शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाचार
  • जलवायु परिवर्तनसम्बन्धी छलफलमा सहभागी नगराएकोमा श्रमिक संगठन आक्रोशित

जलवायु परिवर्तनसम्बन्धी छलफलमा सहभागी नगराएकोमा श्रमिक संगठन आक्रोशित

  • शनिबार, मंसिर ९, २०८०
जलवायु परिवर्तनसम्बन्धी छलफलमा सहभागी नगराएकोमा श्रमिक संगठन आक्रोशित

काठमाडौँ—श्रमिक संघ तथा संगठनहरुले जलवायु परिवर्तनसम्बन्धी छलफलमा सहभागी नगराएको उल्लेख गर्दै सरकारप्रति असन्तुष्टि जनाएका छन् ।

नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन काँग्रेस (एनटियुसी), एमाले निकट नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)लगायतका सरोकारवाला संघ, संगठनहरुले जलवायु परिवर्तनका लागि श्रमिकहरु सबैभन्दा धेरै मारमा पर्दा पनि उनीहरूको समस्या समाधानका निम्ति छलफलमा समेत सहभागी नगराइएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

शनिबार ललितपुरमा आयोजित सरोकारवालाहरूसँगको छलफलमा बोल्दै सत्तारुढ काँग्रेस निकट एनटियुसीका अध्यक्ष योगेन्द्रकुमार कुँवरले जलवायु परिवर्तनले ल्याउने विपद् न्यूनीकरणका लागि श्रमिकहरूको एजेण्डा अघि बढाउनका लागि सरकारसँग घनिभूत छलफल गर्नुपर्ने बताए । उनले जलवायु परिवर्तनको मारमा परेका श्रमिकहरूको एजेण्डालाई अघि बढाउनुपर्नेमा सरकार एक्लै हिँड्न खोजेको भन्दै आक्रोश व्यक्त गरे ।

एमाले निकट जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले सरकारले आफूहरुलाई जलवायु परिवर्तन सम्बन्धी छलफलमा सहभागी समेत नगराइएको भन्दै आपत्ति जनाए । उनले जलवायु परिवर्तनको अवसर न्यूनीकरणका लागि जनताको घरदैलोमा चेतना फैल्याउने काम पनि श्रमिक संघ, संगठनहरुले नै गर्नुपर्ने अवस्था आएको बताए ।

यता, नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)का अध्यक्ष जगतबहादुर सिंखडाले जलवायु परिवर्तनबारे श्रमिकहरूको एजेण्डा जलवायु परिवर्तन सम्बन्धी राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा स्थापित गराउनका लागि सरकारसँग छलफल गर्नुपर्ने बताए ।

उनले सरकार श्रमिक र रोजगारदाताबिच घनिभूत छलफल भएर मात्रै जलवायु परिवर्तनले श्रमिकहरूमा आएको समस्या समाधान गरेर अघि बढ्न सकिने पनि बताए । अध्यक्ष सिंखडाले विपद्ले सबैलाई समस्यामा पार्ने भएकाले मिलेर ती समस्या समाधानका लागि अघि बढ्नुपर्ने पनि बताए ।

चर्चामा

सम्बन्धित समाचार