शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • ईटा भट्टामा जलाएर हत्या गर्ने योजनामा परेका असई

ईटा भट्टामा जलाएर हत्या गर्ने योजनामा परेका असई

  • बिहिबार, कार्तिक ६, २०७७
ईटा भट्टामा जलाएर हत्या गर्ने योजनामा परेका असई

 २०७१ साल चैत १४ गतेको घटनाले गणेशप्रसाद जोशीलाई अझै झस्काउँछ । घरेलु हतियार बोकेर आएको समूहले डिउटीमै खटिएका बेला घेरा हालेर आक्रमण गरेको सम्झिदा उनी सोच्छन्, ‘भगवान मेरा लागि दाहिने भएकै हुन् त्यो दिन ।’

अस्थायी प्रहरी पोष्ट जुगेडामा प्रहरी हवल्दारका रुपमा कार्यरत जोशी मजदुरले पाएको ज्याला लुटिएको घटनाको अनुसन्धानमा खटिएका थिए त्यतिखेर । पीडित मजदुरको सुरक्षाको जिम्मा पनि उनीहरुकै काँधमा थियो । अपराधिक समूह जुगेडाकै ईटा भट्टामा काम गर्ने मजदुरले ज्याला वाफत पाएको ९ हजार रुपैँया लुटेर भागेको थियो । रातीको समयमा धम्की दिन थालेको भन्दै मजदुरसँगै ईटा भट्टाको सुरक्षा दिनुपर्ने माग बमोजिम नै प्रहरी हवल्दार जोशीको नेतृत्वमा ३ जनाको टोली खटाइएको थियो ।

प्रहरी जवान रविन्द्र नेगी र थानेश्वर पन्त पनि जोशीसँगै सुरक्षार्थ खटिएका थिए । रकम लुट्ने समूहलाई पक्राउ गर्ने जिम्मेवारी पनि जोशी नेतृत्वकै टोलीलाई दिइएको थियो । तर १४ गते राति ठीक उल्टो भयो । लुटेरालाई पक्राउ गर्न पुगेका प्रहरी उल्टै उनीहरुले नै थापेको एम्बुसमा पर्‍यो। त्यो घटनालाई सम्झिदै जोशी भन्छन्, ‘मजदुरको सुरक्षासँगै रकम लुट्नेलाई पक्राउ गर्न हामी गएका थियौँ । तर त्यो दिन हामीमाथि हमला भयो ।’

ईटा भट्टामा जलाएर हत्या गर्ने योजना अनुसार शुरुमा प्रहरीलाई घेरा हालिएको थियो । प्रहरीले उनीहरुलाई सम्झाउन खोज्यो तर मान्ने पक्षमा कोही पनि भएनन् । झगडा नगर्न आग्रह गर्ने महिलाहरुलाई समेत घरभित्र थुनिदिएका थिए ।
‘चारैतिरबाट घेरा हालेर हामीमाथि आक्रमण भयो । म ईटा भट्टामै ढलेछु’ जोशीले भने, ‘३ जना मध्ये प्रहरी जवान रविन्द नेगी भाई भाग्न सफल हुनुभएको रहेछ । उनले नै जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि तत्कालै थप प्रहरी घटना स्थल पुगे ।’

१०/१२ जनाको समूह भागेका प्रहरी जवान नेगीको पिछा गर्न हिडेपछि ईटा भट्टामा रहेका अरु पनि तितरबितर भए । कुटपिटबाट गम्भीर घाइते भएका जोशीलाई ज्यान जोगाउन खटियामुनी लुकेको सम्झना छ । मोटरसाइकलको लाईट देख्ने बितिकै जोशीलाई कोही न कोही आफूलाई बचाउन पक्कै आयो भन्ने लाग्यो ।  नभन्दै त्यो मोटरसाइकलमा आएका व्यक्ति उनकै सहकर्मी थिए ।

अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक भीम नाथसहित ३ जना प्रहरी जब उनी लडिरहेको स्थानमा पुग्छन् । त्यति बेला जोशीले भनेका थिए, ‘सई साप अब म बाँच्दिन होला, ती २ भाईहरु कता छन् ? बरु उहाँहरुको खोजी गर्नुस् ।’ प्रहरी सहायक निरीक्षकको टोली त्यहाँ पुग्दा आक्रमणमा संलग्न व्यक्तिहरु भागिसकेका थिए । आक्रमणमा परी गम्भीर घाइते भएका उनको टाउकोमा चोट लागेको थियो । धनगढीमै उपचार गर्दा पूर्ण रुपमा निको भए । जोशीले त्यसपछि मात्र थाहा पाएछन्, ईटा भट्टामा जलाएर हत्या गर्ने पूर्व योजना अनुसार आफूमाथि आक्रमण भएको कुरा ।

उनी भन्छन्, ‘ईटा भट्टामा जलाएर हत्या गर्ने योजना अनुसार हामीमाथि आक्रमण भएको रहेछ । धन्न भाग्यले जोेगिए ।’ आक्रमणकारीहरु फरुवा, हाँसिया लगायतका घरेलु हतियार बोकेर आएको प्रहरीले जनाएको छ । जोशीसहितका ३ जना प्रहरीको त्यो बेलाको आक्रमणबाट ज्यान जोगिए पनि उनीहरुले न्याय भने अझै पाएका छैनन् ।

‘म निम्न स्तरको कर्मचारी । धेरै कानूनी कुरा थाहा पनि थिएन्’ जोशीले भने, ‘ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेका थियौँ । तर सबै पक्राउ परेनन् । पक्राउ परेकाहरु पनि वकिल, न्यायधिश र प्रहरीलाई समेत पैँसा खुवाएर छुटे ।’
५/५ हजारका दरले रकम उठाएर सरकारी निकायमा उच्च पदस्थ व्यक्तिहरुलाई प्रभावमा पारेको चर्चा समेत चलेको उनी बताउँछन् ।

जिल्ला अदालत, पुनरावेदन अदालत हुँदै सर्वोच्चसम्म पुग्दा समेत न्याय नपाएको जोशीको गुनासो छ । विगतमा समेत अपराधिक गतिविधीमा संलग्न व्यक्तिहरुले राजनीतिक संरक्षणमा उन्मुक्ती पाउँदा पछिल्लो प्रहरी हत्याकाण्ड भएको जोशी बताउँछन् । ‘त्यो विगतदेखि नै अपराधिक गतिविधी हुने क्षेत्र हो । चोरी तस्करी नियन्त्रण गर्न खोज्दा प्रहरी जहिले पनि निशानामा पर्दै आएको छ’ जोशीले भने, ‘अपराधीहरुले संरक्षण पाउँदा पटक पटक उस्तै प्रकृतिका घटनाहरु दोहोरिरहेका छन् जस्तो लाग्छ ।’

जोशी अहिले प्रहरी सहायक निरीक्षकबाट सेवा निवृत्त भइसकेका छन् । गत शनिबार गस्तीमा खटिएकै बेला विभत्स हत्या गरिएका अस्थायी प्रहरी पोष्टका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदले न्याय पाउनुपर्ने माग उनको छ ।

‘डिउटीमा खटिएका बेला अपराधिक समूहबाट हत्या गरिएका दुबै राष्ट्र सेवकलाई राज्यले न्याय दिनुपर्छ । इमानदार प्रहरी कर्मचारीलाई सुरक्षाको प्रत्याभुती दिन पनि राज्य अग्रसर हुनुपर्छ’ जोशी भन्छन् ।
दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार