बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • सरकारकै तथ्याङ्कले भन्छ : मन्दीमा गयो अर्थतन्त्र

सरकारकै तथ्याङ्कले भन्छ : मन्दीमा गयो अर्थतन्त्र

  • बुधबार, बैशाख २०, २०८०
सरकारकै तथ्याङ्कले भन्छ : मन्दीमा गयो अर्थतन्त्र

काठमाडौं– नेपालको अर्थतन्त्र अहिले कुन अवस्थाबाट गुज्रिरहेको छ, यसको सैद्धान्तिक जवाफ सबैको फरक–फरक हुनसक्छ । तर, आर्थिक गतिविधिमा आएको सुस्तातासँगै अब अर्थतन्त्र मन्दीमा पुगेको सरकारी तथ्याङ्कले नै देखाएको छ ।

निजी क्षेत्र र आम उपभोक्ताले महँगीको मार भोगिरहँदा बजारमा मागमा आएको संकुचन लुकेको छैन । अर्थविदहरुले अर्थतन्त्र मन्दीतिर गएको बताइरहे पनि सरकार र नेपाल राष्ट्र बैंक भने अर्थतन्त्र मन्दीमा गएको मान्न तयार थिएन ।

तर, केन्द्रीय तथ्याङ्क कार्यालयले मंगलबार सार्वजनिक गरेका तथ्याङ्कहरुले भने अर्थतन्त्र मन्दीमा गइसकेको तथ्यलाई थप बलियो बनाएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १.१ प्रतिशतले ऋणात्मक (–१.१ प्रतिशत) भएको अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले यसअघि नै सार्वजनिक गरिसकेको थियो । यसअनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा भने ०.७३ प्रतिशतले कुल गार्हस्थ्य उत्पादन घट्ने अनुमान तथ्याङ्क तथ्यांक कार्यालयले सार्वजनिक गरेको थियो ।

मंगलबार केन्द्रीय तथ्याङ्क कार्यालयले मौसमी प्रभाव समायोजित (अघिल्लो त्रैमास) को आर्थिक वृद्धिदर लगातार तेस्रो त्रैमामास पनि ऋणात्मक हुने अनुमान सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चौथो त्रैमासमा ०.२४ प्रतिशतले ऋणात्मक भएको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षको प्रथम त्रैममासमा पनि ०.३४ प्रतिशतले ऋणात्मक रहेको केन्द्रीय तथ्यांक कार्यालयले बताएको छ ।

केन्द्रीय तत्यांक कार्यालयले प्रकाशित गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक राष्ट्रिय लेखा अनुमान प्रतिवेदनअनुसार आर्थिक मन्दीको कारण आर्थिक वृद्धिदरमा संकुचन हुँदा नेपालको प्रतिव्यक्ति आय पनि स्थिर देखिएको छ ।

तस्वीर सौजन्य : पुष्पेन्द्र खड्का
चालु आर्थिक वर्षमा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ३९९ अमेरीकी डलर समी सीमति हुने अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको छ । जुन १ लाख ८२ हजार ६८३ नेपाली रुपैयाँबराबर हो । गत आर्थिक वर्ष २०७९/७९ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ३९९ अमेरीकी डलर नै थियो ।

‘०.९२ प्रतिशत वार्षिक जनसंख्या वृद्धिदर हुँदा १.८६ प्रतिशतले मात्रै आर्थिक वृद्धिदर छ,’अर्थविद् केशव आचार्य भन्छन्, ‘जनसंख्याको वृद्धिदर समायोजन गर्दा आर्थिक वृद्धिदर १ प्रतिशत भन्दा तल झर्छ । जसले गर्दा कुल गार्हस्थ्य उत्पादनमा प्रतिव्यक्ति आय पनि बढ्न सकेन ।’

यस्तै प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन भने १ हजार ४१० अमेरीकी डलर पुग्ने अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको छ । जुन १ लाख ८४ हजार १४० नेपाली रुपैयाँ बराबर हो । विश्वका अन्य देशहरूमा भएका घटनाले विश्वव्यापी रुपमा आपूर्ति श्रृंखला खलबलिएको र पेट्रोलियम पदार्थ लगायतका वस्तुमा भएको मूल्यवृद्धिको असर नेपालको अर्थतन्त्रमा देखिएको केन्द्रीय तथ्याङ्क कार्यालयले जनाएको छ ।

