आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • समाज
  • भुवा पर्व : प्राचीन युद्धकालीन कौशलता

भुवा पर्व : प्राचीन युद्धकालीन कौशलता

  • बुधबार, पुस २९, २०७७
भुवा पर्व : प्राचीन युद्धकालीन कौशलता
फाइल तस्बीर
लखन चाैधरी
   लखन चाैधरी
योभुवा कैको

पाँच पौण्डु देउको

का बाट उब्जी

मन्त लोक उब्जी

त्याँ बाट इन्द्रका बार

इन्द्रका बार भुवा खेलायो….। जस्ता उल्लेखित लय र भाका आजभोलि खुला ठाउँमा गुञ्जिन्छन् । दमाहाको तालसँगै एक हातमा तरवार र अर्को हातमा ढाल नचाइने दृष्य जताततै छ । लाग्न सक्छ, सुरक्षाफौजको टुकडीले कवाज खेल्दै छन् । तर त्यो कुनै सुरक्षा फौजको टुकडी होइन, कलाकर्मीहरूको सामूहिक कला प्रदर्शनी हो । सुदूरपश्चिमको गाउँबेसीहरूमा आजभोलि युद्धकालीन कौशलताको झल्को दिने झाँकी प्रदर्शन भइरहेको छ । खासमा खासमा त्यो भुवा पर्वको उल्लास हो ।

यतिबेला सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाहरूमा द्वापर युग ताका युद्धमा प्रदर्शन गरिएको मानिने युद्ध कला कौशलताको प्रतीक भुवा नाचको प्रदर्शन भइरहेको छ । पहाडबाट तराईमा बसाइ सरेर आएकाहरू यतिबेला कैलाली, कञ्चनपुरलगायत जिल्लाहरूमा प्रदर्शन गरिरहेका हुन् । जसको उल्लास बढेको छ ।

बाजुरेली सेवा समाजका अध्यक्ष चेतबहादुर थापा भन्छन्, ‘भुवा प्राचीन संस्कृति हो । प्राचीन कालीन युद्धको भाका हो । कौशलताको प्रदर्शनी हो । जसको आफ्नै मौलिक विशेषता छ । हाम्रो पहिचान हो ।’

महाभारतको गाथा : भुवा

भुवा पर्व पुषे औँसीको अघिल्लो मध्यरातबाट शुरू हुन्छ । जसको आफ्नै ऐतिहासिक पक्ष रहेको जानकारहरू बताउँछन् । महाभारतको पाण्डप र कौरवबीचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ । सोही लडाईंको सम्झनामा तथा पाण्डपहरूको जीतको खुशीयालीमा पर्व मनाउन थालिएको बताउँछन् समाजका निवर्तमान अध्यक्ष कुलबहादुर हमाल । यो पर्वमा ढाल र तरबारसहित चाली खेल्ने प्रचलन रहँदै आएको बताउँदै उनले पर्वको मुख्य आकर्षक पक्ष नै ‘भुवा नाच’ भएको उल्लेख गरे । जसको शुरूआतदेखि समाप्तिसम्म आफ्नै विधि प्रक्रिया रहेको हमाल बताउँछन् ।

उनको अनुसार पुषे औसीको राती भुवाखडोमा आगो बालिन्छ । आगो तापेर स्नान गरेर घरमा मीठो–मसिनो खाना बनाइएको हुन्छ । खाना खाएर अनि आफना हतियारहरू ढाल तरबारलाई चम्किलो बनाउने काम गरिन्छ । ढाल कालोले पोतिन्छ भने तरबारलाई धारिलो र चम्किलो बनाइन्छ ।

यसरी चम्किलो बनाइएको तरबारहरू चाली खेल्दा घाममा टलक्क टल्किन्छ । औंसीको भोलिपल्ट लुगा कपडा धोएर हातहतियार सजाउने, टल्काउने काम हुन्छ । अनि द्धितिया तिथिको दिनमा विशेष ढंगले प्रदर्शन गरिने बताइन्छ । भुवा खेलको पहिरन पनि विशेष प्रकारको हुन्छ । भुवा खेल्ने पुरुषहरूले सेतो भोटोसहित जामा, पछाडि कुमदेखि खुट्टासम्म पुग्ने गरी पिठ्यूँमा एउटा सेतो चद्धर जस्तो पहिरनुपर्छ । टाउकोमा पघरी बाँध्नुपर्छ ।

दिउँसोको समयमा भुवाखडोमा गएपछि भुवाको रौनक शुरू हुन्छ । बाजागाजाका साथ दमाहाले पनि अनेक धुन बजाउँछन, बाजा–गाजा, लस्कर हुँदै औंशी र प्रतिपदाका दिन चम्काएका ढाल तरवार बाजागाजा भुवाको लयमा चम्कन शुरू हुन्छ ।

बायाँ हातमा ढाल दायाँ हातमा तरबार लिई बाजाको तालसँगै गुरुको निर्देशनअनुसार सुस्त गतिबाट भुवा खेल खेल्ने गरिन्छ । खेलमा२० भन्दा वटा चाली वा लय र ६३ कवच हुन्छ ।

यसैबीच छरछिमेकहरूले आ–आफनो घरमा मिष्ठान्न परिकारहरू पकाउँछन् र आपसमा बाँडेर खान्छन् । दशैंपछिको ठूलो पर्वको रूपमा लिइने यस पर्वमा वर्षदिनसम्म भेटघाट नै नभएका ईष्टमित्र, दाजुभाईबीचको सम्बन्ध प्रगाढ हुने जनविश्वास छ । हातमा तरबार र ढाल लिई सामूहिक रूपमा बाजागाजा सहित घर–घरमा गई भोस्को खेलिने हुँदा जसबाट घरमा सम्पत्ति भित्रिने र खेलको माध्यमबाट समाजका विकृति–विसंगतिको अन्त्य भई समतामूलक समाज निर्माण हुने जनविश्वास रहँदै आएको बताइन्छ ।

प्राचीन युद्ध कलालाई राजा रजौटाहरूले अनुशरण गर्दै आएको र हालसम्म चल्दै आएको बताइन्छ । राजा रजौटाहरूले आफ्ना भाई भारदार लगाएर प्रजाहरूलाई आत्मरक्षाको लागि खेतीपातीको काम सकिएपछि फुर्सदको समयमा ढाल तरबारसँग खेल्न सिकाएको समाजका निवर्तमान अध्यक्ष हमालको भनाइ छ ।

‘द्वापर युगबाट शुरू भएको गेम हो । लडाईंको मैदानबाट आएको कला हो । असत्यमाथि सत्यको जीतको खेल हो । वीरताको प्रतीक हो । यसलाई हाम्रा पुर्खाहरूले पनि शान्ति सुरक्षाको दृष्टिकोणले आफ्नो प्रभुत्व कायम गर्न खेलाए । भुवाका गुरुबाट राजा रजौटाहरूले प्रजाहरूलाई लडाईंका लागि तयार गर्थे,’ हमालले अगाडि थपे ।

वर्तमान समयमा राष्ट्रियको सवाल जोडदार रूपमा उठिरहेको बताउँदै हमालले आवश्यकता परेका अवस्थामा यही चाली र ढाल तरबारलाई राष्ट्रिय अखण्डदाताको रक्षाको लागि अगाडि सर्न सकिने तर्क गर्छन् ।

हाल भुवा पर्व सुदूरपश्चिमका मौलिक पर्वको रूपमा स्थापित भएको छ । प्रदेश सरकारले पनि पुस १० गते सार्वजनिक विदा दिएर पर्वलाई संस्थागत समेत गरेको छ ।

पछिल्लो समय भुवा पर्व आधुनिक ढंगले समेत मनाउन थालिएको हो । नयाँ पुस्ताले पुरानो लयमा नयाँ शब्द समायोजन गरी रसमय बनाउँन थालेका छन् ।

कलाकर्मी समेत रहेका कञ्चनपुरका पूर्व कबड्डी खेलाडी लक्ष्मण अधिकारी धनगढीस्थित खुलामञ्चमा आयोजित भुवा पर्व कार्यक्रममा गुनगुनाउँछन्–

गाईका गोठ गुर्जो मुर्जो भैसी गोठ पस्सो

सुदूरको संस्कृति राम्रो हाम्रो भुवा भस्सो

एक हात तरबार हुन्छ, एक हात ढाल हुन्छ

खेल्नाकी रमाइलो हुन्छ, हेन्नाकी माल हुन्छ

झ्यान्न कुट्टी छ्यान्न पारी बाजाको ताल हुन्छ

जसो जसो बजो बज्यो उस उसै चाल हुन्छ

द्वापर युगमा पाण्डप देउले चलायो चलन

पुर्खैबाट हामी सबैले अर्‍याको पालन

भुवा खाणा भुवा जगाइ घर–घर झानु

भुवाको पिठायु लगाइ चिउरा लाडु खानु ।।

चर्चामा

सम्बन्धित समाचार