आइतवार, कार्तिक १६, २०७७
  • होमपेज
  • समाचार
  • घुम्ती सडक बन्ने पहाड देख्यो कि सुरुङमार्ग ?

घुम्ती सडक बन्ने पहाड देख्यो कि सुरुङमार्ग ?

  • मङ्लबार, अशोज १३, २०७७
घुम्ती सडक बन्ने पहाड देख्यो कि सुरुङमार्ग ?

काठमाडौं — सरकारले थप ३ वटा सुरुङमार्ग निर्माणलाई प्राथमिकतामा राखेको छ । सडक विभागले यस वर्ष धरान–लेउतीरोड, गोदाबरी (ललितपुर)–मानेभञ्ज्याङ (काभ्रे) र दिपायल (डोटी)–खुटिया (कैलाली) खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भएको हो ।

‘सुरुङमार्ग विकास कार्यक्रम’ नै बनाएर विभागले अध्ययनको काम अघि बढाएको छ । ३ वटै सुरुङमार्गको अध्ययन अघि बढाउन परामर्शदाता छनोटको काम अघि बढेको सडक विभागका गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक शिवप्रसाद नेपालले बताए ।

उनका अनुसार ३ वटै सुरुङमार्गको सम्भाव्यता अध्ययन रिपोर्ट यसै वर्ष सरकारलाई प्राप्त हुनेछ । गत वर्ष सरकारले ५ वटा सुरुङमार्गको सम्भाब्यता अध्ययन गरेको थियो । यी सुरुङमार्ग कहिलेबाट, कसरी निर्माण गर्ने भन्ने केही तय छैन । सम्भाव्यता अध्ययन भने चलिरहेको छ ।

घुम्ती सडकयुक्त पहाड देख्यो कि सुरुङमार्ग बनाइहाल्ने सरकारी सोचमा विज्ञहरुको फरक मत मात्रै हैन, तीव्र असहमति छ
अहिले काठमाडौं–निजगढ द्रुतमार्गमा बन्ने तीनसहित देशभर १७ वटा सुरुङमार्ग अध्ययन र अध्ययनपछिका चरणमा छन् । अधिकांश आयोजनाका रिपोर्ट दराजमै थन्किएका छन् ।

विभागले यो वर्ष सम्भाव्यता अध्ययन गर्न एउटा आयोजनामा ४० लाखभन्दा माथि खर्च गर्दैछ । धमाधम सुरुङमार्गको अध्ययन गराएर परामर्शदाताहरुलाई पोसिरहेको सरकारले धेरैजसो आयोजनाहरुको आर्थिक स्रोत सुनिश्चित गर्न सकेको छैन ।

यात्रालाई थोरै किलोमिटर छोट्याउन अर्बौं लगानी हुने सुरुङमार्ग कति आवश्यक हो भनेर कुनै ट्राफिक सर्भे पनि गरेको छैन । लहडका भरमा नेताहरुले भनेका स्थानमा जताततै सुरुङमार्गको अध्ययन थालेर राज्यको ढुकुटीमाथि आर्थिक भार थोपरिँदैछ ।

सडकभन्दा सुरुङमार्ग १० गुणा महंगो हुन्छ । सडक विभागका महानिर्देशक केशवकुमार शर्मा ३ देखि ५ गुणासम्म सडकमार्गको दूरी छोट्टियो भने त्यो स्थान सुरुङमार्ग निर्माणको लागि सम्भाव्य हुने बताउँछन् ।

प्रतिकिलोमिटर खर्चका हिसाबले ५ भागसम्म दूरी छोट्टिने अवस्था नभए सुरुङमार्ग बनाउनु खासै उपयोगी नहुने मान्यता छ । तर, काठमाडौंको नागढुंगामै बनिरहेको सुरुङले २ भाग मात्र दुरी घटाउँछ । यो आयोजनामा मुआब्जासहित २२ अर्ब खर्च हुँदैछ ।

विज्ञको फरक मत

विज्ञहरु राष्ट्रिय यातायात सञ्जाल प्रणाली तयार नगरी सुरुङमार्गको अध्ययन काम नलाग्ने बताउँछन् । घुम्ती सडकयुक्त पहाड देख्यो कि सुरुङमार्ग बनाइहाल्ने सरकारी सोचमा विज्ञहरुको फरक मत मात्रै हैन, तीव्र असहमति छ ।

पूर्वाधारविद सूर्यराज आचार्य सुरुङमार्ग बनाउनुअघि देशभरको यात्रु चाप र भविष्यमा बढ्नसक्ने ट्राफिकसहित औचित्यका आधारमा यस्ता आयोजनामा लागनी गर्नुपर्ने बताउँछन् ।

सडकर्मागका लागिभन्दा रेलमार्गका लागि सुरुङ बनाउँदा कम लागतमा धेरै फाइदा उठाउन सकिने भएकाले सरकारले सडक, रेलमार्ग र एयरपोर्ट विस्तारको काम गर्नुअघि यातायात सञ्जालको एकीकृत योजना बनाउनुपर्ने आचार्यको भनाइ छ ।

‘हालसम्म हामी हचुवाका भरमा छौं,’ उनी भन्छन्, ‘अहिले गरिएका लगानी खेर जान नदिने हो भने एकअर्कासँग नजुध्ने गरी यातायात सञ्जालको योजना बनाउनुपर्छ ।’

सुरुङमार्गमा ठूलो लगानी गरेर भोलि त्यहीँबाट रेल चल्दा त्यो प्रयोग नै नहुने अवस्था आउन दिन नहुने उनी बताउँछन् ।

‘भविष्यमा काठमाडौं–पोखरा जाने सडकमा चार लेनको सुरुङमार्ग बनाउनुपर्ला, तर रेलमार्ग बनाइयो भने दुई लेनकै सुरुङमार्फत सस्तो र क्षमता बढी भएको यातायात पूर्वाधार तयार हुन्छ,’ आचार्य भन्छन् ।

तुलनात्मक लाभ विश्लेषण गरेर मात्रै सुरुङमार्ग बन्नुपर्ने उनको मत छ ।

कुन सुरुङमार्ग कुन चरणमा ?