२०७९/८० मा उपभोक्ता मूल्यमा १.८६ प्रतिशतले समष्टिगत आर्थिक वृद्धि (कुल गार्हस्थ्य उत्पादनको वृद्धि) हुने साथै अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ बराबरको हुने अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ ।

यस्तै चालु आर्थिक वर्षको ६ देखि नौ महिनासम्मका आर्थिक क्षेत्रहरूसँग सम्बन्धित यथार्थ आँकडा तथा सूचनाहरूका आधारमा तयार गरिएको राष्ट्रिय लेखा तथ्याङ्क अनुसार कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको हो ।

चरम शिथिलताको चरणमा अर्थतन्त्र

गत आर्थिक वर्ष २०७८/७९मा ५.६१ प्रतिशत र आर्थिक वर्ष २०७७/७८ मा ४.८४ प्रतिशत रहेको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा यति धेरै कमजोर हुनुले अर्थतन्त्र चरम शिथिलतातिर अगाडि बढेको देखाएको अर्थविद् केशव आचार्य बताउँछन् । ‘करिब ५/६ प्रतिशत रहेको आर्थिक वृद्धिदर एकैपटक घटेर करिब २ प्रतिशतमा प्रतिशतमा आउनु भनेको अर्थतन्त्र एकदमै कमजोर भयो भन्ने हो ।’

नेपाल राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशक तथा अर्थविद् नरबहादुर थापा पनि लगातार दुईवटा त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक भएकोले प्राविधिक रुपमै अर्थतन्त्र मन्दीमा गयो भन्न सकिने बताउँछन् ।

‘मौसमी प्रभाव समायोजित आर्थिक वृद्धिदर गत आर्थिक वर्षको चौथोसहित लगातार ३ त्रैमासमा ऋणात्मक भयो । यसले अर्थतन्त्र मन्दीमा छ भन्ने देखाउँछ,’ उनले अनलाइनखबरसँग भने, ‘तर, केन्द्रीय तथ्याङ्क कार्यलयले चालु आर्थिक वर्षमा २.१६ प्रतिशतको आर्थिक वृद्धिदर हुने भनेको छ । यसले अर्थतन्त्र मन्दीबाट माथि आएको जस्तो देखायो । तर, वास्तविकता अन्तिम तथ्यांकले देखाउला ।’

अर्थतन्त्र सुधारको लागि नितिगत सुधार गर्न ढिलो भइसकेको थापाको तर्क छ । तथ्याङ्क उपलब्ध भएका दुईवटा त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक भएको र तेस्रो त्रैमासको केही तथ्याङ्क र चौथो त्रैमासको आउन बाँकी तथ्याङ्कको आधारमा २ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हुन्छ भन्ने अनुमानको विश्वसनियतामाथि नै उनले प्रश्न गरे ।

‘सरकारको खर्च पनि भएको छैन, निजी क्षेत्रमा जाने बैंक कर्जा पनि बढेको छैन,’ उनले भने, ‘अघिल्ला ३ त्रैमासमा लगातार आर्थिक वृद्धिदर ऋणात्मक छ र यो वर्ष २.१६ प्रतिशतको वृद्धि हुने अनुमान गरेकोले अर्थतन्त्र मन्दीको चरणमा प्रवेश गरेको हो भन्नु अन्यथा हुँदैन ।’

अर्थविद् केशव आचार्य पनि अर्थतन्त्र पनि अर्थतन्त्र मन्दीमा गएको देख्छन् । ‘लगातार दुई त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक हुन्छ भने त्यसलाई अर्थशास्त्रको सिद्धान्तले आर्थिक मन्दी नै भनिन्छ,’ उनले भने, ‘तथ्याङ्क विश्लेषणमा मौसमी प्रभाव समायोजित तथ्याङ्क बढी भरपर्दो हुन्छ । यस्तो तथ्याङ्कमा आर्थिक वृद्धिदर लगातार तेस्रो त्रैमासमा पनि ऋणात्मक छ भने त्यो आर्थिक मन्दी हो ।’

नेपाल राष्ट्र बैंक भने अर्थतन्त्रमा मन्दी आएको मानिहाल्न तयार छैन । केन्द्रीय बैंकका आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठ आर्थिक वृद्धिदर औसतभन्दा कम भएकाले अर्थतन्त्र ‘स्लो डाउन’ (शिथिल) मात्रै भएको बताउँछन् ।

लगातार दुई त्रैमासमा आर्थिक वृद्धिदर नै ऋणात्मक भएमा त्यसलाई मन्दी भन्न सकिने उनको तर्क छ । मौसमी प्रभाव समायोजन नभएको गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक त्रैमासमा मात्रै आर्थिक वृद्धिदर ऋणात्मक भएकोले यसलाई अर्थतन्त्रमा स्लो डाउन भएको भन्नुपर्ने उनको भनाइ छ ।

कोभिड र भूकम्पका कारण भएको ऋणात्मक आर्थिक वृद्धिबाहेक नेपालको औसत आर्थिक वृद्धिदर ४ प्रतिशतभन्दा माथि रहेको भन्दै उनले चालु आर्थिक वषमा २ प्रतिशतमा सीमित हुने अनुमानले राम्रो संकेत नगरेको बताए ।

‘आर्थिक वृद्धिदर अघिल्लो आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्ने हो । यसरी हेर्दा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर ऋणत्मक भयो,’ उनले अनलाइनखबरसँग भने, ‘दोस्रो त्रैमासको तथ्याङ्क र त्यसपछिको अवस्थालाई हेर्दा अर्थतन्त्र मन्दीको नजिक पुग्यो भन्न सकिन्छ । बजारले पनि त्यस किसिमको महसुस गराइरहेको छ ।’

कुन क्षेत्र बढ्यो–घट्यो ?

यो वर्ष उद्योगको माग बढाउने र पूँजी निमार्णमा योगदान दिने महत्वपुर्ण निर्माण क्षेत्रको वृद्धिदर नै ऋणात्मक हुँदा आर्थिक वृद्धिदरमा समेत नकारात्मक असार पर्ने देखिएको छ । कुल गार्हस्थ्य उत्पादनमा ५.५२ योगदान भएको निर्माणको वृद्धिदर ऋणात्मक हुने अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको हो । अघिल्लो आर्थिक वर्ष को तुलनामा चालु आर्थिक वर्षमा निर्माण क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर २.६२ ले ऋणात्मक हुने प्रारम्भिक अनुमान रहेको जनाएको छ ।

जबकी गत आर्थिक वर्षको निमार्ण क्षेत्रको वृद्धिदर ७.०८ प्रतिशत रहेको केन्द्रीय तथ्याङ्क कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा सार्वजनिक तथा निजी निर्माण कार्यमा आएको शिथिलता र निर्माण सामग्रीको आयात तथा आन्तरिक उत्पादनमा आएको कमीले यस क्षेत्रको मूल्य अभिवृद्धिको वृद्धिदर ऋणात्मक हुने अनुमान गरिएको छ ।

यस्तै कुल गार्हस्थ्य उत्पादनमा अनुमानित १५.३९ प्रतिशत योगदान रहेको थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटरसाइकल मर्मत सेवाको कुल मूल्य अभिवृद्धि २.९६ प्रतिशतले ऋणात्मक वृद्धि हुने प्रारम्भिक अनुमान रहेको जनाएको छ । गत आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदर ७.४६ प्रतिशत रहेको रहेको थियो । आयात तथा आन्तरिक उत्पादनमा आएको गिरावटले व्यापार क्षेत्रको मूल्य अभिवृद्धिको वृद्धिदरमा नकारात्मक असर परेको तथ्याङ्क कार्यालयले जनाएको छ ।

