बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • समाचार
  • निषेधाज्ञाका बेला जुवा तासमा मस्त, ७७ जुवाडे पक्राउ

निषेधाज्ञाका बेला जुवा तासमा मस्त, ७७ जुवाडे पक्राउ

  • बुधबार, जेष्ठ २६, २०७८
निषेधाज्ञाका बेला जुवा तासमा मस्त, ७७ जुवाडे पक्राउ

कोभिड महामारीका कारण देशका अधिकांश भागमा निषेधाज्ञा जारी छ । तर, जुवाडेका जुवाखाल चौबीसै घन्टा खुला छ । जहाँ प्रत्येक दिन करोडको दाउ लाग्ने गर्छ । हार र जितको चक्र पनि सोही रफ्तारमा अघि बढ्ने गरेको प्रहरीले जनाएको छ । केही साताको अन्तरमा काठमाडौंका केही जुवाखालमा गरेको प्रहरीको छापाले त्यसलाई पुष्टि गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले निषेधाज्ञाको अवधिमा काठमाडौंभित्र जुवा मौलाएको बताए । ‘प्रहरीले प्रत्येक दिनजसो कहीँ न कहीँ छापा मार्दै आएको छ । घटनास्थलबाट पाँचदेखि २५ जनासम्म पक्राउ परेका छन् । नगद पनि उत्तिकै बरामद भएका छन् । यी तथ्यबाट के देखिन्छ भने काठमाडौंभित्र निषेधाज्ञाको अवधिमा जुवा मौलाएको छ ।’

प्रहरीका अनुसार निषेधाज्ञाको करिब ४० दिनमा काठमाडौंबाट मात्रै ७७ जुवाडे पक्राउ परेका छन् । पक्राउ परेकामध्ये अधिकांश व्यापारी छन् । उनीहरूविरुद्ध प्रहरीले जुवा ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको छ ।

यस अवधिमा जुवासँग सम्बन्धित आठवटा मुद्दा प्रहरीले दर्ता गरेको छ । ‘पक्राउ परेका अधिकांश व्यापारी छन् । बरामद परिचयपत्रका आधारमा उनीहरूमध्ये अधिकांश मेडिकल सामग्रीका व्यापारमा संलग्न रहेको देखिन्छ । सबैलाई जुवा ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको छ,’ एसपी बस्नेतले भने ।

यो घटनासंगै जुवाडेले अस्पताल र हेल्थ क्लबको परिचयपत्र प्रयोग गरेको पुष्टि भएको छ । खालमा पक्राउ परेकाबाट बरामद परिचयपत्रका आधारमा यस्तो तथ्य खुलेको हो । प्रहरीका अनुसार जुवा खालमा पक्राउ परेकाबाट अस्पताल, हेल्थ क्लब, हेल्थ पोस्ट, हेल्थ क्लिनिक मात्र नभई सहकारीको समेत कार्ड बरामद भएका छन् ।

त्यसबाहेक मेडिकल सामग्री सप्लायर्सको कार्ड पनि बरामद भएका छन् । पक्राउ परेकामध्ये जग्गा कारोबारी र व्यापारी नै धेरै भएको एसपी बस्नेतले बताए । ‘पक्राउ परेकामध्ये केही जग्गाका कारोबारी र केही व्यापारी छन् । तर, उनीहरूबाट अस्पताल, हेल्थ क्लब, हेल्थ पोस्ट, हेल्थ क्लिनिक तथा सहकारीको समेत कार्ड बरामद भएका छन्,’ उनले भने । समाचार आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन ।

चर्चामा

सम्बन्धित समाचार