बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • ‘म भन्दिनँ तर प्रधानमन्त्री सर्वोच्चले संसद् विघटनको पक्षमा निर्णय गर्नेमा २ सय प्रतिशत विश्‍वस्त हुनुहुन्छ’

‘म भन्दिनँ तर प्रधानमन्त्री सर्वोच्चले संसद् विघटनको पक्षमा निर्णय गर्नेमा २ सय प्रतिशत विश्‍वस्त हुनुहुन्छ’

  • शनिबार, फाल्गुन ८, २०७७
‘म भन्दिनँ तर प्रधानमन्त्री सर्वोच्चले संसद् विघटनको पक्षमा निर्णय गर्नेमा २ सय प्रतिशत विश्‍वस्त हुनुहुन्छ’

काठमाडौँ — केपी शर्मा ओली नेतृत्वको नेकपाका स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले नेपाली जनताले निर्वाचनका पक्षमा फैसला गरिसकेको बताएका छन् । विराटनगरमा आयोजित आमसभामा सम्बोधन गर्दै संविधानसभा अध्यक्षसमेत रहेका नेता नेम्वाङले सडकमा उत्रिएर जनताले निर्वाचनको पक्षमा फैसला सुनाइसकेको बताएका हुन् ।

‘नेपाली जनताले त अहिले सडकमा उत्रिएर यो समुद्रको लहरजस्तो जनताको जुन लहर सडकमा पोखिएको छ । नेपाली जनताले त फैसला सुनाइसकेका छन् । सम्मानित सर्वोच्च अदालतको फैसला हामी कुरिरहेका छौं’, उनले भने ।

अदालतका सहयोगी भनेर चिनिने एमिकस क्युरीले पनि आफ्नो धारणा राखिसकेको उल्लेख गर्दै अदालतले पनि प्रतिनिधिसभा विघटन सदर गर्ने कुरामा प्रधानमन्त्री केपी शर्मा ओली विश्वस्त रहेको नेम्वाङले बताए ।

सम्बोधनका क्रममा नेम्वाङले भने, ‘प्रतिनिधिसभा विघटन संविधानबमोजिम छ कि छैन भन्नेमा विभिन्न तर्क उठे । ‘यो संविधानसम्मत छ कि छैन भनेर मतहरु प्रकट भए । प्रधानमन्त्रीको कदमलाई लिएर राष्ट्रपतिलाई समेत विवादमा तान्ने प्रयास भयो,’ उनले भने, ‘संसद् विघटन ठीक हो कि बेठीक हो भन्नेबारेमा सर्वोच्चमा विभिन्न रीट परे । कतिले यो संविधानसम्मत छैन, संसदीय प्रणालीबमोजिम छैन भनिरहेका छन् । तर प्रधानमन्त्री भन्नुहुन्छ : संसद् विघटन गर्ने प्रधानमन्त्रीको अधिकार हो । म बहुमतको प्रधानमन्त्री दुई तिहाई बहुमतको प्रधानमन्त्री, संसद्मा मेरो बहुमत छ, संसद्मा कसैले आफ्नो विरोध गरेको छैन । संसद्मा मेरो विरुद्धमा अविश्वास प्रस्ताव राखिएको छैन ।’

प्रधानमन्त्रीले काम गर्न नपाएर प्रतिनिधिसभा विघटन गरेको पनि नेता नेम्वाङले जिकिर गरे । ‘प्रधानमन्त्रीको प्रश्न छ, म दुई तिहाईको प्रधानमन्त्रीले काम गर्न नपाएपछि मैले के गर्ने ? यही ११ गतेदेखि १५ गतेसम्ममा सर्वोच्च अदालतको फैसला आउँछ विज्ञहरु भन्छन् ।’ आफू कानुनको विद्यार्थी भएको उल्लेख गर्दै सर्वोच्च अदालतमा विचाराधीन विषयमा नबोल्ने बताए । ‘म कानुनको विद्यार्थी हाम्रो संविधानले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसद्मा बहससमेत गर्न पाइँदैन भनेको छ,’ उनले भने ।

जनताले निर्वाचनका पक्षमा फैसला गरिसकेको उल्लेख गर्दै उनले भने, ‘तपाईँहरुलाई जिज्ञासा होला, सम्मानित सर्वोच्च अदालतले फागुन ११ गतेदेखि १५ गते फैसला हुँदा के गर्ला ? तपाईँहरुले त वैशाख १७ गते र २७ गते निर्वाचन हुन्छ भनेर गर्नुपर्छ भनेर फैसला गरिसक्नुभयो । म त कानुनको विद्यार्थी, मचाहिँ भन्दिनँ, मचाहिँ बोल्दिनँ । तर सम्माननीय प्रधानमन्त्रीज्यूले भनिसक्नु भएको छ संसद् विघटन गर्ने मेरो अधिकार हो । मैले संविधानबमोजिम लोकतान्त्रिक अभ्यासबमोजिम, लोकतन्त्रमा जनताका बीचमा नगएर कहाँ जाने त त्यसो भए । मैले जनताका जाने जे निर्णय गरेँ त्यो निर्णय यताउति हुँदैन भन्नेमा प्रधानमन्त्री विश्वस्त हुनुहुन्छ । प्रधानमन्त्रीज्यू १ सयमा २ सय प्रतिशत विश्वस्त हुनुहुन्छ ।’

पुन: आफ्ना कुरा नभन्ने दोहोऱ्याउँदै नेम्वाङले भने, ‘म आफ्नो कुरा भन्दिनँ, अदालतले फैसला गरेको भोलिपल्ट म त्यसबारेमा भन्छु । प्रधानमन्त्री १ सय मा २ सय प्रतिशत संसद् विघटनको निर्णय फिर्ता हुँदैन भन्नेमा विश्वस्त हुनुहुन्छ । प्रधानमन्त्रीप्रति मलाई धेरै विश्वास छ । हामीलाई प्रधानमन्त्रीप्रति धेरै विश्वास छ ।’

चर्चामा

सम्बन्धित समाचार