बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • देश
  • खप्तडमा अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन हुँदै

खप्तडमा अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन हुँदै

  • शनिबार, जेष्ठ ६, २०८०
खप्तडमा अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन हुँदै

धनगढी–  खप्तडमा प्रथम अन्तर्राष्ट्रिय अध्यात्मिक सम्मेलन आयोजना हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सम्मेलन आयोजना गर्ने घोषणा गरेको हो । यही जेठ २३ देखि २५ गतेसम्म सञ्चालन हुने सम्मेलनको बिहिबार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको संयोजकत्वमा ४०१ सदस्यीय मूल आयोजक समारोह समिति गठन भएको छ ।

समितिमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सांसदहरु, प्रदेश सरकारका मन्त्री, सांसदहरु, पूर्व सांसदहरु, सुरक्षा निकाय, ८८ वटै स्थानीय तहका प्रमुखहरु, सञ्चार क्षेत्र, पर्यटन, संस्कृति, कला साहित्यलगायत नीजि क्षेत्रबाट नेतृत्व गर्ने संस्थाका प्रतिनिधिहरु आयोजक समितिमा छन् ।

सम्मेलनमा प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, संघीय संसदका सांसदहरु, बाबा रामदेव, आचार्य बालकृष्णलगायत अन्तर्राष्ट्रिय तहका अध्यात्मिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू सहभागी हुने निश्चित भएको मुख्यमन्त्री शाहले बताए ।

सम्मेलन आयोजनाका लागि प्रदेश सरकार अन्तर्गत रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समिति गठन गरिएको छ । सोही समितिले सम्मेलन आयोजनाको सम्पूर्ण तयारी गर्ने मुख्यमन्त्री शाहले बताए । साथै १५ वटा विभिन्न उपसमिति पनि गठन गरिएका छन् ।

मुख्यमन्त्री शाहले प्राकृतिक विविधताले भरिपूर्ण खप्तडमा आयोजना हुने अध्यात्मिक सम्मेलनबाट यस क्षेत्रको अन्तर्राष्ट्रिय तहमा प्रचारप्रसार भई प्रदेशको आर्थिक विकासमा कोशेढुंगा सावित हुने बताए । यस्तै, सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले खप्तडमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनले सुदूरपश्चिमको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै तयारीका लागि छोटो समय भएकाले ब्यवस्थापनमा सबैले जुट्नुपर्नेमा जोड दिए । साभार

चर्चामा

सम्बन्धित समाचार