बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • समाज
  • विद्यार्थीहरुका कथा : एसईई पछिको गन्तव्य ‘कालापहाड’

विद्यार्थीहरुका कथा : एसईई पछिको गन्तव्य ‘कालापहाड’

  • मङ्लबार, चैत्र २८, २०७९
विद्यार्थीहरुका कथा : एसईई पछिको गन्तव्य ‘कालापहाड’

जाजरकोट– बारेकोट गाउँपालिका –२ का स्थानीय कमल नेपाली उमेरले १७ बर्षका भए । उनी हालै सम्पन्न भएको एसईई परीक्षाका परिक्षार्थी हुन् । पारिवारिक खर्च र पढाई खर्च जुटाउनका लागि ज्याला मजदुरी गर्नुपर्ने बाध्यता रहेको बताउँछन् ।

‘अब कतै पढौं भने घरको आर्थिक अवस्था कमजोर छ’, उनले भने, ‘यतै काम गरौं भने यहाँ काम पाउन गाह्रो छ, अब राम्रो ठेकेदार खाजेर केहीदिन मै ज्याला मजदुरीका लागि कालापहाड जानुपर्ला ।’ ‘गाउँमै रोजगारीको व्यवस्था छैन्, उनले थपे, ‘हामीलाई काम नगरी खान, लगाउन पुग्दैन्, खाली पेट भर्न र शरीर ढाक्न कै लागि भएपनि कालापहाड जानुपर्ने हुन्छ ।’

सोही ठाउँका तप्तबहादुर नेपाली उमेरले १८ बर्षका भए । उनी अहिले वीरेन्द्र ऐश्वर्य माद्यमिक विद्यालय, लिम्सामा ११ कक्षामा अध्ययनरक्त छन् । उनी एसइइ परीक्षा दिएर गत बर्ष भारतमा मजदुरी गर्न गएका थिए । भारत बाट कमाएर ल्याएको पैसाले कक्षा ११ मा भर्ना शुल्क तिरे । ११ कक्षा पढ्दाको खर्च जुटाउन अहिले उनी भारत जाने तयारीमा छन् ।

गरिवीकै कारण पढाई खर्च जुट्याउनका लागि भारत जानुपर्ने बाध्यता रहेको बताउँछन् । प्रत्येक बर्ष झैं यो बर्ष पनि ज्याला मजदुरीका लागि भारत जाने तयारीमा रहेको बताए । ‘केही साथीहरु अघि गइसके, भर्खरै एसईई परीक्षा सकियो अव नयाँ बर्षपछि जान्छन्, उनले भने, ‘म पनि ११ कक्षाको परीक्षा दिएपछि जानुपर्ला ।’

‘ज्याला मजदुरीका लागि भारत जाने सिजन भनेकै यही हो’, उनले भने, ‘ढिला जाने हो भने काम पाइदैन्, पछि दशैं तिहारमा घर फर्कन समस्या हुन्छ, काम गर्न कै लागि अर्काको देशमा जानु हाम्रोे रहर होईन् यो त बाध्यता हो ।’

रोकायगाउँका १८ बर्षका प्रशान्त विकले पनि अहिले भारतमा मजदुरी गरिरहेका छन् । २०७७ सालमा एसईई उर्तीण उनी त्यसपछि लगातार पढाई खर्च जुट्याउनकै लागि भारत गईरहेका छन् । विद्यालयको शुल्कतिर्न र पारिवारिक खर्च जुट्याउन कै लागि उनी भारतमा मजदुरी गरिरहेका छन् ।

घरमा आफुवाहेक अरु कमाउने मान्छे नभएको हुँदाआफु भारत जानुपर्ने बाध्यता रहेको उनले बताए । उनले भने ‘घरमा एक जना वृद्ध आमा हुनुहुनुन्छ, विद्यालयको महङ्गो शुल्क तिर्नुपर्छ, आफ्नो पढाई खर्च र घर खर्च जुटाउनका लागि यहाँ दिनरात नभनी अर्काको देशमा मजदुरी गर्नु परेको छ ।’ ‘नपढौं भने भविष्य अन्धकार हुन्छ पढौं भने आर्थिक अवस्था कमजोर छ उनले थपे, त्यसैले छ महिना पढ्ने छ महिनाकमाउने गरेको छु ।’ उनीहरु उदाहरण पात्र मात्र हुन् ।

जिल्लाका अधिंकाश विद्यार्थीहरुले विच्चैमा विद्यालय छोड्नुको प्रमुख कारण गरिवी भएको यहाँका जानकारहरु बताउँछन् । संबैधानिक व्यवस्था कार्यान्वयन नहुनु, स्थानीय सरकारले रोजगारी सिर्जना गर्न नसक्नु लगायतका विविध कारण रहेको स्थानीय युवा भीमबहादुर नेपालीले बताए ।

उनले भने ‘नेपालको संविधान २०७२ को भाग ३ को धारा ३१ को उपधारा (१), (२) र (३) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत शिक्षा अनिवार्य र निःशुल्क र माद्यामिक तहको शिक्षा निःशुल्कको व्यवस्था गरिएको छ, तर बारेकोटको मात्र नभई जाजरकोटका कुनै पनि विद्यालयका विद्यार्थीहरुले सेवा सुविधा पाउन सकेका छैनन् ।’

विद्यालयहरुमा प्राप्त शिक्षक दरबन्दी तथा विषयगत शिक्षकहरुको अभावका कारण निजी स्रोतबाट केही जनशक्ति व्यवस्थापन गर्नुपर्ने भएकोले विद्यार्थीबाट शुल्क लिनु परेको विद्यालयहरुले दावी गरिहेका छन् । विद्यालयको आन्तरिक स्रोतको अपारदर्शी परिचालन जस्ता समस्याहरुको रंगमा विद्यालयहरुले शुल्क उठाउने गरेको बारेकोट गाउँपालिक ाअध्यक्ष वीर वहादुर गिरीले बताए ।

उनले भने, विद्यालयका आन्तरिक समस्याको समाधान गरी विद्यार्थीबाट शुल्क उठाउने काम बन्द गर्नुपर्छ यसका लागि व्यक्ति केन्द्रित नभई नीतिगत सुधार गर्नु आवश्यक छ ।’
जाजरकोटका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुको एसईई पछिको गन्तव्य कालापहाड अर्थात भारत बन्ने गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उच्च शिक्षा बाट यहाँका अधिकांश विद्यार्थीहरु वञ्चित छन् । हाम्राे पहुँच अनलाइनबाट

चर्चामा

सम्बन्धित समाचार