म्याग्दी — कोरला नाका सोमबारदेखि व्यावसायिक रूपमा खुला भएको छ । मुस्ताङको उपल्लो भेगमा अवस्थित नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ रहेको फराकिलो पठार कोरला नाका सोमबारदेखि व्यावसायिक रूपमा खुला भएको हो ।
समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाकाको चीनको सिगात्से प्रान्तको झोम्वा काउन्टीका मेजेस्ट्री नुर्वु छिरिङ र मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उद्घाटन गरेका छन् । नाका उद्घाटनको औपचारिक कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) झोम्बा काउन्टीका सेक्रेटरीसमेत सुरक्षा अधिकारी तथा नेपालतर्फबाट भने लोमन्थाङ र लोघेकरदामोदर कुण्ड गाउँपालिका अध्यक्ष, सुरक्षा अधिकारी सहभागी थिए ।
कोरोला नाका व्यावसायिक रूपमा खुल्ला भएसँगै तिब्बतको झोम्बा काउन्टीले उपल्लो मुस्ताङका सीमावर्ती लोमन्थाङ र लोघेकरदामोदरकुण्ड गाउँपालिकाबासीलाई उपहारस्वरूप पठाएको तिब्बती नुन, चिया,३ घ्यू, कम्बल र सिरकसमेत समेतका सामान लिएर ३ वटा कन्टेनर (१२ वटा मिनी ट्रक)नेपाल भित्रिएका थिए । नेपाबाट भने कुनै सामान उता गएन ।
‘आजदेखि कोरोला नाका खुल्ला भयो । नाका खुलेको पहिलो दिन तिब्बतको झोम्बा काउन्ट्रीले सीमावर्ती लाोमन्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका जनतालाई पठाएको उपहार बोकेका ३ वटा कन्टेन आए,’ लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु विष्टले भने, ‘अब हामीले तिब्बतमा के–के कुराको माग छ, अध्ययन गरी यताबाट सोहीअनुसारका सामान पठाउने योजना बनाउनुपर्छ । हामी मुस्ताङबाट तिब्बत पठाउने भनेको अर्गानिक स्याउ, आलु र खाद्यान्न नै हो ।’
गण्डकी प्रदेशको नवलपरासीको गैंडाकोटबाट ४ सय ३५ किमी लामो कालीगण्डकी करिडोर सडक कोरोला नाकामा तिब्बतको झोङ्वा काउन्टी हुँदै २० किलोमिटरपर सिगात्सेबाट आएको ‘चाइना नेसनल हाइवे २१९’ सँग जोडिन्छ ।
‘आफ्नो गाउँ आफै बनाऔं’ कार्यक्रमअन्तर्गत २०५४ सालदेखि गाविसहरूले आफूकहाँ आउने सबै बजेट जम्मा पारेर लोमन्थाङ निवासी आङगेल विष्टको अध्यक्षतामा उपभोक्ता समितिमार्फत कोरला नाकाबाट खन्न सुरु गरिएको बेनी–जोमसोम–कोरोला सडक २६ वर्षपछि पूर्ण व्यावसायिक रूपमा खुला भएको हो । बेनी–जोमसोम सम्मको ७६ किलोमिटर सडक भने नेपाली सेनाले ०५९ सालमा निर्माण सुरु गरी ०६३ सालमा ट्य्राक ओपनगरी सडक विभागलाई बुझाएको थियो ।
तत्कालीन मुस्ताङ जिविस सदस्य प्रेमप्रसाद तुलाचनले सम्झे, ‘तिनताक मान्छे र घोडा मात्र हिँड्न मिल्ने बाटो थियो । पोखराबाट इन्जिनियरलाई जहाजमा जोमसोम र त्यहाँबाट घोडामा लगेर कोरला नाकाबाट तलतिर सडक सर्भे गरेका थियौं । आज गण्डकी प्रदेशकै लाइफलाइन ठानिएको पोखरा–बेनी–जोमसोम–कोरोला सडकले अन्तरदेशीय व्यापारिक नाकाको रूपमा स्थापित भएको छ ।’
नेपाल–चीनबीच गर्त वर्ष हस्ताक्षर भएको पारवहन तथा यातायात सम्झौताको प्रोटोकलअनुसार सुख्खा बन्दरगाहसम्म आवत–जावत गर्नेमध्येको कोरोला नाकामा चीनले सूचानाप्रविधिजडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाइन, आवास, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेरन पार्किङ र सुरक्षा पूर्वाधार खडा गरिसकेको छ ।
नेपालपट्टि भने चीनको सहयोगमा हालै नेपाली सुरक्षाकर्मीहरूका लागि अस्थायी आश्रयस्थल बनाइएको छ । सशस्त्र बोर्डर आउट पोस्ट (बीओपी) र लोमन्थाङ गाउँपालिका अध्यक्षसमेत जनप्रतिनिधिको रोहवरमा चिनियाँ सुरक्षाकर्मीले नै दशगजा क्षेत्रमा २० फिट लामा र १० फिट चौडाइ भएका पाँच वटा प्रिफेब कन्टेनर जडान गरिदिएका हुन् । कोरोला नाका सञ्चालनमा आएपछि यही अस्थायी संरचनामा नेपाली सुरक्षाकर्मी बस्नेछन् ।
भन्सार कार्यालय भने १२ किलोमिटर तल नेचुङमै रहने भएको छ । कोरोला नाकामा चिनियाँ भन्सारको आमने–सामने हुनेगरी भन्सार प्रयोजनका पूर्वाधार निर्माण गर्न एक हजार रोपनी जग्गा अधिग्रहण गरिएको भए पनि पूर्वाधार भने बनेका छैनन ।
कोरोला नाका व्यावसायिक रूपमा खुला भएसँगै उपल्लो मुस्ताङका लोमन्थाङ र लोघेकरदामोदर कुण्ड गाउँपालिकाका बासिन्दाले परिचयपत्रका आधारमा तिब्बततर्फ ३० किलोमिटर परसम्मका बजारमा जान/आउन छुट पाउने व्यवस्था भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।
नेपाल र चीनलाई सडक सम्पर्कले जोड्ने केरुङ र तातोपानी नाकापछि कोरोला तेस्रो नाका बनेको छ । नेपाल–चीनबीच सात वटा द्विदेशीय व्यापारिक नाका (ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथाङ्का, दोलखाको लामाबगर, गोर्खाको लार्के, हुम्लाको यारी र मुगु) पनि छिट्टै खोल्ने सहमति छ ।
पोखरादेखि बेनी हुँदै कोरोलासम्म म्याग्दी खण्डको थोरै भूगोलमा बाहेक दुई लेनको सडक कोरोला नाकासम्म जोडिएको छ । बेनी–जोमसोमसम्मको सडक कालोपत्रे हुने छ । जोमसोम–कोरोलासम्मको सडक भने ग्राभेल हुने छ । गण्डकी प्रदेशको नवलपरासीको गैंडाकोटबाट मुस्ताङको कोरोलासम्मको ४ सय ३५ किलोमिटर लामो सडकलाई कालीगण्डकी करिडोर नामकरण गरिएको छ ।