शनिबार, मंसिर १०, २०७९
  • होमपेज
  • प्रदेश ४
  • फुटपाथ खोल्न खोज्दा सडक व्यापारीको बिचल्ली

फुटपाथ खोल्न खोज्दा सडक व्यापारीको बिचल्ली

  • सोमवार, अशोज ३, २०७९
फुटपाथ खोल्न खोज्दा सडक व्यापारीको बिचल्ली

काठमाडौं — आइतबार बिहान पशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वार अगाडि मोरङकी मीना तामाङ हतार-हतार फूल-प्रसादको सामान मिलाउँदै थिइन् । उनको अनुहारमा डरले घर गरेको स्पष्टै देखिन्थ्यो ।

‘गरिखान पनि डराई-डराई, लुकी-लुकी व्यापार गर्नुपर्छ’, उनले अनलाइनखबरसँग भनिन्, ‘दशैं आइसक्यो । घर जाने पैसा जुटाउन हम्मेहम्मे छ । यसरी कसरी बाँच्न सकिएला र ?’

उनका अनुसार पशुपति क्षेत्रमा कहिले काठमाडौं महानगरको प्रहरी त कहिले पशुपति विकास कोषका कर्मचारीले लखेट्छन् । ‘अस्ति भाग्दा झण्डै गाडीले किचेन । लुक्दा पनि घरभित्रै पसेर सामान खोसेर लैजान्छन्’, मीनाले भनिन् ।

श्रीमान् र दुई छोराका साथ गौशालामा बसिरहेकी उनी दशैंअघि कोठा भाडा र स्कुल फिस तिरेर घर जान महामुश्किल परेको बताउँछिन् ।

मीनासँगै फुटपाथ छेउमै बसेकी थिइन्, ओखलढुंगाकी उषा लुइँटेल । उनी पनि महानगरको प्रहरी बिहानै आउँदैछ कि भनेर वरपर हेर्दै आफ्ना सामान सम्हालिरहेकी थिइन् ।

‘हाम्रो पीडा कसैले सुन्दैन, दुःख आफैंसँग छ’ उनले भनिन्, ‘५०० को सामान बेच्न दिनभर दशतिर लुक्दै, भाग्दै गर्नुपर्छ । कतिबेला आएर लछारपछार पार्दै सामान खोसेर लैजान्छन्, ठेगान हुँदैन ।’

गौशालाको फुटपाथमा कपडा बेच्न बसेकी धनगढीकी रोजिता ढुंगेलले काठमाडौंका मेयर बालेन्द्र (बालेन) साहप्रति चर्को गुनासो गरिन् ।

‘ढाडको अप्रेसन गरेकाले गह्रौं काम गर्न सक्दिनँ, छोरो सानै छ, यही बाटोको व्यापारले जिन्दगी चलाउनुपरेको छ’ उनले भनिन्, ‘कोठाको भाडा नै सात हजार छ, तर नयाँ मेयर आएपछि हामीलाई भोकै सुत्ने बनाउन लागेको छ ।’

महानगरपालिकाले व्यवस्थित ठाउँ देखाइदिए त्यहाँ जान आफू तयार रहेको उनले बताइन् । ‘तर, ठाउँ पनि तोकेको होइन । बेलुका आठ बजेपछि मात्र बेच्न भन्छ, तर त्यतिबेला को मान्छे हुन्छ र व्यापार गर्नु !’

बालाजु, माछापोखरीको सडकपेटीमा तरकारी व्यापार गर्दै आएकी नुवाकोटकी पवित्रा तामाङ गरिबमाथि महानगरपालिका खनिएको बताउँछिन् । ‘व्यापार हुने समयमा आएर ठेला उठाएर लगिदिन्छ’ उनले भनिन्, ‘शहर त धनीको लागि मात्र रहेछ !’

