सोमवार, असार १५, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • बडीमालिकामा एक टोल एक अभियान्तामार्फत डिजिटल साक्षरता

बडीमालिकामा एक टोल एक अभियान्तामार्फत डिजिटल साक्षरता

२७ डिजिटल अभियान्ता समुदायमा परिचालित

  • सोमवार, असार १५, २०८३
सेयर गर्नुहोस् :
बडीमालिकामा एक टोल एक अभियान्तामार्फत  डिजिटल साक्षरता

बाजुरा– बडीमालिका नगरपालिकाले डिजिटल प्रविधिको पहुँच समुदायस्तरसम्म विस्तार गर्ने उद्देश्यले सञ्चालन गरेको ‘गाउँले गुरु (डिजिटल अभियान)’ अन्तर्गत ‘एक टोल एक अभियान्ता’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको छ। अभियानअन्तर्गत २७ जना डिजिटल अभियान्तालाई टोल–टोलमा परिचालन गरी नागरिकलाई डिजिटल साक्षरता प्रदान गर्ने कार्य भइरहेको छ। एक टाेल एक अभियान्ता र एक गाउँलेगुरु मार्फत डिजीटल साक्षरता अभियान संचालन गरिएकाे नगरपालिकाले जनाएकाे छ । जसमा १० जना गाउँले गुरुले बिध्यालय स्तरमा साक्षरता अभयान चलाएका थिए भने २७ जना अभियान्ताहरुले नगरपालिकाकाे डिजीटल प्रणाली र सरकारले प्रयाेगमा ल्याएका एप्स लगायतका बारेमा जानकारी दिएका छन ।  नगरपालिकाका अनुसार स्थानीय स्तरमै डिजिटल सीप भएका अभियान्तामार्फत समुदायमा पुगेर नागरिकलाई मोबाइल तथा इन्टरनेटको आधारभूत प्रयोग, सुरक्षित डिजिटल व्यवहार, अनलाइन सेवाको उपयोग र प्रविधिको प्रभावकारी प्रयोगबारे व्यवहारिक अभ्याससहित प्रशिक्षण दिइएको छ। स्थानीय मेन्टरको माध्यमबाट समुदायमै डिजिटल ज्ञान विस्तार गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

No description available.

परिचालित डिजिटल अभियान्ताले नागरिकलाई बडीमालिका नगरपालिकाले उपलब्ध गराउँदै आएका नागरिक गुनासो व्यवस्थापन प्रणाली, प्रहरी एप, नागरिक एप, इ–सेवा लगायतका डिजिटल सेवाको प्रयोग गर्ने तरिका सिकाएकाे फाेकल प्रसन कृष्ण खडंकाले बताएका छन्। साथै सामाजिक सञ्जालको सुरक्षित प्रयोग, डिजिटल ठगीबाट जोगिने उपाय, OTP, PIN तथा पासवर्ड सुरक्षित राख्ने विधिबारे पनि सचेतना प्रदान गरिएको उनले बताए । अभियानमा आधुनिक कृत्रिम बुद्धिमत्ता एआइ सम्बन्धी आधारभूत जानकारीसमेत समेटिएको खड्काले बताएका छन । सहभागीलाई च्याट जेपिटी लगायतका  उपकरणको प्रयोग गर्ने तरिका, सिकाइ चौतारी तथा इ–लाइब्रेरी जस्ता डिजिटल सिकाइ प्लेटफर्मको उपयोगबारे जानकारी र अभ्यास गराइएको नगरपालिकाले जनाएको छ। यसले विद्यार्थी तथा सर्वसाधारणलाई नयाँ प्रविधिसँग जोड्दै दैनिक जीवनमा डिजिटल साधनको प्रभावकारी उपयोग गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 यस्तै, अभियानअन्तर्गत बडीमालिका नगरपालिकाभित्रका १० वटा विद्यालयमा विद्यार्थी लक्षित डिजिटल साक्षरता कार्यक्रम समेत सञ्चालन गरिएको छ। कार्यक्रममा डिजिटल सिकाइ सामग्रीको प्रयोग, इन्टरनेटमार्फत अध्ययन, सिकाइ चौतारीको उपयोग तथा AI प्रविधिको जिम्मेवार प्रयोगबारे विद्यार्थीलाई व्यवहारिक अभ्यास गराइएको छ। नगरपालिकाले स्थानीय युवालाई नै डिजिटल अभियान्ताका रूपमा परिचालन गरेर सञ्चालन गरेको यो अभियानले डिजिटल विभाजन घटाउँदै नागरिकलाई सरकारी तथा अन्य डिजिटल सेवाको सहज प्रयोगकर्ता बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ। साथै प्रविधिको पहुँचलाई उपकरण प्रयोगमा मात्र सीमित नराखी नागरिकको डिजिटल क्षमता अभिवृद्धि गर्ने दिशामा अभियानले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

दुर्गम जिल्ला बाजुरामा डिजिटल प्रविधिको पहुँच विस्तार अझै पनि चुनौतीपूर्ण रहेको अवस्थामा बडीमालिका नगरपालिकाले समुदाय र विद्यालय केन्द्रित व्यवहारिक डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गरेर स्थानीय नागरिकमा प्रविधिमैत्री संस्कृतिको विकास गर्ने महत्वपूर्ण प्रयास थालेकोमा स्थानियले प्रसंसा समेत गरेका छन। सूचना प्रविधिको पहुँच बढ्दै गए पनि त्यसको प्रभावकारी प्रयोग गर्ने सीपको अभाव रहेको यथार्थलाई मध्यनजर गर्दै सञ्चालन गरिएको यो कार्यक्रमलाई स्थानीय तहमा डिजिटल रूपान्तरणतर्फको एक अर्थपूर्ण पहलका रूपमा हेरिएको छ।

No description available.

नगरपालिकाले नौवटै वडामा सञ्चालन गरेको कार्यक्रममार्फत ७२९ जना महिला र २९३ जना पुरुष गरी कुल १ हजार २२ जना नागरिकलाई व्यवहारिक डिजिटल साक्षरता प्रदान गरेको छ। कार्यक्रम अन्तर्गत डिजिटल उपकरणको सुरक्षित प्रयोग, अनलाइन माध्यमबाट सूचना खोज्ने तरिका, डेटा संकलन, डिजिटल अभिलेखीकरण, रिपोर्टिङ प्रणाली, विद्यालयमा प्रविधिमैत्री सिकाइ तथा सार्वजनिक सेवामा डिजिटल प्रणालीको उपयोगबारे व्यवहारिक प्रशिक्षण दिइएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका फाेकल प्रसन कृष्ण खड्काका अनुसार कार्यक्रम केवल तालिममा सीमित नरही योजना निर्माण, प्रशिक्षक तयारी, फिल्ड अभ्यास, अनुगमन, मूल्याङ्कन र प्रमाण संकलनसम्मको चरणबद्ध प्रक्रियामा सञ्चालन गरिएको बताएका छन । उनका अनुसार सहभागीहरूले सिकेको सीपलाई व्यवहारमै प्रयोग गर्न सकून् भन्ने उद्देश्यले प्रयोगात्मक अभ्यासलाई विशेष प्राथमिकता दिइएको बताए ।

डिजिटल शिक्षा केवल कम्प्युटर वा मोबाइल चलाउन सिकाउने विषय मात्र नभई सूचना पहुँच, सेवा प्राप्ति, आर्थिक अवसर, शिक्षा र सुशासनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यस कार्यक्रमको महत्व अझ बढेको देखिन्छ। पछिल्ला वर्षहरूमा सरकारी सेवा, बैंकिङ, सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य, कृषि तथा शैक्षिक सेवासमेत क्रमशः डिजिटल माध्यममा आधारित बन्दै गएका छन्। तर आवश्यक डिजिटल सीपको अभावका कारण ग्रामीण क्षेत्रका धेरै नागरिक अझै पनि ती सेवाबाट पूर्ण रूपमा लाभान्वित हुन सकेका छैनन्। यस्तै अवस्थालाई परिवर्तन गर्ने उद्देश्यले नगरपालिकाले यो अभियान सञ्चालन गरेको जनाएको छ।

No description available.