यस्तै कुल गार्हस्थ्य उत्पादनमा ५.३२ प्रतिशत योगदान दिएको उद्योग क्षेत्रको मूल्य अभिवृद्धिको वृद्धिदर २.०४ प्रतिशतले ऋणात्मक हुने प्रारम्भिक अनुमान छ । वनस्पति, तोरी, सोयाबीन तथा सूर्यमुखी तेलको उत्पादनका साथै फलाम तथा स्टिल जन्य उत्पादनमा आएको कमीको कारणले उद्योग क्षेत्रमा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा उद्योग क्षेत्रको वृद्धिदर ऋणात्मक बन्न पुगेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार समग्र औद्योगिक क्षेत्रलाई प्राथमिक क्षेत्र, द्वितीय क्षेत्र र सेवा क्षेत्र गरी प्रमुख तीन समूहमा विभाजन गरेर तथ्याङ्क विश्लेषण गर्दा चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान केही बढेको छ । वृद्धि हासिल गरेको सेवा क्षेत्रभित्र थोक तथा खुद्रा व्यापार, आवास तथा भोजन सेवा, यातायात तथा भण्डारण, सूचना तथा सञ्चार, वित्तीय तथा बीमा क्षेत्र, घरजग्गा कारोवार, पेशागत तथा प्रशासिनक व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सेवाहरू पर्छन् । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रले ६२.४ योगदान दिने प्रारम्भिक अनुमान गरिएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा सेवा क्षेत्रको योगदान ६१.२ प्रतिशत थियो ।

सेवा क्षेत्रमा यातायात तथा भण्डारणको वृद्धिदर गत आवमा ४.६१ प्रतिशतबाट १.१४ प्रतिशतमा सीमित भएको छ । यस्तै वित्तीय तथा बीमा क्षेत्रको वृद्धिदर भने ६.८८ प्रतिशतबाट केही बढेर ७.२९ प्रतिशत पुगेको छ । घरजग्गा कारोवारको वृद्धिदर १.६३ प्रतिशतबाट बढेर २.१७ प्रतिशत पुग्दा शिक्षा क्षेत्रको वृद्धिदर ४.६६ प्रतिशतबाट ४.०७ प्रतिशतमा सीमित भएको छ । स्वास्थ्य क्षेत्रको वृद्धिदर पनि ६.९९ प्रतिशतबाट घटेर ६.५१ प्रतिशतमा सीमित भएको हो ।

चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा २.३३ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । आयात तथा आन्तरिक औद्योगिक उत्पादनहरुमा आएको गिरावटले थोक तथा खुद्रा व्यापारमा ऋणात्मक वृद्धि दर रहेको र यातायात तथा भण्डारण सेवामा पनि न्यून वृद्धिको कारण यस क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदरमा गत आबको तुलनामा कमी आएको छ ।

जीडीपीमा प्राथमिक क्षेत्र र द्वितीय क्षेत्रको योगदानमा गत आर्थिक वर्ष भन्दा घट्ने अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले गरेको छ । यस क्षेत्र अन्तर्गत कृषि वन तथा मत्स्य र खानी तथा उत्खनन् क्षेत्रहरु पर्छन् । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले २४.६ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान गरिएको रहेको जनाएको छ । गत आबमा यस क्षेत्रको योगदान २५.२ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा घट्ने अनुमान गरिएको हो ।

चालु आर्थिक वर्षमा यस क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर स्थिर मूल्यमा २.६९ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको जनाएको छ । चालु आर्थिक वर्षमा धान लगायतका वर्षे वालीको उत्पादनमा वृद्धि भएता पनि हिउँदे बालीको साथै दूध, अण्डा तथा मासुको उत्पादनमा आएको कमीले यस क्षेत्रको उल्लेखनीय वृद्धि हुन नसकेको जनाएको छ । कृषि क्षेत्रको जीडीपीमा योगदान घट्दो देखिए पनि उत्पादनमा वृद्धिदर भने बढेको छ । गत आर्थिक वर्षमा २.२४ प्रतिशतको वृद्धिदर रहेको यस क्षेत्र यो वर्ष २.६९ प्रतिशतले बढ्ने अनुमान केनिद्रय तथ्याङ्क कार्यालयले गरेको छ ।

द्वितीय क्षेत्र अन्तर्गत उद्योग, विद्युत, ग्याँस, वाष्प तथा वातानुकिलत आपूर्ति सेवा, पानी आपूर्ति, ढल फोहोर व्यवस्थापन तथा पुनःउत्पादनका क्रियाकलापहरू र निर्माण क्षेत्र पर्दछन् । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले १२.९ प्रतिशत यागदान दिने अनुमार रहेको केन्द्रीय तथ्याङ्क कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको यस क्षेत्रको योगदान १३.५ प्रतिशत थियो ।

चालु आर्थिक वर्षमा द्वितीय क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर स्थिर मूल्यमा ०.५६ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान छ । उद्योग र निर्माण क्षेत्रमा आएको गिरावटको कारणले गर्दा यस क्षेत्रको वृद्धिदरमा कमी आएको छ । सोही वृद्धिदर गत आर्थिक वर्ष २०७८/७९ मा ५.२६ प्रतिशत हुने संशोधित अनुमान र आर्थिक वर्ष २०७७/७८ मा ४.४९ प्रतिशतमा थियो ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाश कुमार श्रेष्ठ समग्र रुपमा व्यापार व्यवसाय घटेको र इन्धनको आयात घटेकोले अर्थतन्त्र ‘स्लो डाउन’ भएको देखिएको बताउँछन् ।

तर, अहिलेको तथ्याङ्कमा केही विरोधाभाष देखिएको उनको दाबी छ । ‘अर्थतन्त्र स्लो डाउन हुँदै गर्दा पनि मुद्रास्फीति भने जबरजस्त रुपमा माथि बसेको छ,’ श्रेष्ठले भने, ‘अर्थतन्त्र स्लो डाउन हुँदा या मन्दीमा जाँदा मुद्रास्फीति घट्नुपर्ने हो । ब्याजदर पनि घट्नुपर्छ, तर त्यस्तो देखिएको छैन ।’

मुख्य तथ्यांकहरू

चालु आर्थिक वर्षमा यस्तो हुनसक्छ प्रमुख आर्थिक सुचक

–कुल गार्हस्थ्य उत्पादन वृद्धिदर (उपभोक्ताको मूल्यमा) : १.८६ प्रतिशत

–कुल गार्हस्थ्य उत्पादन वृद्धिदर (आधारभूत मूल्यमा) : २.१६ प्रतिशत

–चालु मूल्य अनुसार कुल उत्पादन (आधारभूत मूल्यमा) : ८० खर्ब ९० अर्ब ६७ करोड ।

–चालु मूल्य अनुसार कुल मध्यवर्ती उपभोग (उपभोक्ताको मूल्यमा) : ३३ खर्ब ९४ अर्ब १७ करोड

–चालु मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन (आधारभूत मूल्यमा): ४६ बर्व ९६ अर्ब ४९ करोड

–चालु मूल्य अनुसार कुल गार्हस्थ्य उत्पादन (उपभोक्ताको मूल्यमा): . ५३ खर्ब ८१ अर्ब ३४ करोड

–चालु मूल्यमा कुल स्थिर पुँजी निर्माण : १३ खर्ब ५६ अर्ब ४६ करोड (कुल गार्हस्थ्य उत्पादनको २५.२१ प्रतिशत)

–चालु मूल्यमा अन्तिम उपभोग खर्च : ५० खर्ब ३६ अर्ब १५ करोड (कुल गार्हस्थ्य उत्पादनको ९३.५९ प्रतिशत)

– चालु मूल्यमा वस्तु तथा सेवा निर्यात : ३ खर्ब ८५ अर्ब ११ करोड (कुल गार्हस्थ्य उत्पादनको ७.१६ प्रतिशत)

–चालु मूल्यमा वस्तु तथा सेवा अयात : १९ खर्ब ६४ अर्ब ३३ करोड (कुल गार्हस्थ्य उत्पादनको ३६.५ प्रतिशत)

–चालु मूल्यमा कुल राष्ट्रिय वचत : कुल गार्हस्थ्य उत्पादनको ३१.६६ प्रतिशत

–विप्रेषण : १२ खर्ब ३१ अर्ब ७३ करोड (कुल गार्हस्थ्य उत्पादनको २२.८९ प्रतिशत)

–प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन : १,३९९ अमेरिकी डलर

–प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन १,४१० अमेरिकी डलर

अनलाइन खवर बाट

चर्चामा

सम्बन्धित समाचार