बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाचार
  • एसियाकै प्रभावशाली युवाको सूचीमा गौरिका

एसियाकै प्रभावशाली युवाको सूचीमा गौरिका

  • बुधबार, बैशाख ८, २०७८
एसियाकै प्रभावशाली युवाको सूचीमा गौरिका

पौडीमा तहल्का मच्चाइरहेकी गौरिका सिंह प्रभावशाली युवाहरूको सूची ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा परेकी छन् ।स्वीमर गौरिका सिंह प्रभावशाली युवाहरूको सूची ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा परेकी छन् । चर्चित अमेरिकी म्यागजिन फोर्ब्सले मंगलबार सार्वजनिक गरेको सूचीमा गौरिका ‘इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स’ तर्फ एसियाकै प्रभावशाली ३० युवामा परेकी हुन् ।
सात वर्षयता नेपाली पौडीमा सनसनीपूण प्रदर्शन गरिरहेकी १८ वर्षीया गौरिकालाई प्रभावशाली युवामा समावेश गर्दै फोर्ब्सले लेखेको छ, ‘गौरिका सिंह नौ वर्ष भएदेखि नै पौडीमा छिन् र १२ वर्षदेखि नै नेपालको लागि प्रतिस्पर्धा गरिरहेकी छन् । दक्षिण एसियाली खेलकुद २०१९ मा चार स्वर्ण, दुई रजत र तीन कांस्यपदक जितिन् । उनी रियो ओलम्पिक २०१६ मा सबभन्दा कम उमेरकी खेलाडी थिइन् । उनी टोकियो ओलम्पिक २०२० लाई पनि छनोट भएकी छन्, जुन स्थगित भएर जुलाई–अगस्ट २०२१ मा हुदैछ । पौडीबाहेक उनी समाजसेवामा पनि संलग्न छिन् । उनी गैरनाफामूलक संस्थाहरू माइती नेपाल र शान्ति एजुकेसन इनिसिएटिभकी सद्‍भावना दूत हुन् ।’

उनीसहित ३० वर्षमुनिका ३० जना प्रभावशाली युवालाई फोर्ब्सले थर्टी अन्डर थर्टी एसियाको इन्टरटेन्मेन्ट एन्ड स्पोर्टस् विधामा समावेश गरेको हो । गायक/गायिकासहित मनोरन्जन उद्योगमा संलग्न युवाहरू र खेलाडीलाई यस विधामा राखिएको छ । फोर्ब्सको यस विधामा गत वर्ष नेपाली एमेच्योर गल्फर प्रतिमा शेर्पा परेकी थिइन् ।

यसपाली गौरिकासहित दुई नेपाली युवा फोर्ब्सको सूचीमा परेका छन् । २९ वर्षीय प्रकाश काइराला ‘फाइनन्स एन्ड भेन्चर क्यापिटल’ तर्फ महादेशकै प्रभावशाली ३० युवामा पुगेका हुन् । फिनलिट नेपालका यी संस्थापकले सन् २००९ यता वितीय साक्षरताको अभियान चलाइरहेका छन् ।

इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स, सोसल इम्प्याक्ट, हेल्थ केयर एन्ड साइन्स, फाइनन्स एन्ड भेन्चर क्यापिटल, आर्टस्, इन्टरप्राइज टेक्नोलोजी, कन्ज्युमर टेक्नोलोजी, रिटेल एन्ड इकमर्स, इन्डस्ट्री म्यानुफ्याक्चरिङ एन्ड इनर्जी र मिडिया, मार्केटिङ एन्ड एडभरटाइजिङ गरी दस विधामा फोर्ब्सले ३० वर्षमुनिका प्रभावशाली युवाको सूची निकालेको हो । हरेक विधामा ३०–३० जनालाई छनोट गरिएको छ । यसमा २ हजार ५ सय बढी मनोनयनमा परेको फोर्ब्सले जनाएको छ ।

‘अत्यन्तै खुसी’

फोर्ब्सको सूचीमा छनोट भएपछि गौरिकाले आफ्नो इन्स्टाग्राममा पोष्ट गरेकी छन्, ‘अत्यन्तै खुसी छु । फोर्ब्स थर्टी अन्डर ३० एसियाको क्लास अफ २०२१ मा छनोट भएको घोषणा गर्न पाउँदा एकदमै खुसी छु । म साँच्चिकै प्रतिभावान् र धैर्य मानिसहरूसँगै सम्मानित भएकी छु । र, म खेलकुदमा महिला र मेरो देश दुवैको प्रतिनिधित्व गर्न सक्षम भएकी छु ।’ गरिमा राणा र पारस सिंहका पहिलो सन्तान गौरिका स्वदेशमा जन्मिएपछि लन्डनमा हुर्किइन् र उतै स्वीमिङ करिअरलाई अगाडि बढाएकी हुन् ।

कोरोना भाइरसको महामारीको कारण स्वीमिङ पुलमा ट्रेनिङ गर्नबाट लामो समय बञ्चित भएपछि गौरिका गत माघमा स्वदेश आएकी थिइन् । टोकियो ओलम्पिकको तयारीलाई जोड दिँदै उनले ५६ दिनको स्वदेश बसाइमा कालो पुलस्थित बेस्ट भेन्यूको हिटिङ सिस्टम भएको स्वीमिङ पुलमा अभ्यास गरेकी थिइन् । चैत २० मा लन्डन फर्केपछि उतै ट्रेनिङ गरिरहेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार