शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • यसरी पुनर्जीवन पाए बाजुराका १० वर्षीय नविनले

यसरी पुनर्जीवन पाए बाजुराका १० वर्षीय नविनले

  • सोमवार, कार्तिक १७, २०७७
यसरी पुनर्जीवन पाए बाजुराका १० वर्षीय नविनले

दीर्घराज उपाध्याय /धनगढि–बाजुराको बुढीगंगा नगरपालिका–१, कुडीकी पाउनी चदारा ननिदाएको ६ दिन भयो । बाख्रा चराउन गएको १० वर्षीय छोरा नविन खुट्टा भाँचिएको अवस्थामा फेला परेयता न उनी निदाउन सकिन । न त उनका आँखा आँशुले ओभाए ।

सात वर्षअघि भारत पसेका श्रीमानको पत्तो छैन । कहाँ छन् ? के गर्दैछन् ? आम्दानीको स्रोत केही नहुदा दुई छोरा र एक छोरी मुस्किलले हुर्काइरहेकी पाउनीका लागि छोराको उपचार असंभव थियो । उनने आफन्त र छिमेकीसंग हारगुहार गरिन । छोरालाई अछामको बयालपाटा अस्पताल पुगाइन । त्यहाँ चिकित्सकहरुले उपचार संभव नभएकोले काठमाण्डौं वा सुबिधा सम्पन्न अस्पतालहरुमा लैजान सुझाव दिए ।

बाहिर लैजादा उपचारमा डेढ लाख रुपैयाँ लाग्ने भनिएको थियो । जुन रकम उनले जिन्दगीमा कहिल्यै देखेकी पनि छैन । त्यति रकम जुटाउन सक्ने उनको अवस्था थिएन । उनले नविनलाई घर फिर्ता लगिन । छाला छेडेर बाहिर निस्किएको खुट्टाको हड्डी नदेखिने गरी भाँचिएको खुट्टामा काम्रो लगाईएको थियो ।

पाउनीसंग छोराको मृत्यु कुर्नुभन्दा अर्को बिकल्प थिएन । आर्थिक अभावमा उपचार गर्न नसकेर छोराको मृत्यु कुरिरहेकी लाचार आमाको कारुणीक दृष्य र दुखाईले छटपटाइरहेका नविनको कारुणीक दृष्य सामाजिक सञ्जालमा देखेपछि अत्यन्त भावविह्वल बनायो । बाजुराका पत्रकार प्रकाश सिंहले त्यो दृष्य आफ्नो फेसबुक वालमा राखेका थिए ।

उनीसंग तत्काल सम्पर्क गर्यौँ । जसरी भए पनि नविनलाई धनगढी पठाउने व्यवस्था गरिदिन सिंहसंग आग्रह गर्याै । पत्रकार सिंहको पहलमा नविन कार्तिक १४ गते धनगढी आइपुगे । साथमा उनकी आमा र दुई जना आफन्त थिए । एम्बुलेन्सबाट झार्दै गर्दा असह्य पीडाका कारण नविन रोइरहेका थिए । उनका आँखाबाट आँशु बगिरहेको थियो । छोराको पीडा र आँशु चुपचाप हेर्न बिबश थिइन, पाउनी । उनी त रुदा रुदा थाकिसकेकी थिइन ।

मसंगै रहेका पत्रकार दीपक उपाध्याय सेती प्रादेशिक अस्पताल पुग्दाको नविन र उनकी आमाको पीडा र आँशुको दृष्य क्यामेरामा कैद गर्न सक्ने अवस्था थिएन । सधै रिपोर्टिङमा तस्वीर कैद गर्न मोवाइल निकालीहाल्ने दीपकजीले त्यो दृष्य क्यामेरामा कैद गर्न नै सकेनन् । अस्पतालका आकस्मिक बिभागका ईञ्चार्ज कृष्ण बोहरालाई नविनलाई ल्याउदै गरेको जानकारी पहिले नै गरिसकेका थियौ । त्यसैले उनी त्यहाँ तम्तयार अवस्थामा थिए । बोहराले उनको उपचारको प्रकृया तत्काल शुरु गरिहाले । त्यसपछिको सबै खटनपटन बोहराले नै गरे ।

