बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • अवैध सम्बन्धले निम्त्याएको कैलाली ‘व्यापारी हत्याकाण्ड’, आरोपित युवती भन्छिन्– धेरै सताएपछि हत्याको योजना बनाए

अवैध सम्बन्धले निम्त्याएको कैलाली ‘व्यापारी हत्याकाण्ड’, आरोपित युवती भन्छिन्– धेरै सताएपछि हत्याको योजना बनाए

  • बिहिबार, फाल्गुन २०, २०७७
अवैध सम्बन्धले निम्त्याएको कैलाली ‘व्यापारी हत्याकाण्ड’, आरोपित युवती भन्छिन्– धेरै सताएपछि हत्याको योजना बनाए

धनगढी–फागुन १५ गते कैलालीको गोदावरी नगरपालिका–५ गेटीमा मृत फेला परेका ३६ वर्षीय शिवचरण रानाको हत्यामा संलग्न अभियुक्तले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेकी छिन्। हत्याकाण्डकी आरोपित अन्दाजी ३६ वर्षीया युवतीले आफुले रानाको हत्या योजना बनाएको भन्दै प्रहरी समक्ष साबिती बयान दिएकी हुन्। विगत केही महिनादेखि मृतक रानाले मानसिक तनाव दिइरहेको भन्दै उनले हत्याको योजना बुनेको भन्दै बयान दिएको एक प्रहरी अधिकारीले बताए। उनले विस्तृत रुपमा हत्या योजनाबारे सुनाएको ती प्रहरी अधिकारीले दिनेशखबरलाई बताएका छन्।

अवैध प्रेम सम्बन्धबाट सुरु भएको कथा
आरोपित युवती केही समयदेखि मृतक शिवचरण रानासँगको प्रेम सम्बधमा थिइन्। दुवै विवाहित भएकाले त्यो सम्बन्ध एउटै गाउँको समाजले स्वीकार गर्ने कुरै थिएन।

दुवैजना सम्बन्धपछि नजिक बनेका थिए। यतिसम्मकी शिवचरणले परिवारिक काममा समेत सहयोग गर्ने गरेको युवतीले बताइन्। दुवैको हिमचिम धेरै भएपछि एकदिन युवतीका श्रीमानले दुवैलाई एक दिन रंगेहात आफ्नै घरमा फेला पारे।

त्यही दिन युवतीका श्रीमानले उनलाई घरबाट निकालेका थिए। तर शिवचरणले २ लाख दिने र अबबाट नभेट्ने सहमतिपछि युवतीका श्रीमानले युवतीलाई पुनः स्वीकारे।

तेस्रो युवतीको इन्ट्री
त्यति भइसकेपछि शिवचरण मानेनन्। उनले फेरि युवतीलाई भेट्ने प्रयास गरिरहे। त्यसक्रममा शिवचरण विभिन्न बहाना बनाएर आफुलाई भेट्ने गरेको युवतीले बयानमा बताएकी छिन्।

सोही क्रमा एक दिन सँगै बसेका बेला शिवचरणको मोबाइलमा एक अर्की युुवतीको फोन आएको थियो। घरमा एक श्रीमती र आफुबाहेक अर्कै केटीसँग शिवचरण प्रेम सम्बन्धमा रहेको थाहा पाएपछि युवतीको मनमा घृणा पैदा भएको थियो। उनले त्यसो नगर्न आग्रह गरेपनि शिवचरणले धम्की दिएपछि युवतीमा बदलाको भावना आएको थियो।

४० हजारको सुपारी
शिवचरणले भेटनका लागि सताइरहने र युवतीमा बदलाको भावना आएपछि उनले आफ्नो पीडा १ महिनाअघि एक नातेदारलाई सुनाएकी थिइन्। त्यही दिन बनेको थियो शिवचरण रानाको हत्या योजना। हत्याका लागि युवतीले ती नातेदारलाई ४० हजार दिएकी थिइन्। तर अहिले नै हत्या गर्न उनले बताएकी थिइन्।

२ पटक योजना फेल
हत्याको योजना बनेपछि ती युवतीका नातेदारले गेटा आँखा अस्पताल अगाडि पसल सञ्चालन गर्दै आएका रानाको दैनिकीलाई नजिकबाट नियाल्दै थिए। शिवचरण बिहान भैँसी दुहुन पसलबाट घर फर्किने गरेका थिए। उनी सधै बिहान ४ बजेको समयमा भैँसी दुहुन घर जाने गरेको ती युवकले पत्तो पाए र हत्या गर्ने तयारी गरे। हत्या आरोपमा पक्राउ परेकी युवतीका ती नातेदारले आफ्ना एक सहकर्मीलाई समेत हत्या योजनामा सामेल बनाएका थिए।

त्यसपछि हत्या हुनुपूर्व एक दिन शिवचरण हिड्ने बाटो नजिकै एक निर्माणधिन भवनमा ती दुवै युवा ढुकेर बसेका थिए।  तर योजनाअनुसार शिवचरण बिहान ४ बजे पसलबाट घरतर्फ आएनन्। बिहान ६ बजेपछि मात्रै पसलबाट घर आएकाले त्यो दिन उनीहरुको योजना सफल बनेन।

अर्कोदिन ती दुवै हत्याका आरोपित ढिलोसम्म सुतेकाले शिवचरण उनीहरुको चङगुलमा फस्न सकेनन्। उनी घर पुगे तर हत्याका आरोपित सुतिरहे। यी कुरा पक्राउ परेका आरोपित युवतीले नियाली रहेकी थिइन्।

हत्याको दिन, ‘कोड’: रक्सीको रित्तो बोतल
२ पटकको योजना विफल बनेपछि युवतीलाई चिन्ता भइरहेको थियो। उता शिवचरण भेट्न भन्दै सताइरहने भएकाले ती युवती उक्त तनावलाई छिट्टै सल्टाउन चाहान्थिन्।

हत्या भएको/नभएको पुष्टि गर्नका लागि युवकहरु र युवतीबीच एउटा ‘कोड’बारे सल्लाह भएको थियो। ‘कोड’ अनुसार युवकहरु ढुकेर बस्ने स्थानमा रक्सीको बोतल राखिएको थियो। बोतल भरिएको भए हत्या भएको छैन, हत्या भएको भए रित्तो बोतल नै युवतीले बुझ्ने कोड थियो।

हत्या भएको दिन फागुन १५ गते ती युवती आफ्नो घरबाट पसल जाने बहानामा निस्केकी थिइन्। तर कोड अनुसार रक्सीको खाली बोतल देखेपछि शिवचरणको हत्या भइसक्यो भनेर उनी विश्वस्त भइन्।

यसरी भयो अनुसन्धान
हत्या भएको दिनबाटै अनुसन्धान गरेको प्रहरीले शिवचरण र युवतीबारे खबर पाइसकेको थियो। उनीहरुबीच विगतमा भएको २ लाखको सम्झौताबारे चाल पाएपछि युवतीलाई नियन्त्रणमा लिएर गहिरो अनुसन्धान गरेको प्रहरी समक्ष युवतीले बारम्बार अपराध अस्वीकार गर्दै आएकी थिइन्।

३/४ पटकसम्म नियन्त्रणमा लिएर सोछपुछ गर्दा समेत युवतीले मुख नखोलेपछि प्रहरीको हात युवतीले प्रयोग गर्दै आइरहेको अर्को सीमकार्ड लाग्यो। सो सीमकार्डमा शिवचरण र युवतीबीच भएका ‘कलडिटेल’ भेटिएपछि अन्ततः युवती गलिन र उनले आफ्नो अपराध स्वीकार गरिन।

प्रहरीले आफ्नो अनुसन्धान लगभग सकेको छ। युवतीको साबिती बयानपछि ती दुवै युवकले नै शिवचरण रानाको हत्या गरेको निचोड निस्किएको एक उच्च प्रहरी अधिकारीले बताए। ‘ती दुवै युवक फरार छन्। उनीहरुको खोजीका लागि सादा पोशाकमा विभिन्न प्रहरी टोली खटिएका छन्’ उनले भने। ती प्रहरी अधिकारीका अनुसार हत्याको योजना बनाउने युवतीलाई कैलाली प्रहरीले सार्वजनिक गर्ने तयारी थालेको छ। #साभार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार