बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • भागरथी र अभियुक्तका परिवारबीच पुरानो रिसिवी के थियो ?

भागरथी र अभियुक्तका परिवारबीच पुरानो रिसिवी के थियो ?

  • बिहिबार, फाल्गुन ६, २०७७
भागरथी र अभियुक्तका परिवारबीच पुरानो रिसिवी के थियो ?

भागरथीको हत्या गरेको अभियोगमा प्रहरीले बुधबार उनकै भाई नाता पर्ने प्रहरीकै शब्दमा अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको छ। नातामा भाइबहिनी पर्ने भागरथी र अभियुक्त एउटै परिवारका सदस्य हुन्। भागरथीका बुवा र दिनेशका बुवाका बाजेहरु सहोदर भाइ भएको पारिवारिक स्रोत बताउँछ।

मृतक र अभियुक्तबीच यसअघि कुनै खालको व्यक्तिगत रिसिवी र विवाद नरहेको बताइएको छ। तर उनीहरुका परिवारबीच रहेको पुरानो विवाद नै यो घटनाको उपज भएको प्रहरी अधिकारीहरुले बताएका छन्।

त्यो विवाद के थियो ? भनेर प्रहरीले अहिलेसम्म आधिकारीक रुपले बताइसकेको अवस्था छैन। अभियुक्तले बयानका क्रममा भने त्यो विवाद खुलाएको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन्।

“बयानमा दिनेशले भागरथीका बुवाले पहिले आफ्नी फुपूमाथि बलात्कार गरेका कारण मैले पनि उनको बलात्कार गर्ने प्रयास गरेको हुँ,” जिल्ला प्रहरी कार्यालय बैतडीका एक प्रहरी अधिकृतले दिनेशखबरसँग भने, “बलात्कार गर्न पाइन्ट खोल्दा रगत देखेपछि छोडिदिएको थिए। तर पछि सबैले थाहा पाउँछन् भनेर हत्या गरेको बताएका छन्।”

परिवारकाअनुसार पनि आज भन्दा करिब ३० वर्ष पहिले एउटा जबरजस्तीकरणीको मुद्दा चलेको थियो। उनीहरुका काका नाता पर्ने शिवराज भट्टले भागरथीका बुवाले १६/१७ वर्षकै हुँदा दिनेशकी फुपूमाथि बलात्कार गरेको आरोप लागेको कुरा साँचो भएको बताए।

पछि अदालतले भागरथीका बुवालाई बलात्कार मुद्दामा जेल सजाय सुनाएको कुरा आफूले पनि सुनेको बताउँदै उनले ६ महिना कैद सजाय पाएको जनाए। त्यति बेलादेखि नै दुवै परिवारमा खटपट थियो।

तर हाल भने त्यो कुरालाई सबैले बिर्सिसकेका थिए। त्यतिबेला अभियुक्त दिनेशकै बुवा ५/६ वर्षका थिए। दिनेशले २ वर्षदेखि फुपूमाथि भएको बलात्कारको बदला लिने योजना बनाइरहेको बताएपछि परिवारका सबै सदस्य अच्चम्भित भएका छन्।

अभियुक्तका बुवा समेत उमेरले सानै भएका बेला घटेको त्यो घटनाको बदलाको भाव दिनेशमा कसरी उब्जियो होला ? दिनेशका परिवारबीच हालपनि पुरानो घटनाको विषयमा बेला बखत कुराकानी भइरहने गरेका कारण पछिल्लो जघन्य अपराधको घटना भएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले भने ती सबै कुरा अनुसन्धानपछि मात्र खुल्ने जनाएको छ। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार