शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • निर्धक्क बाहिर निस्कन्छन् रौतहटका संक्रमित

निर्धक्क बाहिर निस्कन्छन् रौतहटका संक्रमित

  • बिहिबार, बैशाख ९, २०७८
निर्धक्क बाहिर निस्कन्छन् रौतहटका संक्रमित

९ वैशाख, रौतहट — कोरोनाको दोस्रो लहरले रौतहटमा हालसम्म ३६ जना संक्रमित भएका छन् । वैशाख १ देखि ८ गतेसम्मको तथ्यांकले रौतहटमा कोरोनाका नयाँ बिरामी प्रत्येक दिन थपिँदै गएको देखाउँछ ।

कोभिड–१९ को दोस्रो लहरले संक्रमित थपिंदै जाँदा स्थानीय सरकारले भने पहिले जस्तो चासो देखाएका छैनन् । रौतहटका कुनै पनि स्थानीय तहले क्वारेन्टिन सञ्चालन गरेको देखिएको छ ।

निर्धक्क बाहिर निस्कन्छन् संक्रमित

संस्थागत क्वारेन्टिन सञ्चालन नभएपछि संक्रमितहरु घरमै बसिरहेका छन् । आफ्नै घरमा स्वास्थ्य मापदण्ड पूरा गरेर क्वारेन्टिनमा बस्न जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई निर्देशन दिए पनि संक्रमितले भने त्यसलाई अटेर गरेका छन् ।

रौतहट सदरमुकाम गौरको भन्सार क्षेत्रमा मुख्य सडकसँगै जोडिएको एक घरमा क्वारेन्टिन बसेका एक संक्रमित बुधबार साँझ घर अगाडिको चिया पसलमा देखिए । कोरोना संक्रमित भएर होम क्वारेन्टिन बसेपछि अपनाउनु पर्ने न्यूनतम मापदण्डलाई समेत ती संक्रमितले पूरा गरेका छैनन् । सार्वजनिक स्थानमा बसेका ती संक्रमितलाई केहीबेरपछि सुरक्षाकर्मीले घर पठाएका थिए ।

आफू संक्रमित हुँदासमेत व्यापार व्यवसायलाई निरन्तरता दिएका ती संक्रमितकै कारण गौर नगरपालिका–१ का उनका एक कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको छ । संक्रमितको घरमा ओहोरदोहोर गर्ने व्यक्तिहरुका कारण समुदाय नै उच्च जोखिममा परेको छ । संक्रमितहरु विभिन्न कामका लागि बैंक, बजार तथा भिडभाड हुने स्थानमा जाने गरेका छन् ।

‘मैले स्वयं फोन गरेर ती संक्रमित व्यक्तिलाई घरबाट बाहिर ननिस्कनु भनेको थिए,’ गौर नगरपालिकाका मेयर अजय गुप्ताले भने, ‘ती संक्रमित पटक–पटक घरबाहिर निस्किएको गुनासो आएको छ ।’

जिल्ला प्रशासन कार्यालयले रौतहटका सबै स्थानीय तहहरुलाई क्वारेन्टन सञ्चालन गर्न भने पनि कुनै पालिकाले पनि काम शुरु गरेका छैनन् । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले प्रत्येक पालिकाहरुमा क्वारेन्टिन स्थापना, गौर अस्पतालमा २५, धरहरीमा १ सय र चन्द्रनिगाहपुरमा ४० बेडको आइसोलेसन सेन्टर स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

होम क्वारेन्टिनमा बसेकाहरुले अटेर गरेको गुनासो बढेकाले चाडैं स्थानीय तहहरुलाई समन्वय गरेर संस्थागत क्वारेन्टिन र आइसोलेसन शुरु गर्ने तयारी रहेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार