शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • प्रहरीको गेटै अगाडि कुटी-कुटी हत्या

प्रहरीको गेटै अगाडि कुटी-कुटी हत्या

प्रहरीले थाहै नपाएको कि, नपाए झैं गरेको?

  • शनिबार, साउन १७, २०७७
प्रहरीको गेटै अगाडि कुटी-कुटी हत्या

जिल्ला प्रहरी कार्यालयको जिम्मेवारी पूरै जिल्लाको सुरक्षा व्यवस्था चुस्त राख्ने हुन्छ। तै पनि आवश्यक स्रोत र जनशक्तिको कमीका कारण सबैतिर तत्कालै पहुँच नपुग्नुलाई स्वभाविकै मान्न सकिन्छ। तर सयौंको संख्यामा सुरक्षाफौज रहने जिल्ला प्रहरी कार्यालयकै सामुन्ने एक व्यक्तिको निर्घात कुटपिट गरेर हत्या गरिन्छ तर प्रहरीले तीन दिन बितिसक्दा पनि घटनाको सुइँकोसम्म पाउँदैन। यसलाई कत्तिको स्वभाविक मान्ने ?

घटना चितवनको हो।

सदरमुकाम भरतपुरमा रहेको जिल्ला प्रहरी कार्यालयको अगाडि खुल्ला चौर छ। गेष्टहाउस चौरकारूपमा चिनिने यहाँ एउटा जीर्ण मञ्च छ। उक्त मञ्चमा लामो समयदेखि केही घरविहीन व्यक्तिहरू बस्दै आएका छन्।

प्रहरी कार्यालयको गेटबाट करिब सय मिटर सिधा अगाडि छ मञ्च। यही मञ्चमा असार १९ गते दिउँसो एक व्यक्ति कुटिए, मरणासन्न हुनेगरी।

प्रहरी कार्यालयबाट स्पष्ट देखिने स्थानमा केही व्यक्ति मिलेर अर्का व्यक्तिलाई निर्घात कुट्दा पनि प्रहरीले देखेन।

चितवन प्रहरीका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले उपलब्ध गराएको घटना विवरणअनुसार प्रहरीले तबमात्र घटनाको बारेमा चाल पायो जब आफ्नै अगाडि कुटिएका व्यक्तिको शव घटना भएको चार दिनपछि भेटियो।

शव भेटिएको घण्टौंसम्म प्रहरीले पहिचान नभएको र घटनामा संलग्न कसैलाई नियन्त्रणमा नलिएको बताएको थियो।

भरतपुरको मैयादेवी क्याम्पसको अगाडि पूर्व–पश्चिम राजमार्गसँग जोडिएको खुला चौर छ। त्यही चौरको झाडीभित्र असार २३ गते दिउँसो राजकुमार गुरुङको शव भेटिएको थियो।

शव भेटिएको केही घण्टापछि प्रहरीले शवको सनाखत गर्दै घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको थियो।

भाडामा लगेको ठेला फिर्ता नगरेको निहुँमा कुटेर हत्या

चितवन प्रहरीले उपलब्ध गराएको विवरणअनुसार भाडामा लिएको ठेला रिक्सा फिर्ता नगरेपछि राजकुमार गुरुङमाथि कुटपिट गरिएको थियो।

गेष्टहाउस चौरको मञ्चमा अस्थायी बसोबास गर्ने कमल गन्धर्वले असार ६ गते व्यवसायिक प्रयोजनको लागि प्रतिदिन १ सय ५० रुपैयाँको दरले भाडामा लिएको ठेला रिक्सा मृतक राजकुमार गुरुङले केही समयको लागि लगेका थिए। तर गुरुङ लामो समयसम्म सम्पर्कविहीन भए।

ठेला रिक्सा प्राप्त गर्नको लागि खोजी गर्नेक्रममा असार १९ गते साँझ भरतपुर–१० स्थित मालपोत चोकमा फेला पारेका राजकुमारको साथमा ठेला रिक्सा नदेखेपछि गन्धर्वले उनलाई नियन्त्रणमा लिई आफू बसोबास गर्ने स्थान गेष्टहाउस चौरमा ल्याएका थिए।

त्यहाँ ल्याएपछि कमल गन्धर्व र उनकी श्रीमती लक्ष्मी मगरले अम्बरबहादुर थिङ, सागर ओली, र प्रकाश बिकलाई बोलाएर घटनाको बारेमा जानकारी गराए।

त्यसपछि सामूहिक रूपमा मरणासन्न हुनेगरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले उपलब्ध गराएको विवरणमा उल्लेख छ।