नगर प्रमुख अमर खड्काले डिजिटल साक्षरता भविष्यको आवश्यकता मात्र नभई वर्तमानको अनिवार्य सीप भएको बताए। “हामी प्रविधिमैत्री स्थानीय सरकार निर्माण गर्ने अभियानमा छौँ। नागरिकले डिजिटल माध्यमबाट सेवा लिन, सूचना प्राप्त गर्न र आफ्ना दैनिक काम सहज बनाउन सकून् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेका हौँ। यसले आगामी दिनमा नगरपालिकाको सेवा प्रवाहलाई अझ प्रभावकारी र पारदर्शी बनाउने विश्वास लिएका छौँ,” उनले भने।

उपप्रमुख नन्दा कुमारी थापाले कार्यक्रममा महिलाको उच्च सहभागितालाई सकारात्मक उपलब्धिका रूपमा व्याख्या गरिन्। उनका अनुसार ग्रामीण महिलामा डिजिटल सीप विकास हुँदा उनीहरूको सूचना, शिक्षा, उद्यमशीलता तथा सरकारी सेवामा पहुँच थप सहज बन्नेछ। “डिजिटल सीपले महिलाको आत्मनिर्भरता बढाउनुका साथै सामाजिक सहभागिता पनि विस्तार गर्छ,” उनले भनिन्।

प्रमुख प्रशासकीय अधिकृत लोकराज जोशीले डिजिटल साक्षरताले स्थानीय सरकार र नागरिकबीचको दूरी घटाउने बताए। “आज अधिकांश सार्वजनिक सेवा क्रमशः अनलाइन प्रणालीमा आधारित हुँदै गएका छन्। नागरिक आफैँले डिजिटल माध्यम प्रयोग गर्न सक्ने भएपछि सेवा लिन समय, खर्च र झन्झट कम हुन्छ। यसले सुशासन प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउँछ,” उनले बताए।

 कार्यक्रममा सहभागी भएका समुदाय र विद्यालयबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको नगर प्रवक्ता धर्मराज पाध्यायले बताए । स्थानीयले यस्ता तालिमलाई निरन्तरता दिन, विद्यार्थी, शिक्षक, कृषक, महिला समूह तथा ज्येष्ठ नागरिकलाई समेत समेटेर थप विस्तृत रूपमा सञ्चालन गर्न माग गरेका छन्। “डिजिटल साक्षरता अब विलासिताको विषय होइन, दैनिक जीवनको आवश्यकता बनिसकेको छ। त्यसैले नगरपालिकाले आगामी वर्षमा पनि यस्ता कार्यक्रमलाई थप विस्तार गर्ने तयारी गरेको छ,” उनले जानकारी दिए।

स्थानीय समुदायका अनुसार डिजिटल सीप प्राप्त भएपछि अनलाइन फाराम भर्ने, सरकारी सूचना हेर्ने, बैंकिङ सेवा प्रयोग गर्ने, अध्ययन सामग्री खोज्ने तथा आफ्ना काम आफैँ गर्न सक्ने आत्मविश्वास बढेको बताएका छन। विशेषगरी महिलाहरूले मोबाइलको प्रयोगलाई सामाजिक सञ्जालमा सीमित नराखी शिक्षा, उद्यम र सरकारी सेवासँग जोड्न थालेको अनुभव सुनाएका छन्।

दुर्गम क्षेत्रमा डिजिटल विभाजन अझै पनि ठूलो चुनौतीका रूपमा रहेको अवस्थामा बडीमालिका नगरपालिकाले सञ्चालन गरेको यो अभियानलाई स्थानीय तहबाट डिजिटल समावेशीकरणको प्रभावकारी अभ्यासका रूपमा लिन सकिन्छ। प्रविधिको पहुँचसँगै त्यसको सही प्रयोग गर्ने सीप विकास गर्न सके मात्र डिजिटल नेपालको अवधारणा व्यवहारमा सफल हुने भएकाले यस्ता कार्यक्रमलाई दीर्घकालीन रूपमा निरन्तरता दिनुपर्ने आवश्यकता स्थानीयवासीले समेत औँल्याएका छन्।

चर्चामा

सम्बन्धित समाचार