शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • गेटा अस्पतालको विषय नीति तथा कार्यक्रममा, अस्पताल र विश्वविद्यालय सञ्चालन होला ?

गेटा अस्पतालको विषय नीति तथा कार्यक्रममा, अस्पताल र विश्वविद्यालय सञ्चालन होला ?

  • आइतवार, जेष्ठ ७, २०८०
गेटा अस्पतालको विषय नीति तथा कार्यक्रममा, अस्पताल र विश्वविद्यालय सञ्चालन होला ?

धनगढी– यो वर्ष सरकारले पेस गरेको नीति तथा कार्यक्रममा गेटामा अस्पताल सञ्चालनको विषय समेटिएको छ। सरकारको नीति तथा कार्यक्रममा पहिलो पटक गेटामा अस्पताल सञ्चालन गर्ने विषय समावेश भएको हो।

नीति तथा कार्यक्रममा गेटा अस्पतालले स्थान पाएसँगै आगामी बजेटमा दरबन्दी व्यवस्थापन र उकरण खरिद गर्न बजेट आउने र अस्पताल चलाउने वातावरण बन्ने भएको छ। सरकारले नीति तथा कार्यक्रममा विश्वविद्यालय ऐन पनि ल्याउने बताएकाले गेटामा अस्पतालसँगै विश्वविद्यालय सञ्चालन हुने आशा पलाएको गेटा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बताए। “सरकारले यो पटक गेटामा अस्पताल चलाउने र विश्वविद्यालय ऐन ल्याउने विषय समावेश भएको छ,” उनले भने, “सरकारको नीति तथा कार्यक्रमअनुसार बजेट आउने हुँदा आशावादी हुने ठाउँ छ।”

सरकारले राष्ट्रपतिमार्फत शुक्रवार संघीय संसद्को दुबै सदनको संयुक्त बैठकमा पेसको गरेको नीति तथा कार्यक्रमको बुँदा नम्बर १४४ मा गेटा विश्वविद्यालय सम्बन्धी विधेयक चालु अधिवेसनमा प्रस्तुत गर्ने उल्लेख गरेको छ। नीति तथा कार्यक्रममा गेटामा अस्पताल पनि यसै वर्ष सञ्चालनमा ल्याउने विषय समेटिएको छ।

सरकारले पहिलो पटक नीति तथा कार्यक्रममा गेटा विश्वविद्यालय र अस्पतालक सञ्चालनको विषय स्पष्ट रुपमा राखेको छ। जसले गर्दा गेटामा अस्पताल सञ्चालनका लागि जनशक्ति व्यवस्थापन र उपकरण खरिद गर्ने बाटो खुलेको गेटा अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले बताए। “सरकारले जेठ १५ मा ल्याउने बजेटमा गेटामा आवश्यक बजेट आउँछ भन्ने आशा जागेको छ,” उनले भने, “दरबन्दी स्वीकृति र उपकरण खरिद गरेर अस्पताल चलाउन आगामी वर्ष बजेट आउने वातावरण बनेको छ।”

संघीय सरकारले जेठ १५ मा ल्याउने बजेटमा गेटामा अस्पताल सञ्चालन गर्न बजेट तोकिने विश्वास गरिएको छ। नीति तथा कार्यक्रममा अस्पताल सञ्चालनको कुरा समेटिएसँगै मन्त्रिपरिषद्ले दरबन्दी स्वीकृत गर्ने बाटोसमेत सहज भएको हो।

प्रधानमन्त्री भए लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय मन्त्रिपरिषदबाट पारित गराएका थिए। सरकारले गत फागुन अन्तिममा विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो भने २०७८ चैतमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले गेटामा अस्पताल सञ्चालनको निर्णय गरेका थिए। यो पटक भने सरकारले विश्वविद्यालय सम्बन्धी ऐन ल्याउने र विश्वविद्यालय सञ्चालन गर्ने विषय नीति तथा कार्यक्रमा पारेको छ। सरकारको नीति तथा कार्यक्रमअनुसार जेठ १५ मा बजेट आउने र विश्वविद्यालय सञ्चालन गर्ने कानूनी आधार खडा हुने निर्देशक जोशीले बताए।

गेटामा मेडिकल कलेज सञ्चालन हुनुपर्ने सुदूरपश्चिमवासीको पूरानो माग हो। तर, सरकारले भने गेटामा विश्वविद्यालय र अस्पताल सञ्चालन गर्ने विषय नीति तथा कार्यक्रममा समावेश गरेपछि सोही अनुरुप बजेट विनियोजन भए सुदूरपश्चिमको स्वास्थ्य शिक्षा र सेवा प्राप्त गर्ने लामो प्रतीक्षा समाप्त हुनेछ।

चर्चामा

सम्बन्धित समाचार