कुटपिटको क्रममा राजकुमारले ठेला रिक्सा कालिका नगरपालिकास्थित पदमपुरमा विक्री गरेको बताएका थिए। त्यसपश्चात कमल गन्धर्वले अटो रिक्सा रिजर्भ गरी लक्ष्मी मगर, अम्बरबहादुर थिङ्, सागर ओली, प्रकाश बिक राजकुमारलाई लिएर रिक्सा लिन पदमपुर गएका थिए। त्यहाँ रिक्सा नभेटेपछि राति ९ बजेतिर उनीहरू पुनः गेष्ट हाउस चौरमै फर्किए।

त्यसपछि कमल गन्धर्व, राजकुमार लगायतका केही मानिसहरू उक्त स्थानमा नै बसेर अन्य आ–आफ्नो गन्तव्यतर्फ लागेका थिए। रातको अन्दाजी १०:३० बजे राजकुमारको सोही गेष्ट हाउस चौरको मञ्चमा मृत्यु भएको प्रहरीले जनाएको छ।

कमल गन्धर्वले सो विषयमा अन्य कुटपिट गर्ने व्यक्तिहरूसँग सम्पर्कगरी जानकारी गराएर घटनालाई लुकाउन र अपराधबाट बच्नको लागि शवलाई बोरामा बाँधेर एकान्त स्थानको छनोट गरी फाल्ने योजना बनाए।

उनीहरूले केन्द्रीय टर्मिनल बसपार्कबाट ठेला रिक्सा घटनास्थलसम्म ल्याई शवलाई बोरामा बाँधेर भित्री सडकको प्रयोग गरी शव फेला परेको स्थानसम्म पुर्‍याएर फालेको डिएसपी थापाले बताए।

प्रहरीकाअनुसार शव फेला परेको दिन नै उनीहरूको पहिचान तथा पक्राउ गरेर कर्तव्य ज्यान कसूरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरू गरिएको थियो।

अभियुक्तहरूमध्ये एक जना बालक भएकाले पहिचान गोप्य राखिएको प्रहरीले बताएको छ।

प्रहरीको आँखा छल्दै कसरी लगियो शव ?

प्रहरीले राजकुमार गुरुङको ठेगाना भरतपुर–१४ शिवनगर भने पनि उनको ठेगाना नवलपुरको कावासोती हो।

उनी करिब डेढ वर्षदेखि सोही गेष्टहाउस चौरको मञ्चमा बस्दै आएका थिए। शिवनगर उनको श्रीमतीको माइतीघर हो। भाइ सन्तराजका अनुसार उनी श्रीमतीसँग बस्न छाडेको डेढ वर्ष भयो। श्रीमतीसँग उनका दुई जना छोरा पनि छन्।

राजकुमार चितवन र नवलपुरका विभिन्न स्थानमा लाग्ने मेला/हाट बजारहरूमा माछा काट्ने काम गर्थे। लकडाउनका कारण हाटबजार बन्द भएपछि उनले आँपको व्यापार गर्ने सोच बनाए। त्यसैका लागि उनले कमल गन्धर्वसँग ठेला भाडामा लिएका थिए। तर उनले ठेला समयमै बुझाएनन् ।

कमलले भेट्दा उनीसँग रिक्सा थिएन। उनलाई कमलले गेष्टहाउस चौर ल्याए। कमल गेष्टहाउस चौरसँगै जोडिएको कवर्ड हलमा बस्छन्। उनले राजकुमारबारे बताउँदै आफ्नो सालो अम्बरबहादुर थिङ्लाई बोलाए, साथी प्रकाश बिकलाई पनि बोलाए । १३ वर्षीय बालक (गेष्टहाउस चौर नजिकैका व्यापारीका छोरा), आमा, श्रीमती, सालो र साथी मिलेर मरणासन्न हुनेगरी कुटे।

सोही क्रममा राजकुमारले ठेला पदमपुरमा रहेको जानकारी गराएका थिए। त्यसपछि कमलले सागर ओलीलाई फोन गरेर अटो रिक्सा अर्डर गरे। अनि उनको रिक्सामा चढेर सबै जना पदमपुर पुगे।

पदमपुरबाट फर्किंदासम्म राजकुमारको अवस्था नाजुक बनिसकेको राजकुमारसँगै बस्ने सुशील श्रेष्ठ बताउँछन्।

कवाडी सामान संकलनको काम गर्दै आएका सुशील ५ वर्षदेखि सोही ठाउँमा बस्दै आएका छन्। अहिले पनि त्यहीँ भेटिन्छन्।

पदमपुर पुगेको समूह फर्किएपछि सुशीलले राजकुमारलाई देखेका थिए। उनले शरीर छामेका पनि थिए।

