बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • बझाङको थलारामा एक घर एक धारा, प्रत्येक धारामा मिटर प्रणाली

बझाङको थलारामा एक घर एक धारा, प्रत्येक धारामा मिटर प्रणाली

  • बुधबार, कार्तिक २६, २०७७
बझाङको थलारामा एक घर एक धारा, प्रत्येक धारामा मिटर प्रणाली

बझाङ–बझाङको थलारा गाउँपालिका ६, सँडिलकी कन्तरी सार्कीलाई अचेल पानीको चिन्ता छैन । घर अगाडी चौविसै घण्टा पानी आउने धारा छ । न पालो कुर्नु पर्ने हतारो, न पानी सुक्ला भन्ने डर । ‘बरु कोही केटाकेटीले धारो खुलै छोड्छन की भनेर बेला बेला हेर्ने गर्छू । धारो खुलै राखे मिटरमा विल बढ्छ,’ उनले भनिन ।
३८ परिवारको बसोबास रहेको सँडिल गाउँमा अहिले कन्तरीको घरमा मात्रै होइन । सबैको घरमा निजी धारा छन । पर्याप्त पानी भएका कारण कुनै बेला फोहोर गाउँको परिचय पाएको सँडिल अहिले पुर्ण सरसफाई युक्त गाउँमा रुपान्तरण भएको छ । सफा र चिटिक्क घर आँगन, सुग्घरी केटाकेटी, प्रत्येक घरको करेसाबारीमा फलेको लटरम्म तरकारीले यो गाउँ रहरलाग्दो भएको छ ।
डेढ वर्ष अघि सम्म सँडिलका बासिन्दाहरुले घरघर मै चौविस घण्टे धारा होलान भनेर सपनामा पनि चिताएका थिएनन । पानी भर्न कै लागि सँडिलको सिगैं गाउँ आधा रातमा उठ्थ्यो । गाउँ देखी आधा घण्टा टाढा रहेको कुवाको पानी भर्न ठुलै प्रतिश्पर्धा चल्थ्यो । ‘जो छिटो पुग्यो उसैले पहिला पानी भर्न पाउथ्यो । पाँच दश मिनेट ढिला भयो भने कुवाको पानी सकिहाल्थ्यो’ कन्तरीले भनिन ‘कहिले काँही त एक गाग्री पानी भर्न दिन भर कुवा कुरेर बस्नु पथ्र्याे । नभए खोलाको फोहोर पानी खानुपथ्र्याे’
सँडिल गाउँ घरघरमा निजी धारा हुने जिल्ला कै पहिलो गाउँ हो । थलारा गाउँपालिका, ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाको लगानी र स्थानियको श्रमदान गरेर ३५ लाखको लागतमा चिप्लेटी भन्ने मुहानबाट पानी ल्याएर डेढ बर्ष अघि यहाँ घर घरमा धारा निर्माण गरिएको थियो । चिप्लेटी निजी धारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष साइमल चौहानले प्रत्येक धारामा मिटर जडान गरिएको र पानी प्रयोग गरे अनुसारको रकम प्रत्येक घरधुरीले मासिक रुपमा तिर्ने गरेको बताए । निजी धारा भए पछि खानेपानीको सुरक्षाको लागि पनि प्रत्येक परिवार जिम्मेवार भएर लागेको उनको भनाई छ । ‘हुन त हामीले पनि एक जना मर्मत सम्भार कार्यकर्ता राखेका छौ’ उनले भने ‘तर सबैका आआफ्नै धारा भए पछि आफ्नो धारोको सुरक्षा आफैले गर्ने गरेका छन’
सार्वजनिक धारा धारा भन्दा निजी धारा भएका खानेपानी आयोजनाहरुको संरक्षण र रेखदेखमा प्रत्येक घरधुरी जिम्मेवार भएर लाग्ने र योजना दिगो हुने देखे पछि गाउँपालिकाले अहिले सबै घरमा निजी पुर्याउने लक्ष्य सहित काम सुरु गरेको छ । गाउँपालिकाले ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाको आर्थिक र प्राविधिक सहयोगमा यहाँका पाँच वटा गाउँ तराँटी, सेराला गाउँ, सँडिल, गडी गाउँ र मल्लो डिक्लाका सबै २ सय २४ घरमा निजी धारा निर्माणको काम सम्पन्न गरिसकेको छ ।
यस्तै दंगाजी, बेराडी, काँडा, काप्रा, बस्ती, मेटेलधार, पिखेत, ग्वाना र काँडाबाँझ गाउँलाई समेटने गरी ६ सय १४ वटा निजी धारा निर्माणको काम अन्तिम चरणमा रहेको र यस वर्षको माघ सम्ममा सबै धारा संचालनमा आउनले परियोजनाका इन्जिनियर लोकेन्द्र वलीले बताए ।
घर घरमा धारा भएका गाउँहरुमा सार्वजनिक धारामा जस्तो महिनावारी भएका महिलालाई छुन नदिने चलनको पनि अन्त्य भएको ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाका जिल्ला सल्लाहकार विण्णु पोखरेलले बताए । ‘निजि धाराको अवधारणाले योजना दिगो हुने, पर्याप्त पानी उपलब्ध हुने कुरा त छदैछ । यसले सामाजिक अन्धविश्वास पनि घट्दै गएको छ’ उनले भने ‘आफ्नै घरमा धारा हुने भएकाले सार्वजनिक धारामा जस्तो छुवाछुत छैन । यो राम्रो पक्ष हो’ उनले निजी धारा भएका घरमा सबैले पानीको खेर गएको पानीको व्यवस्थापन गरेर तरकारी खेती सुरुवात गरेकाले आयआर्जन र पोषणको क्षेत्रमा पनि सुधार आएको बताए ।
थलारा गाउँपालिकाले लिएको घर घरमा खानेपानीको धारा पुर्याउने निती र खानेपानी आयोजना दिगो व्यवस्थापनका लागि चालेको कदम अनुकरणिय भएको जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर खड्काले बताए । आयोजनाको उचित व्यवस्थापन र मर्मत सम्भार नहँुदा जिल्लामा करोडौं रकम लगानी गरेका योजनाहरु एक दुइ वर्षमै काम नलाग्ने भएको उल्लेख गर्दै उनले भने ‘आधुनिक समय सुहाउदो दिगो विकासको यो प्रयास अन्य पालिकाहरुले पनि सिक्नु पर्छ ।

चर्चामा

सम्बन्धित समाचार