बुधबार, असार १७, २०८३
  • होमपेज
  • खेलकुद
  • एम्बाप्पेको २ गोलमा साविक उपविजेता फ्रान्स राउन्ड अफ १६

एम्बाप्पेको २ गोलमा साविक उपविजेता फ्रान्स राउन्ड अफ १६

  • बुधबार, असार १७, २०८३
सेयर गर्नुहोस् :
एम्बाप्पेको २ गोलमा साविक उपविजेता फ्रान्स राउन्ड अफ १६

काठमाडौं–फिफा विश्वकप २०२६ को नकआउट चरणमा फ्रान्सले स्विडेनलाई पराजित गर्दै राउन्ड अफ १६ मा प्रवेश गरेको छ। न्युयोर्कको न्यु जर्सी स्टेडियममा भएको खेलमा साविक उपविजेता फ्रान्सले स्विडेनलाई ३-० ले हराएको हो।

फ्रान्सका लागि कप्तान केलियन एम्बाप्पेले २ र ब्राड्ले बार्कोलाले १ गोल गरे।

खेलको २० औं मिनेटमा केलियन एम्बाप्पेले वान बाइ वानमा गरेको गोल अफसाइड घोषित भयो। अन्तत: पहिलो हाफको ४५ औं मिनेटमा केलियन एम्बाप्पेले उत्कृष्ट फिनिस गर्दै फ्रान्सलाई अग्रतामा ल्याए। पहिलो हाफको सुरुवाती समयबाट नै स्विडेनमाथि फ्रान्स हाबी भइरहेको थियो।

पहिलो हाफमा १-० को अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा ५३औं मिनेटमा ब्राड्ले बार्कोलाले गोल गरेका हुन् । उनको गोलसँगै फ्रान्स २–० को अग्रतामा आयो।

खेलको ७४ औं मिनेटमा केलियन एम्बाप्पेले व्यक्तिगत दोस्रो र टिमको लागि तेस्रो गोल गरे। यो उनको विश्वकपको १८ औं गोल हो।
अर्जेन्टिनाका लियोनल मेस्सीले हालसम्म विश्वकपमा १९ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड राखिरहेका छन्। त्यही रेकर्डलाई पछ्याउँदै गरेका फ्रान्सका कप्तान केलियनले विश्वकपमा १८ औं गोल गरेका हुन्।

स्विडेनले केही प्रयासहरू गर्यो तर सफल भने हुन सकेन। फ्रान्सले राउन्ड अफ १६ मा पराग्वेसँग खेल्नेछ। यी दुई टोलीले फिलाडेल्फिया स्टेडियममा जुलाई ४ मा खेल्नेछन्। आजको पहिलो नकआउट खेलमा नर्वेले आइभरी कोस्टलाई २-१ले हराउँदै राउन्ड अफ १६ मा स्थान बनाएको थियो।

चर्चामा

सम्बन्धित समाचार