‘शरीर त चिसै भइसकेको रहेछ’, त्यतिबेलाको घटना सम्झँदै उनले भने, ‘मैले छाम्दा त स्वास नै छैन कि जस्तो लाग्यो।’

केही पर रहेका प्रहरीहरूले पनि घटना सबै देखेको दाबी गर्छन् सुशील।

‘तर प्रहरीले वास्तै गरेन’, उनले भने।

राजकुमारको मृत्यु भएको निश्चित भएपछि कमल र उनका सहयोगीहरूले शवलाई बोरामा पोको पारेर भित्री सडक हुँदै उक्त स्थानमा लगेर लुकाएको प्रहरीले जनाएको छ।

घटना भएको स्थानबाट शव भेटिएको स्थानमा जान चार वटा बाटा छन्।

पहिलो बाटो जिल्ला प्रहरी कार्यालय हुँदै जानुपर्छ। यहाँ प्रहरी निरन्तर ड्यूटीमा हुन्छ । दोस्रो बाटो जिल्ला ट्राफिक प्रहरी कार्यालय हुँदै चौबिसकोठी पुगेर जानुपर्छ। ट्राफिक प्रहरी र चौबिसकोठीमा चौबिसै घण्टा ड्यूटीमा प्रहरी खटिएको हुन्छ।

तेस्रो बाटो नेपाल टेलिकमको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय हुँदै भरतपुर अस्पताल र प्रहरी कार्यालयको बीचबाट निस्कनुपर्छ। यहाँ पनि प्रहरीको चहलपहल हुन्छ।

चौथो बाटो बाइपास रोडको हो। यहाँ पनि मालपोत चोकमा प्रहरी ड्यूटीमा खटिएको हुन्छ।

अधिकांश क्षेत्रमा सिसिटिभी क्यामरा पनि छन्। तर उनीहरू सबैलाई छलेर उक्त चौरमा शव पुर्‍याउन सफल भए।

३४ वर्षीय कमल गन्धर्वको स्थायी घर तनहुँको भानु नगरपालिका वडा नम्बर ४ सालबिस्ने हो।

उनी केही वर्ष देखि रातको समयमा कवर्ड हलमा बस्दै आएका थिए। स्थानीयवासीकाअनुसार उनले सामान चोरी गरेर हैरान बनाउँदै आएका थिए।

उनलाई प्रहरीले यसअघि पनि पटक–पटक पक्राउ गरेको थियो। रौतहटको गजुरा नगरपालिका वडा नम्बर १ घर भएका ३० वर्षीय अमृत भन्ने अम्बरबहादुर थिङ कमलका साला हुन्।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ११ घर भएका २४ वर्षीय सागर ओली अटो रिक्साका चालक हुन् भने ३१ वर्षीय प्रकाश विक भरतपुर महानगरपालिका वडा नम्बर ८ गौरीगञ्ज बस्दै आएका छन्।

चार जना पुर्पक्षका लागि थुनामा

चितवन जिल्ला अदालतले हत्यामा संलग्न दाबी गरिएका चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले कमल गन्धर्व, अम्बरबहादुर थिङ, प्रकाश बिक र सागर ओलीलाई थुनामा पठाउन आदेश दिएको हो ।

घटनामा संलग्न दाबी गरिएका सुशील श्रेष्ठलाई साधारण तारेखमा छाडिएको छ। बाल अभियुक्त दाबी गरिएका मालपोत चोक १(नाम परिवर्तन)लाई अभिभावकको जिम्मामा छाडिएको छ।

घटनामा संलग्न दाबी गरिएका सीता गन्धर्व र लक्ष्मी मगर भने फरार छन्।

सीता कमलकी आमा र लक्ष्मी श्रीमती हुन्। उनीहरूलाई पक्राउ गरेर अदालतमा पेश गर्न म्याद जारी गरिएको छ। उनीविरूद्ध कर्तव्य ज्यान कसूरको मुद्दा चलाइएको थियो। अदालतमा प्रतिवादीको तर्फबाट अधिवक्ता गंगाबहादुर कोइराला र गोपीलाल देवकोटाले बहस गरेका थिए।

असार २३ गते राजकुमारको शव फेला परेपछि भाइ सन्तराज गुरुङले जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएका थिए। उनले घटनामा संलग्नहरूलाई कडा कारबाही गरी पीडितलाई न्याय दिन माग गरेका छन्। साथै, मृतकको परिवारलाई राहत पनि उपलब्ध गराउनुपर्ने माग उनको छ।

चर्चामा

सम्बन्धित समाचार