बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • प्रदेश ७
  • फर्निचर उद्योगमा आगलागीः ठूलो दुर्घटनाबाट जोगियो धनगढी

फर्निचर उद्योगमा आगलागीः ठूलो दुर्घटनाबाट जोगियो धनगढी

  • शनिबार, फाल्गुन २२, २०७७
फर्निचर उद्योगमा आगलागीः ठूलो दुर्घटनाबाट जोगियो धनगढी

धनगढी– धनगढी उपमहानगरपालिका ४ चटकस्थित आगलागी भएको फर्निचर उद्योगदेखि नेपाय आयल निगमको प्रादेशिक डिपोको दुरी ५० मिटर मात्रै छ। भने आगलागी भएको स्थानदेखि करिब २५ मिटरको दुरीमा ६ लेन सडकमै लस्करै पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर पार्किङ हुँदै आएका छन्।

करिब २ घण्टाको अथक प्रयासपछि आगो नियन्त्रणपछि आयल नियल निगमसहित धनगढी बजार जोगिएको हो। अलोक मल्टि कन्सर्न प्रालिले सञ्चालनको तयारीमा रहेको उद्योग भएको आगलागी नियन्त्रण वाहिर नगएका कारण धनगढी ठूलो दुर्घटनाबाट जोगिएको चटकपुरका स्थानीय बिन्दुप्रसाद भट्टले बताए।

‘आगलागी भएको स्थानबाट २५ मिटरको दूरीमा पेट्रोलका ट्याङ्करहरु राखिएका थिए’, उनले भने, ‘यदि त्यो आगोले ट्याङ्क अथवा डिपोलाई छोएको भए के हुन्थ्यो धनगढीको हालत ?’ डिपो सार्न र पार्किङ हटाउनका लागि हामीले पटक–पटक आग्रह गर्दा पनि सरोकारवाला निकाय वेवास्ता गरिरहेको उनको भनाइ छ।

वैज्ञानिक दृष्टिकोणबाट समेत निगमको सुदूरपश्चिम प्रादेशिक डिपो अनुपयुक्त स्थानमा रहेको छ। सरकारी मापदण्ड अनुसार पनि पेट्रोलियम पदार्थको डिपो कम्तीमा १५ मिलोमिटरको दुरीमा हुनुपर्छ। तर धनगढीमा भने मानव वस्तीकै बीचमा निगमको डिपो रहेको छ।

मानवीय सुरक्षाको दृष्टिकोणबाट जोखिमयुक्त ठाउँमा रहेको डिपोलाई सार्नु पर्ने देखिएको बेला निगमले ढिलाइ गरिरहेको छ। तर नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख जीतरञ्जन दासले त्यस विषयमा छलफल भइरहेको बताए। ‘ट्याङ्करको पार्किङकलाई समेत व्यवस्थित गर्न हामी लागि रहेका छौं,’ उनले भने, ‘अब छिट्टै त्यसको समाधान हुन्छ।’

निर्माणाधिन मोहना पुल अत्तरिया ६ लेन सडकमा लस्करै पार्किङ हुने ट्याङ्कले पनि जोखिम निम्त्याउने सम्भावना उत्तिकै बढी छ। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरीक्षक वामदेव गौतमले भने, ‘सवारी धनीहरु जरिवाना तिरिरहेका छन् तर ठाँउ खोजिरहेका छैनन्। हामी पनि लागेका छौं, सबै निकायलाई आग्रह गरेर त्यो समस्या समाधान गर्छु।’

सडकमै हुने ट्याङ्कर पार्किङलाई हटाउनका लागि यहाँ सञ्चार माध्यमलगायतले पटक–पटक आग्रह तथा खबरदारी गर्दा पनि सरोकारवाला निकायले नजरअन्दाज गर्दै आएका छन्।

निगमले पार्किङका लागि एक पटक जग्गा समेत भाडामा लिएको थियो। तर स्थानीयको विरोधका कारण सो स्थानमा पार्किङ हुन नसकेपनि वैकल्पिक उपाय खोज्न अझै ढिलाइ भइरहेको छ। कैलालीका साहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले जग्गा खोज्ने काम निगमको भएको बताए। उनले भने, ‘हामीले सहयोग गर्ने काम गर्दै छौं।’ #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार