शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • खप्तड : विकासका ठूला कुरा होइन, स-साना काम नै बाँकी

खप्तड : विकासका ठूला कुरा होइन, स-साना काम नै बाँकी

  • शनिबार, पुस २, २०७९
खप्तड : विकासका ठूला कुरा होइन, स-साना काम नै बाँकी

सुन्दर सुदूरपश्चिमका अनेक सौन्दर्यस्थलमध्ये एक हो, खप्तड लेक । अध्यात्मवादीलाई जति मोहक छ, भौतिकवादमा विश्वास राख्नेहरूका लागि पनि उत्ति नै आकर्षक छ खप्तड । आध्यात्मिक मनोवृत्तिको साधारण व्यक्तिलाई पनि साधक, तपस्वी र ब्रह्मज्ञानी बनाउने यो उच्च भूमि जो-कोही भौतिकवादीको लागि पनि चित्ताकर्षक छ ।

यहाँ प्रकृतिप्रेमी तथा अध्येताले समय बितेको पत्तै नपाउने अनेक परिदृश्य र विषय छन् । योगी–ध्यानी साधक र आस्थावानका लागि त यो ठाउँ यसै पनि तीर्थस्थल हुँदै हो । सबैखाले मानिसले खोज्ने आनन्द र सुख-शान्ति खप्तडमा विद्यमान छ ।

यी विशेषताले खप्तडलाई सुप्रसिद्ध पर्यटनस्थल बनाइसकेको छ । सूपको केन्द्रमा अवस्थित यो अनुपम पर्यटनस्थललाई अब समग्र प्रदेशको आर्थिक उन्नतिसँग जोडेर लैजाने समय आएको छ । लामो समय गरिबी, अभाव, अशिक्षा र कुरीतिको पर्यायको रूपमा प्रस्तुत गरिएको सिंगो सूपलाई समृद्ध, उन्नत र आधुनिक बनाउने अपार सम्भावना खप्तडले बोकेको छ ।

बाजुरा, बझाङ, अछाम र डोटी गरी चार जिल्लालाई अँगालेर बसेको खप्तड क्षेत्र जहिल्यै ऋतुअनुसार मुस्कुराइरहेको हुन्छ । ऋतुअनुसार फुलेका रंगीविरंगी फूल र जडीबुटीको वासनामा डाँफेलगायत हिमाली पन्छी र वन्यजन्तुहरूको स्वच्छन्द विचरण जो–कोहीको लागि अद्भुत हुन्छ ।

हामीले यो ठाउँलाई सूपको आर्थिक भविष्यसँग जोडेर भाषणको विषय बनाएको, ‘हाम्रो खप्तड, हाम्रो गौरव’, ‘सुदूरपश्चिमको शान, खप्तड हाम्रो पहिचान’ भन्दै नारा लगाएको पुग-नपुग दुई दशक भइसक्यो । अब कार्ययोजना बनाएर त्यसलाई कार्यान्वयनमा लैजाने बेला भएको छ ।

खप्तड बाबाले ५० वर्ष साधना गरेको खप्तडले त हामीलाई सधैं सोधिरहेकै छ- सूपवासीहरू हो, तिमीहरूले मबाट कहिले, कसरी, कस्तो–कस्तो लाभ लिन सकौला त ?

हामी भने केवल नारामा रमाइरहेका छौं । खप्तडबाट लाभ लिन चुक्दै केन्द्र सरकारको मुख ताकेर बसिरहेका छौं, कामको खोजीमा बर्सेनि लाखौंको संख्यामा भारततिर लागिरहेका छौं ।

प्रकृतिप्रदत्त सुन्दरतालाई आर्थिक उपार्जनको माध्यम बनाउन मानव निर्मित पूर्वाधार विकास हुनैपर्छ । पर्यटकीय पूर्वाधार र अतिथि स्वागतको संस्कार विकास गर्न योजना र चेतना पनि चाहिन्छ, जुन हामीले देखाउन सकिरहेका छैनौं ।

सूपका हामीले खप्तड जस्ता अरू कैयौं पर्यटकीय गन्तव्यहरूबाट लाभ लिन सकिरहेका छैनौं । पर्यटनको अथाह संभावना भएका ठाउँहरूको प्रवद्र्धन गरेर तिनबाट लाभ लिन हामीलाई विकासको स्पष्ट दृष्टिकोण र प्रतिबद्धताको अभावले रोकिरहेको छ ।

दिगो पर्यटन विकास अहिलेको आवश्यकता हो । यसमा समुदायको अगुवाइ जरूरी हुन्छ । ग्रामीण पर्यटन, पर्या–पर्यटन, धार्मिक पर्यटन, खेल पर्यटनलगायत अनेक खाले पर्यटनको संभावना रहेको हाम्रो क्षेत्रमा हालसम्म यीमध्ये केहीको पनि गतिविधि गर्न सकिएको छैन ।

पर्यटन के हो र यसले हामीलाई कसरी फाइदा पुग्छ भन्ने ज्ञान स्थानीयस्तरसम्म नहुँदासम्म पर्यटन प्रवद्र्धन हुन सक्दैन । अतिथि देवो भवः भन्ने हाम्रो संस्कृतिलाई पर्यटकहरूका अगाडि व्यवहारमा उतार्न कस्तो सरसफाइ, बोलीचाली, प्रस्तुति चाहिन्छ भन्ने कुराको ज्ञान हुन जरूरी हुन्छ । पर्यटकहरूका लागि कसरी सुरक्षित र शान्त वातावरण बनाउने भन्ने कुरामा पनि त्यत्तिकै हेक्का राख्न जरूरी छ ।

पर्यटन उद्योग संचालनका लागि सुहाउँदो वातावरण मिलाएर आफ्नो क्षेत्रमा पर्यटन विकास र प्रवद्र्धन गर्ने कार्यमा स्थानीय सरकारहरूको महत्वपूर्ण भूमिका रहन्छ । स्थानीय सरकारले दोस्रो कार्यकाल सुरु गरिरहँदा पर्यटन विकासका लागि गन्तव्यहरू पहिल्याउने, ती ठाउँमा बाटाघाटा बनाउने, प्रचार–प्रसार र सूचना प्रवाहको व्यवस्था मिलाउने काम भएको देखिंदैन । आफ्नो क्षेत्रको विशेषताको उपयोग गर्नेमा ध्यान गएको छैन ।

भिमबहादुर खड्का
हाम्रो समुदायस्तरमा पर्यटन सम्बन्धी बुझाइ फरक छ । पर्यटन विकास भन्ने वित्तिकै बाटा, मन्दिर बनाउने भन्ने आम बुझाइ छ । बाहिरका पाहुनालाई आफ्नो ठाउँमा आकर्षित गर्ने, उनीहरूलाई सुरक्षित वातावरणमा स्वागत–सत्कार गर्नेमा ध्यान जान सकेको छैन ।

यो–यो वर्ष बाहिरका यति मानिस घुम्न आए, त्यसबाट सूपलाई यति आम्दानी भयो भन्ने आँकडा हामी कसैसँग छैन । पर्यटनबाट यति रोजगारी सिर्जना भयो, गरिबी निवारणमा यस्तो सहयोग पुग्यो भनेर देखाउने तथ्यांक त झन् हुने कुरै भएन ।

सूपको आर्थिक समृद्धिमा पर्यटन एउटा मूल आधार हुनेमा विवाद छैन । हामीले यसमा ध्यान दिन नसक्नु ठूलो समस्या हो । पूर्वाधार विकास र तदनुरूपको प्रचारप्रसार त टाढाको कुरा, कुन–कुन क्षेत्रमा कस्तो पर्यटनको सम्भावना छ, वर्षमा कति पर्यटक ल्याउन सकिन्छ भन्ने अध्ययनमा आधारित अनुमान पनि छैन हामीसँग ।

खप्तड जस्ता पहिले नै पहिचान भएका पर्यटकीय गन्तव्यमा वार्षिक रूपमा कति पर्यटकहरू भ्रमण गराउने भन्ने कुरालाई लक्षित गरी त्यही अनुसारको सडक, होटल, सुरक्षालगायत पूर्वाधार विकास आवश्यक हुन्छ । मुलुक संघीय अभ्यासमा रहेको अहिलेको अवस्थामा विशेषतः स्थानीय र प्रदेश सरकारको समन्वय–सहकार्य भए यी कुरा पहिला जस्तो कठिन हुने छैन ।

स्थानीयस्तरमा पर्यटन उद्यमहरू खुल्न आवश्यक छ । विद्यालयमा पर्यटन सम्बन्धी अतिरिक्त विषय जरूरी छ । पर्यटन के हो, यसबाट समुदाय कसरी लाभान्वित हुनसक्छ भन्ने कुराको बुझाइ सबैमा हुनुप¥यो ।

हामीसँग वन उपभोक्ता समिति, आमा समूह, बाल तथा युवा क्लबलगायत समुदायमा आधारित थुपै्र संघ–संस्था छन् । तिनीहरूलाई पर्यटन अनुशिक्षण तथा परिचालन आवश्यक छ । उनीहरूले स्थानीय संस्कृति, भेषभुषा, खानपिनबारे गौरव गराउने वातावरण बनाउन संस्थागत भूमिका खेल्न सक्छन् ।

पर्यटकहरूका लागि आवश्यक पर्ने टुर–ट्रेकिङ गाइड र कुक तयार पार्ने, समुदायलाई सफा र स्वस्थ राख्ने, सांस्कृतिक समूह बनाएर परिचालन गर्ने, स्थानीय परिकार पस्कनेलगायत काममा सामुदायिक संघ–संस्थाहरूको भूमिका धेरै प्रभावकारी हुनसक्छ ।

पर्यटन विकासमा संस्कृति र परिकारको जगेर्ना अति आवश्यक हुन्छ । धेरैजसो संस्कृति, भेषभूषा लोप हँुदै गइरहेका छन् । हामी आफैंले आफ्नो संस्कृति जगेर्नामा गौरव गर्न सकेनौं भने यी चिज अरू कसैले जोगाउँदैन । आफ्नो संस्कृति जोगाउन हामी आफैं सक्रिय भयौं र यसलाई पर्यटनसँग जोड्न सक्यौं भने यसबाट दिगो रूपमा आर्थिक लाभ लिन सकिन्छ ।

खप्तड त यसै पनि पर्यटन–पहलको पर्खाइमा छ । पर्यटन विकासका हामीले ठूल्ठूला कुरा पनि गरेका छौं । यसका लागि नगरी नहुने स–साना काम गर्न भने धेरै बाँकी छन् । हाम्रा स्थानीय सरकारहरूको दोस्रो कार्यकाल सुरु भएको र दोस्रो पटक प्रदेश सरकार गठन हुन लागेको अवसरमा सबैको ध्यान खप्तडतिर आकर्षित गर्न चाहन्छु ।

(खड्का खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक हुन् ।)

चर्चामा

सम्बन्धित समाचार