
बाजुरा– नेपालमै पहिलो पटक २८ हिमाली जिल्लामा बहुमूल्य हिमाली जडीबुटी तथा फङ्गसहरूको वैज्ञानिक स्रोत सर्वेक्षण सुरु गरिएको छ। हिमाली जडीबुटीहरूको संरक्षण, दिगो व्यवस्थापन, मूल्य शृङ्खला विकास तथा ट्रेसेबिलिटी प्रणाली निर्माण गर्ने उद्देश्यसहित यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो। नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय तथा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको सहकार्यमा एन्साब नेपालद्वारा सञ्चालित “हिमाली जडीबुटीहरूको संरक्षण र दिगो व्यापार” परियोजना अन्तर्गत उक्त सर्वेक्षण सुरु गरिएको हो। परियोजना अन्तर्गत सुदूरपश्चिम, कर्णाली लगायतका प्रदेशका २८ हिमाली जिल्लामा कार्यक्रम सञ्चालन भइरहेको जनाइएकाे छ।
जसमा कार्यक्रमले देशभर रहेका महत्वपूर्ण जडीबुटी स्रोतहरूको वास्तविक अवस्था, उपलब्धता, वितरण, संरक्षण अवस्था तथा उत्पादन क्षमताको तथ्याङ्क संकलन गर्ने लक्ष्य राखेको छ। परियोजना अन्तर्गत सुदूरपश्चिम प्रदेशकाे बाजुरा, बझाङ, दार्चुला, बैतडी तथा अछाम, कर्णाली प्रदेशका हुम्ला, मुगु, जुम्ला, कालीकोट, डोल्पा, जाजरकोट, रुकुम पश्चिम, सल्यान लगायतका जिल्लासहित नेपालका २८ हिमाली जिल्लामा कार्यक्रम सञ्चालन हुने जनाएकाे छ।
बाजुरा जिल्लामा भने सर्वेक्षण कार्य जेठ ४ गतेदेखि सुरु भइसकेको जनाएकाे छ। आगामी पाँच महिनाभित्र जिल्लाभर रहेका महत्वपूर्ण जडीबुटी तथा फङ्गस स्रोतहरूको अवस्था, उपलब्धता, वितरण, संरक्षण स्थिति तथा उत्पादन क्षमतासम्बन्धी विस्तृत तथ्याङ्क संकलन गरिने जनाइएको छ। सामुदायीक बन उपभाेक्ता महासघ बाजुराका वन अधिकृत चेतराज जैसीका अनुसार नेपाल विश्वमै बहुमूल्य औषधीय तथा सुगन्धित वनस्पतिको धनी मुलुक भए पनि अधिकांश जडीबुटीको स्रोत, उत्पादन क्षमता र संरक्षण अवस्थासम्बन्धी अद्यावधिक वैज्ञानिक तथ्याङ्कको अभाव रहँदै आएको छ। “यो सर्वेक्षणले देशभरका महत्वपूर्ण जडीबुटी स्रोतहरूको वास्तविक अवस्था अभिलेखीकरण गर्न मद्दत गर्नेछ,” उनले बताए। उनका अनुसार संकलित तथ्याङ्कले जडीबुटीको उत्पादन क्षेत्रदेखि संकलन, प्रशोधन, भण्डारण, बजारीकरण तथा निर्यातसम्मको सम्पूर्ण मूल्य शृङ्खला व्यवस्थित गर्न आधार प्रदान गर्नेछ। साथै जडीबुटीको उत्पत्ति स्थल, संकलन क्षेत्र र आपूर्ति प्रक्रियाको पहिचान तथा अनुगमन गर्न सकिने ट्रेसेबिलिटी प्रणाली विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
परियोजनाले विशेष गरी जटामसी, कुटकी, पञ्चऔंले, सुगन्धवाल तथा यार्सागुम्बाजस्ता उच्च मूल्यका हिमाली जडीबुटीहरूको दिगो व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा विश्वसनीयता अभिवृद्धि गर्न सहयोग पुग्ने जनाएको छ। भविष्यमा प्रमाणित तथा दिगो व्यापार प्रणाली विकासका लागि समेत यस अध्ययनबाट प्राप्त तथ्याङ्क उपयोगी हुने विश्वास गरिएको छ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, बाजुराका अनुसार हिमाली क्षेत्रका बहुमूल्य जडीबुटी तथा फङ्गसहरूको संरक्षणलाई सुदृढ बनाउँदै स्थानीय समुदायको आयआर्जन, उद्यमशीलता विकास र दिगो व्यापार प्रवर्द्धनमा कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। यो सर्वेक्षणलाई नेपालमा जडीबुटी क्षेत्रको दीर्घकालीन योजना निर्माण, संरक्षण रणनीति तय गर्ने तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली जडीबुटीको प्रतिस्पर्धात्मक क्षमता बढाउने दिशामा ऐतिहासिक कदमका रूपमा हेरिएको छ।


