दोस्रो विश्वयुद्धको दौरान बेलायती सेना दक्षिण पूर्व एसियामा हार्न थालेका थिए । जापानले लगातार छिमेकी राष्ट्रहरूमाथि आक्रमण गरिरहेको थियो । यही दौरान मित्र राष्ट्रहरूले बेलायतमाथि भारतीयको समर्थन प्राप्त गर्नका लागि पहल गर्न दबाब दिन थालेका थिए । युद्धमा भारतीयको सहयोग बेलायतका लागि निकै जरुरी थियो । बेलायतले बिना कुनै परामर्श भारतलाई युद्धमा झोसिदियो । यसले काँग्रेस र बेलायत सरकारबीच विवाद पैदा भयो । यही गतिरोध अन्त्य गर्नका लागि मार्च १९४२ मा बेलायती संसद्का सदस्य सर स्टेफर्ड क्रिप्सलाई भारत पठाइयो । यसलाई क्रिप्स मिसन पनि भनिन्छ ।
यस मिसनमा यस्ता कयौँ प्रस्तावहरू थिए जुन भारतलाई स्वीकार थिएन । यसले गर्दा यो मिसन सफल हुन सकेन । क्रिप्स मिसनको असफलतापछि काँग्रेस कमिटीले ८ अगस्त १९४२ मा मुम्बईको गोवालिया ट्याङ्क मैदानमा एक बैठक बोलायो । उक्त बैठकले भारतको पूर्ण स्वतन्त्रताका लागि बेलायती शासनलाई भारतबाट हटाउनु पर्ने प्रस्ताव पास गर्यो ।
महात्मा गान्धीले यस सभामा ‘गर या मर’ को नारा दिए । अर्थात् यस आन्दोलनबाट हामी या त स्वतन्त्रता प्राप्त गर्छौँ या हाम्रो ज्यान दिन्छौँ । यो नारा निकै लोकप्रिय बन्यो । सन् १९४२ मा भारत छोडो आन्दोलन सुरु भयो ।
अर्को दिन काँग्रेसका लगभग सबै नेता गिरफ्तार भए । उनीहरूलाई अलग अलग जेलमा राखियो । बेलायत सरकारले काँग्रेस पार्टीमाथि प्रतिबन्ध नै लगायो । गान्धीलाई पुणेको आगा खान प्यालेसमा कैद गरियो । पुरै देशमा हडताल र विरोध प्रदर्शन हुन थाल्यो ।
मजदुरले कारखानामा काम गर्न अस्वीकार गरे । सरकारले आन्दोलनलाई दबाउन कडा कदम उठायो । जसले भारतीयहरूमा आक्रोश थप्यो । कयौँ ठाउँ प्रहरीहरू झडप हुन थाल्यो ।
‘भारत छोडो आन्दोलन’ ले भारतलाई स्वतन्त्रता नमिले पनि यस आन्दोलनले बेलायत सरकारलाई भारतको स्वतन्त्रताको बारेमा सोच्न बाध्य बनायो । त्यही भएर यस आन्दोलनलाई ‘भारतको स्वतन्त्रताको अन्तिम महान् प्रयास’ पनि भनिन्छ । अन्ततः १५ अगस्त १९४७ मा भारत स्वतन्त्र भयो ।