उनलाई धनगढी त ल्यायौँ । अस्पताल पनि भर्ना गरयौँ । तर पैसाको जोहो गरिसकेका थिएनाै । पैसाले उनको उपचार रोकिने छैन भन्नेमा हामी विश्वस्त थियौ । र उनको उपचारका लागि आवश्यक रकम जुट्नेमा ढुक्क थियौ । मनकारी व्यक्तिहरुका कारण सहयोग जुट्न २४ घण्टा पनि कुर्नु परेन ।
उनको खुट्टा दुई ठाउँमा भाँचिएको थियो । सामान्य प्लाष्टर वा हड्डी जोडेर मात्र उपचार संभव थिएन । हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रमोद जोशीले एक्सरे र उनको अवस्था हेरे । चार दिन पुरानो घाउँका कारण ईन्फेक्सन भईसकेको सुनाए । एकातिर धेरै दिन त्यसै राखिरहन सक्ने अवस्था थिएन । अर्कोतिर समय घर्किसकेकोले अप्रेशनमा ढिलाई गर्न नहुनेमा डा. जोशी सचेत थिए ।
बोहराले उनको कोरोनाको परीक्षण गराए । रगत लगायतको जाँचहरु गरे । छैठौ दिन आईतवार नविनको खुट्टाको शल्यक्रिया गर्ने तय गरिएको थियो । त्यही कारण नविनले बिहानदेखि पानीसम्म खाएका थिएन । तर कोरोनाको रिपोर्ट नआएका कारण उनको अप्रेशन गर्न नसकिने अवस्था आयो । कोरोनाको रिेपोर्ट दिउसो ३ बजेपछि आउने भनियो । ३ बजेपछि अप्रेशन थिएटर बन्द भईसक्थ्यो । मुस्किलले कोरोनाको रिपोर्ट ११ बजेभित्र आयो । र डा. जोशी सहित चार जना चिकित्सकको टीम नविनको खुट्टाको शल्यक्रियामा जुट्यो । अप्रेशन थिएटरमा पसेको एक घण्टामा डा‍‌. जोशीले मेसेज गरे–नविनको शल्यक्रिया सफल भयो ।

त्यो मेसेजसंगै उनले नविनको दुई वटा तस्वीर पनि पठाए । जसमा नविनको आँखामा उन्मुक्त खुशी थियो । पीडा र दुखाईले आँशु बगेर नथाकेका ती आँखामा देखिएको खुशी ल्याउन थुपै्र सहयोगी हात र उदार मनहरुको योगदान थियो । देशविदेशबाट सहयोग गर्ने सबै मनकारी व्यक्तिहरुलाई मनमनै धन्यवाद दिए । र ती बालकलाई धनगढी पठाउन पहल गर्ने पत्रकार प्रकाश सिंहलाई शल्यक्रिया सफल भएको जानकारी दिए । नविनको उपचारका लागि अहोरात्र खटिएका मित्र दीपक नेपाल, पश्चिम टुडेमा प्रकाशित ‘छोराको उपचारका लागि सहयोगको आग्रह गरिरहेकी पाउनी’ शीर्षकको समाचारलाई आफ्नो फेसबुक वालमा राखेर सहयोग जुटाउन योगदान गर्ने नागरिक अगुवा रविन कान्त पन्तलाई शल्यक्रिया सफल भएको खवर सुनाए । यो खवरले उहाँहरुको खुशीको सीमा नै थिएन ।

संसार सुन्दर छ त, यस्तै मनकारी र उदार व्यक्तिहरुका कारण । जसलाई अरुले पीडाले दुःखाउदैन मात्र, त्यसमा मल्हम लगाउन अग्रसर भईरहन्छन । जोसंग त्यस्तो मन छ, अर्कालाई सहयोग गर्दा सन्तुष्ट हुने । सरकार होस वा नहोस् । तर यस्ता मनकारी व्यक्तिहरु भइरहेसम्म नविन चदारा जस्ता असहायहरुले उपचार नपाएर कहिल्यै मृत्युवरण गर्नु पर्नेछैन । साभार पश्चिम टुडे

चर्चामा

सम्बन्धित समाचार