नगर प्रहरीले ३० हजारको ठेलागाढा र ८ हजारको ढक-तराजु खोसेर लगिदिएको उनले बताइन् । ‘महानगरको लागि त्यो कवाडी होला, तर मेरो लागि परिवारको सर्वस्व हो, महानगरले गरिबको पसिना लुटेरै लग्यो ।’

विदेशमा गएर पनि दुःख नै पाएको, आफ्नै देशमा गरिखान खोज्दा झन् हण्डर पाएको पवित्राले बताइन् । सर्लाहीका राजेश रामको नौ जनाको परिवार सडकमा जुत्ता-चप्पल मर्मत गरेर चलेको छ । उनी काठमाडौं बसेको एक दशक भन्दा बढी भयो । पहिला दिनको ८-९ सयसम्म कमाइ हुनेमा अहिले ५०० कमाउन मुश्किल भएको उनले बताए । ‘केही साताअघि नगर प्रहरीले १० हजारको सामान खोसेर लगिदियो’ राजेशले भने, ‘नयाँ मेयरको कडा नियमले हामीलाई त भोकै मार्ने भयो ।’

रामेछापकी गीता कार्कीको पीडा पनि राजेश रामको जस्तै छ । गाडामा फलफूल बेच्दै आएकी उनी भन्छिन्, ‘श्रीमान्लाई उच्च रक्तचाप भएपछि उपचार गराउँदा ऋणमा डुबियो । दुई छोराछोरीलाई काठमाडौंम राखेर पढाइरहेकी छु, दुःख गरिरहेकी छु । तर, हिजोआज महानगरपालिका अत्याचार गरिरहेको छ ।’

सुन्धारा चोकमा चुरोट, पराग र पानी बेच्ने दोलखाकी देवी बुढाथोकी बिरामी छिन् । छाला रोग सोरासिसले गर्दा शरीरमा घाउ आउने, पाक्ने गर्छ । सडकमा आएर व्यापार नगरे उनले औषधि नै किनेर खान पाउँदिनन् ।

बुढाथोकीका श्रीमान् बानेश्वरको एक संस्थामा गाडी चलाउँछन् । दुई छोराको शिक्षा र घर खर्च मुश्किलले चलेको छ । ‘पेटीमा व्यापार गर्न पनि दिन छाडे’ उनले भनिन्, ‘अब के गरेर जीविका चलाउने, औषधि खाने !’

यी प्रतिनिधि पात्र मात्र हुन्, जसले सडकसँग गुजारा जोडिएका हजारौं नागरिकले सास्ती पाएको देखाउँछन् । यो विषयमा लेख्दै बोल्दै आएका शहरी योजनाविद् डा. पीताम्बर शर्मा कालो चश्मा लगाएका काठमाडौंका मेयरले संसार नदेखेको जस्तो गरेको बताउँछन् ।

‘शहर धनीको मात्र होइन गरिबको पनि हो’ उनी भन्छन्, ‘विकसित देशमा निश्चित स्थान र समय तोकेर यस्ता अनौपचारिक व्यवसाय गर्न दिने चलन भएको कुरा काठमाडौंका मेयरलाई पक्कै थाहा होला । त्यसअनुसार, व्यवस्थापन पो गर्ने हो, गरिबलाई सडकमा निषेध गर्ने त हैन नि !’

महानगरपालिकाले फुटपाथका व्यापारीप्रति सहानुभूति राखेर र संवेदनशील भएर काम गर्नुपर्ने डा. शर्मा बताउँछन् । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर भने फुटपाथको व्यापारलाई विकल्प दिन सम्भव नभएको बताउँछन् ।

‘बहाल तिरेर बसेका व्यापारीलाई हटेर जाऊ भन्दा महानगरले विकल्प दिनुपर्छ’ उनले भने, ‘मान्छे हिंड्ने फुटपाथमा व्यापार गर्नेहरूको दायित्व महानगरले लिन सक्ने कुरा होइन ।’

समाजशास्त्री डा. मीना उप्रेती फुटपाथका व्यवसायीसँग महानगरले द्वन्द्व बढाउने नभई, दीर्घकालीन समाधान खोज्नुपर्ने बताउँछिन् । ‘सडकको व्यापारले बाँच्ने मान्छे शहरमा कति छन्, अध्ययन गरेर समाधान खोज्नुपर्छ’ उनी भन्छिन्, ‘निमुखा नागरिकको जीविकोपार्जनमा लाठी देखाएर हैकम जमाउनु उचित होइन ।’

चर्चामा

सम्बन्धित समाचार