सरकारले दोलखाको लामाबगरमा सुरुङको सम्भाब्यता अध्ययन सकेको छ । तामाकोसी आयोजना पारिबाट उत्तर–दक्षिण लोकमार्ग लक्षित साढे १ देखि साढे ३ किलोमिटर लामो सुरुङमार्ग बनाउने सरकारको योजना छ ।

अहिले सरकारले जताततै सुरुङमार्गको अध्ययन गरिरहे पनि अध्ययन सकिएकामध्ये एउटा मात्र परियोजनाको काम भइरहेको छ
सडक विभागले पूर्व–पश्चिम राजमार्गको नवलपरासीको दाउन्ने उकालोमा पनि ५–६ किलोमिटर लामो सुरुङमार्ग बनाउन अध्ययन गरेको छ । अप्ठ्यारो भूगोलका कारण बुटवल–नारायणगढ सडकखण्ड ४ लेनको बनाउँदा यो खण्डमा तीन लेनमा मात्रै विस्तार गर्न लागिएको छ । यो अप्ठ्योरो उकालोमा सुरुङ बनाउने योजना बनाइएको हो ।

सडक बिभागले पोखरा–बागलुङ सडकको हेम्जा–नयाँपुल खण्डमा पनि ७ देखि साढे ८ किलोमिटर लामो सुरुङमार्गको सम्भाब्यता अध्ययन गरिसकेको छ । यता बीपी राजमार्गको खुर्कोट–चियाबारी खण्डमा पनि सुरुङमार्गको समभाब्यता अध्ययन भएको छ । यो सुरुमार्गको अनुमानित लम्बाइ ५ देखि साढे ६ किलोमिटर छ ।

गणेशमानसिंह मार्गमा पर्ने थानकोट–चित्लाङ सुरुङमार्गको पनि अध्ययन भइरहेको छ । मकवानपुरको थाहा नगरलाई जोड्ने यो सुरुङमार्ग बनेमा पालुङ भएर हेटौंडा जोड्ने त्रिभुवन राजपथको दूरी छोटिने भनिएको छ ।

यसैगरी, टोखा–छहरे–गुर्जुभञ्ज्याङ र बेत्रावती–रसुवागढी (घट्टेखोला) सुरुङमार्गको त डीपीआर नै तयार भएको छ ।

गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा काठमाडौंबाट रसुवाको नेपाल–चीन नाकासम्म (टोखा–छहरे–गुर्जुभञ्ज्याङ करिब ५ किलोमिटर र बेत्रावती–रसुवागढी (घट्टेखोला) करिब २४ किलोमिटर) सुरुङमार्ग बनाउन अध्ययन गर्ने समझदारी भएको थियो । त्यसअनुसार, चिनियाँ टोलीले प्रारम्भिक अध्ययन गरेको छ । प्रतिवेदन भने दिन बाँकी छ ।

निर्माण अघि बढाउने योजना

नेपाली सेनाले निर्माण जिम्मा लिएको काठमाडौं–निजगढ द्रुतमार्गको महादेवडाँडामा ३.३५५ किलोमिटर, धेद्रेमा १.६३० किलोमिटर र लेनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ बनाइनेछ ।

त्यस्तै, सिद्धार्थ राजमार्ग (बुटवल–पोखरा)को सिद्धबाबामा सुरुङमार्ग बनाउन स्वीस सरकारले अध्ययन सकेर रिपोर्ट दिइसकेको छ । १.२४ किलोमिटर लम्बाइको यो सुरुङमार्ग बनाउन टेन्डर गर्ने तयारी भइरहेको छ भनेको एक वर्ष बितिसक्यो । सडक बिभागले टेन्डर रोकिनुको कारण भने खुलाउन चाहेको छैन ।

मकवानपुरमा कुलेखानी–भीमफेँदी सडक खण्डमा देउरालीडाँडा छल्न ३ किलोमिटर लामो सुरुङमार्ग बनाउने योजना छ । यो परियोजनाका लागि रु.२५ अर्ब लागत अनुमान गरिएको छ ।

सडक मार्गलाई छोट्याउन नेपालमा १०४ वर्षअघि नै मकवानपुरको चुरियामाई सुरुङमार्ग बनाइएको थियो । अमलेखगञ्ज–हेटौंडा सकडखण्डमा राणा शासनको पालामा बनाइएको ७०० मिटर लामो त्यो सुरुङमार्गको भग्नावशेष मात्र बाँकी छ । त्यसपछि नेपालले यो प्रविधिलाई निरन्तरता दिएन ।

अहिले सरकारले जताततै सुरुङमार्गको अध्ययन गरिरहे पनि अध्ययन सकिएकामध्ये एउटा मात्र परियोजनाको काम भइरहेको छ । काठमाडौं भित्रिने नाका नागढुंगामा बनिरहेको यो २.६८ किलोमिटर लामो सुरुङमार्गको लागि जापान सरकारले रु.१६ अर्ब सहुलियतपूर्ण ऋण दिएको छ ।

जापानकै सहयोगमा कोटेश्वर–जडीबुटी सुरुङमार्गको अध्ययन पनि भइरहेको छ । केन्द्रीय राजधानी काठमाडौं सहरको ट्राफिक समस्या कम गर्न सरकारले नयाँबानेश्वरमा पनि अन्डरपास बनाउने योजना बनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार