शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • भारतीय सेनाको गस्ती टोलीलाई नै चिनियाँ सेनाले नियन्त्रणमा लिएको खुलासा

भारतीय सेनाको गस्ती टोलीलाई नै चिनियाँ सेनाले नियन्त्रणमा लिएको खुलासा

  • आइतवार, जेष्ठ ११, २०७७
भारतीय सेनाको गस्ती टोलीलाई नै चिनियाँ सेनाले नियन्त्रणमा लिएको खुलासा

काठमाडौं —  सबैजसो छिमेकी मुलुकसँग सीमा विवादमा अल्झिएको भारतले पछिल्लो समय चीनबाट कडा चुनौती सामना गर्नु परिरहेको छ । भारत–चीन सीमा क्षेत्रमा केही दिन यता तनाव बढ्दै गएको हो ।

समाचार एजेन्सीहरूका अनुसार सीमा क्षेत्रमा भारतीय सैनिक टोलीले घुसपैठ गर्न खोजेपछि चिनियाँ सेनाले भारतीय सैनिकको एउटा टोलीलाई नै नियन्त्रणमा लिएको छ ।

गत बुधबार लद्दाख क्षेत्रमा चिनियाँ सेनाले भारतीय सेनाको गस्ती टोलीलाई नियन्त्रणमा लिएर हतियारसमेत खोसेको समाचार हालै प्रकाशमा आएको हो । केही भारतीय सञ्चारमाध्यमका अनुसार चिनियाँ सेनाले भारतको ‘इन्डो–तिब्बतीयन बोर्डर पुलिस’ (आइटिबीपी)को एउटा टोलीलाई सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

समाचारमा दावी गरिए अनुसार आइटिबिपीको गस्ती टोलीलाई चिनियाँ सेनाले ‘लाइन अफ एक्च्यूअल कन्ट्रोल’ (एलएसी) बाट नियन्त्रणमा लिएको हो । चिनियाँ सेनाले भारतीय घुसपैठ बढ्न थालेपछि पछिल्ला दिनमा एलएसीमा आफ्नो उपस्थिति बढाएको छ । सोही क्रममा भारतीय सैनिक टोलीलाई हतियारसहित नियन्त्रणमा लिएको समाचार प्रकाशमा आएको हो ।

एक महिनामा तीन पटक सीमामा भिडे चीन र भारतका सैनिक

भारतले भने सीमा क्षेत्रमा चिनियाँ घुसपैठ बढेको आरोप लगाउने गरेको छ । चीनले भने सीमा क्षेत्रमा पछिल्लो समय भारतीय सेनाको उत्तेजक गतिविधि बढेको र एलएसीबाट घुसपैठ हुन थालेपछि सतर्कता बढाइएको टिप्पणी गरेको छ ।

चिनियाँ सेनाले आफ्नो नियन्त्रणमा भारतीय सुरक्षाकर्मीलाई केही समयपछि मुक्त गरेको जनाइएको छ । भारत सरकारका तर्फबाट यस घटनाबारे केही प्रतिक्रिया जनाइएको छैन । भारतीय सेनाले भने औपचारिक प्रतिक्रिया जनाउँदै उक्त समाचारमा सत्यता नभएको जनाएको छ । सामान्यतया फौजले आफू पराजित भएको, आफ्ना सुरक्षाकर्मीको हतियार खोसिएको वा बन्धक बनेको स्वीकार गर्दैनन् ।

लद्दाख क्षेत्रमा तीन सातादेखि नै दुई मुलुकका सेनाबीच तनावपूर्ण सम्बन्ध रहँदै आएको छ । पटक पटक वार्ता भए पनि अझै समस्या समाधान नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केही दिन यता उक्त क्षेत्रमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालदेखि लिएर सेना प्रमुखसमेत वस्तुस्थिति बुझ्नका लागि पुगेका छन् ।

सीमा क्षेत्रमा भारतको उत्तेजक गतिविधि बढेपछि चीनले आफ्ना सेना तथा सैन्य उपकरणमा भारी बढोत्तरी गरेको बताइएको छ । कतिपय समवेदनशील क्षेत्रमा चीनले दुईदेखि तीन गुणासम्म सैनिक संख्या थपेको बताइएको छ ।

लद्दाख क्षेत्रमै पटक पटक सैनिकस्तरमा झडप भएपछि चीनले आफ्नो सीमा क्षेत्रमा सैनिकको उपस्थिति र उपकरणहरुको तैनाथी बाक्लो तुल्याएको हो ।

चर्चामा

सम्बन्धित समाचार