चालन गर्दा सुनौला हजार दिने आमा र बच्चालाई प्राथमिकतामा परुन् भन्ने उद्देश्यका साथ घर पहिचान कार्य सुरु गरिएको वडा नम्बर २ स्थित धन्सार आधारभूत स्वास्थ्यचौकी इन्चार्ज सुभद्रा नेपालले जानकारी दिइन्।

यसबाट पोषण, स्वास्थ्य तथा अन्य सेवाका लागि स्वास्थ्यकर्मी, स्वास्थ्य कार्यक्रमका सामाजिक परिचालकलाई सुनौला हजार दिने आमाको घर पहिचान गर्न सजिलो हुने तथा आमा र बच्चालाई पनि सहयोग पुग्ने उनको भनाइ छ। उनले झण्डाले घर चिनाउने र घरको छानामा झण्डा राखेपछि आमा मात्र नभई घरपरिवारका अन्य सदस्यहरू पनि सचेत र सजक हुनुपर्ने बताइन्।

‘स्वास्थ्यकर्मी पुग्दा पनि निलो झण्डाले महिलाको घर पहिचान गर्न सजिलो हनेछ। यो अभियानले घरमा सुत्केरी गराउनेको संख्या घट्ने अनुमान गरेका छौँ’, नेपालले भनिन्– ‘शिशु र आमाको मृत्युदर घटाउने उद्देश्यले यो अभियान सञ्चालन गरेका हौं।’ उनका अनुसार यस अभियानअन्तर्गत गर्भावस्थामा नियमित स्वास्थ्य जाँच गर्ने, आवश्यक सुई लगाइने, पोषिलो खाना तथा अन्य विषयमा जनचेतना दिनेलगायत कार्यक्रम सञ्चालन गरिने छ।

गाउँपालिकाले सबै वडामा यो अभियान सुरु गर्ने जनाएको छ। जनस्वास्थ्य निरीक्षक चेतन घिमिरेले गर्भवतीको घर सहजै पहिचान होस् भनेर निलो झण्डा राख्ने अभियानको सुरुवात गरेको बताए। ‘गर्भवती सुत्केरी नहुञ्जेलसम्म गर्भजाँचका साथै उनीहरूलाई आवश्यक अन्य सेवा प्रवाहमा सहजता, लक्षित वर्ग पहिचानका लागि यो अभियान सञ्चालन गरिएको हो’, उनले भने। वडा नम्बर १ देखि ८ सम्म पालिकाको मातहतका सबै स्वास्थ्य चौकीअन्तर्गत रहेका गर्भवतीको घरमा निलो भण्डा राखिने उनले बताए।

चर्चामा

सम्बन्धित समाचार