
बाजुरा– वातावरण संरक्षणलाई व्यवहारमा उतार्दै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराले वृहत् वृक्षरोपण अभियान सञ्चालन गरेको छ। राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको २०८३ असार २९ र ३० गते सम्पन्न बैठकबाट पारित निर्णयअनुसार आयोजित अभियानमा विभिन्न प्रजातिका ७५ वटा बिरुवा रोपेर अभियान संचालन गरेकाे हो।
अभियानमार्फत वातावरण संरक्षण, हरियाली प्रवर्द्धन, जैविक विविधताको संरक्षण तथा भावी पुस्ताका लागि स्वच्छ र स्वस्थ वातावरण निर्माण गर्ने उद्देश्य राखिएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराका संयाेजक बिष्न कार्कीले बताएका छन । कार्यक्रम केवल बिरुवा रोपेर सीमित नरहने, ती बिरुवाको संरक्षण र हुर्काउने जिम्मेवारीसमेत सामूहिक रूपमा पूरा गरिने सयाेजक कार्कीले बताएका छन ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय कमिटी सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापाले जलवायु परिवर्तनको चुनौती बढिरहेका बेला वृक्षरोपणलाई अभियानका रूपमा अघि बढाउनु समयको आवश्यकता भएको उल्लेख गर्दै युवाहरू समाज परिवर्तनसँगै प्रकृति संरक्षणका अगुवा बन्नुपर्ने बताए।
कार्यक्रममा एमाले बाजुरा जिल्ला अध्यक्ष लालबहादुर ओली, जिल्ला सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख एवं बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, जिल्ला कमिटी सदस्य धर्मराज पाध्याय, जनसंगठन समन्वय संयन्त्रका सचिव तथा जिल्ला कमिटी सदस्य गणेश थापा, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय साइबर सर्कल विभाग सदस्य शेर्जन रावल, अनेरास्ववियु जिल्ला सचिव लक्ष्मण रोकाया, उद्योग वाणिज्य महासंघ बाजुरा अध्यक्ष चक्र रोकाया, नेपाल पत्रकार महासंघ बाजुरा शाखा अध्यक्ष पदमसिंह, प्रेस चौतारी नेपाल बाजुरा अध्यक्ष लक्ष्मीराज पाध्याय लगायत विभिन्न जनसंगठनका प्रतिनिधि, सञ्चारकर्मी तथा पार्टीका नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।


